RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/१० गते
१३६६ पटक

खरानी रङको दौरा सुरुवालमाथि कालो कोट। रातो फूलको लामो माला। भादगाउँले टोपीमाथि मिलाएर बाँधेकोे सेतो फेटाले शिर उँचो बनाएको छ। कम्मरमा नीलो पछ्यौराको पटुका कसेका छन्। दाहिने हातमा स्थानीय बाजा हुड्का झुन्ड्याइएको छ। झट्ट हेर्दा मानवीर नेपालीको बाहिरी परिचय यति नै हो। तर परिचय भने यतिमा सीमित छैन। उनी गजबले बाजा बजाउँदै हुड्को नाच्ने गर्छन्।

मुगु जिल्लाको जिमा–६, पुरुमुरु गाउँका बासिन्दा हुन् मानवीर। सीप गाउँको एक कार्यक्रममा उनीसँगै चारजनाको टोली हुड्को नाचिरहेको थियो। कोही मादल, कोही दमाहा, कोही हुड्को बजाउँदै वरिपरि घुमेर नाच्दै थिए। ५२ वर्षे मानवीर निकै जोसका साथ गाउने र नाच्ने गर्थे।

उनले हुड्को गाउन थालेको करिब ३० वर्ष भइसक्यो। पहिलेपहिले साँझ बिहान हात मुख जोड्नकै लागि गीत गाउँदै हिँड्ने मानवीर अहिले भने आफ्नो रहर पूरा गर्नका लागि गाउँका पूजाआजा, विवाह, व्रतबन्धमा हुड्को गाउँछन्। उनी देउडा गाउन पनि सिपालु छन्। गाएरै विभिन्न जिल्ला पुगेका छन्। थोरबहुत पैसा पनि कमाएका छन्।

प्रायः दलित समुदायमा यो बाजा बजाउँदै हिँड्ने परम्परा छ। पहिले पेट पाल्नकै लागि बजाउने गरेकोमा अहिले भने बोलाएको ठाउमा मात्रै जान्छन् उनीहरू। त्यो पनि निश्चित रकम लिएर।

मानवीर नेपालीका बाबु पनि हुड्को, दमाह बजाउने र देउडा गाउने गर्थे। बुवाबाटै सिकेका हुन् उनले यो कला। उनका छोराछोरीले भने यतातिर ध्यान दिन चाहेनन्। उनीहरूले पढेर अरू काम गर्न चाहेको मानवीर बताउँछन्।

‘पहिले पहिले त हामीसँग छोइयो भने पनि सुनपानीले छर्कने गर्थे। अहिले त्यही अवस्था छैन तर दलित भनेर भेदभाव गर्ने गरिएको अनगिन्ती अनुभव छ उनीसँग।

‘कलाको सम्मान गर्ने परिपाटी समाजमा आएकै छैन। कलाकार नै जातीय विभेदमा परिन्छ। अलग्गै राखेर बाजा बजाउन लगाइन्छ। बलाको सम्मान नदेखेरै नयाँ पुस्ताले परम्परागत बाजाप्रति चासो राखेका छैनन्।’ उनी वास्तविकता सुनाउँदै थिए।

अजवी पौड्यालले लेख्नुभएको यो समाचार हामीले अन्नपूर्ण पोष्ट दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्