RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/१० गते
१६७६ पटक

बुटवल । जिल्लाको शुद्धोधन गाउँपालिकामा दलित समुदायको विवाहमा गैरदलित समुदायले भोज नखाएपछि उक्त परिवारले दक्षिणा पनि फिर्ता गरिदिएको छ ।

शुद्धोधन गाउँपालिका ४ फर्साटिकर हाटबजार निवासी रामबहादुर विकको छोरी २२ बर्षकी आरती विकको वैशाख ५ गते भएको विवाहमा गैर दलित समुदायका २२ जना वैवाहिक कार्यक्रममा सहभागी भए पनि भोज खाएका थिएनन् ।

भोज बहिस्कार गर्नेमा समाजका अगुवा मानिने र राजनीतिक दलका स्थानीय नेतृत्व नै रहेकाले घटना निन्दनीय भएको दलित अगुवाको ठहर छ । दलित अगुवाहरुको भेलाले घटनाको भत्र्सना गर्दै घटनाको बारेमा अध्ययन अनुसन्धान गर्न हरिओम विश्वकर्माको संयोजकत्वमा समिति गठन गरेका छन् । समितिमा जुद्धबहादुर विश्वकर्मा, दीपा सुनार, नरबहादुर सुनार, मनु खड्का, रवि विश्वकर्मा, टेक बास्कोटा र अमृत गहतराज छन् ।

जातीय भेदभाव गर्नेलाई कानुनी कारवाहीका लागि राजनीतिक दल, स्थानीय सरकार, प्रहरी प्रशासन लगायतका निकायलाई दवाव दिने समितिका संयोजक हरिओम विश्वकर्मा बताउँछन् । विहे भोजमा नेपाली काँग्रेस रुपन्देहीका क्षेत्रीय सदस्य केशव अधिकारी, आमा समूहकी अध्यक्ष रसमाया थापा, टोल विकास समितिका उपाध्यक्ष बालकृष्ण गैरे, आशिष केसी, डिआर कंडेल, गोकुल सुवेदी, कृष्णप्रसाद भण्डारी गिता खनाल, चित्रबहादुर केसी, इन्दिरा डोटेल.सहित २२ जना थिए ।

उक्त विवाहमा निम्ता स्वीकार गरेर आएका उनीहरुले दलित भएकै कारण भोज नखाई दक्षिणा मात्रै दिएर फर्केकाले जातीय भेदभाव र अपमान भएको ठहर गरी दक्षिणा वापतको ६ हजार ३ सय ५० रुपैयाँ फिर्ता गरिएको छ ।

भोजका लागि गैर दलितबाट क्याटरिङ सेवा उपलब्ध गराइएको थियो । लगाउनुपर्ने पोशाक नलगाई अनौपचारिक पोशाकमै आएर अपमान गरेको नरबहादुर सुनारले दावी गरे ।

विहेको निम्तामा आएका गैर दलित बिहे समारोहमा जातीय छुवाछुत भेदभाव र कसुर सजाय ऐन २०६८ अनुसार जातकै कारण भेदभाव गर्नेलाई क्षतिपूर्ति भराउनेदेखि कैद फैसला गर्ने कानुनी व्यवस्था छ ।

टोपराज शर्माले लेख्नुभएको यो समाचार हामीले अनलाइन खबरबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्