RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/९ गते
१६२४ पटक

बर्दिबास (महोत्तरी) । ‘नागरिकता हातमा आयो। अब सरकारी नोकरी खान्छु’, बर्दिबासका २३ वर्षीय मञ्जय सदाले भने, ‘नोकरी पाएपछि पुरै गाउँलेलाई खुसियालीमा भोज खुवाउँछु।’ इलाका प्रशासन कार्यालय बर्दिबासको प्रवेशद्वारामा छिमेकी रामपृत मुसहरलाई मञ्जय खुसी साट्दै थिए।

बाबु लक्ष्मी सदाको जन्मसिद्ध नागरिकता थियो। जन्मसिद्धका सन्तानलाई नागरिकता दिन रोकिएको थियो। मञ्जयको घर एकीकृत नमूना मुसहर बस्तीमा छ। नागरिकता नहुँदा उनी सरकारका सेवा सुविधाबाट वञ्चित रहे। सरकारी जागिरका लागि प्रतिस्पर्धा गर्ने अवसरमा नगरिकताले छेकबार लगाएको थियो। ‘नागरिकता पाउँदा संसार जिते जस्तै खुसी छचल्कियो’, उनले नेपाली नागरिकताको प्रमाणपत्र देखाउँदै भने।

आइतबार उनले बंशज नागरिकता लिएका हुन्। नागरिकता पाएपछि उनी फुरुङ छन्। उनले भने, ‘नागरिकता नहुँदा सपनाहरू खुम्चाउनु परेको थियो।’ वाणिज्य संकायतर्फ स्नातक तहको दोस्रो वर्ष अध्ययनरत उनी लोकसेवा पास गरी बैंक मेनेजर बन्ने सपना बुनेका छन्।

नागरिकता नहुँदा उनी ६ वर्षदेखि छट्पटाइरहेका थिए। ‘नागरिकता भन्ने एउटा कागजको प्रमाणको अभावमा थुप्रै अवसरबाट वञ्चित बने’, उनले भने, ‘बैंकमा खाता खोल्न नागरिकता चाहिन्छ। त्यो नहुँदा छात्रवृत्ति पनि पाइन्।’

तीन सयको बसोबास रहेको मुसहर बस्तीमा मञ्जय सबै भन्दा बढी पढेका एकल पात्र हुन्। मञ्जयका २४ वर्षीय दाई सञ्जय पनि नागरिकता पाउँदा दंग छन्। उनले भने, ‘अब नागरिकताको फोटोकपी पेश गरी सवारी चालकको लाइसेन्स निकाल्छु।’

सञ्जयका छिमेकी निरोकुमारी सदाले धेरै प्रयासपछि नेपाली नागरिकको प्रमाणपत्र पाएकी छिन्। उनी निकै खुखी थिइन्। ‘अब चुनावमा भोट खसाल्ने अधिकार पाएँ’, उनले भनिन्। सञ्जयका २५ वर्षीय छिमेकी रागनी सदाले नागरिकता प्रमाण पत्र प्राप्त गरेपछि भनिन्, ‘बल नागरिक भएको महसुश भयो।’

नागरिकता प्रमाणपत्र नपाउँदा महोत्तरी बर्दिबासका मुुसहर समुुदायका २२ वर्षीय मञ्जय सदा दुःखी छन्। नागरिकता नभएकैले उनले, सवारी लाइसेन्स लिन, सरकारी जागिर खान, रोजगारीका लागि विदेश जान र कुनै कामको थालनी गर्न पाएका छैनन्। मञ्जय जन्मसिद्ध नागरिकका सन्तान हुन्।

२०६३ सालदेखि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन रोक लगाएपछि लाखौं नागरिक नागरिकताबाट वञ्चित थिए। नागरिकता नभएकैले उनले, सवारी लाइसेन्स लिन, सरकारी जागिर खान, रोजगारीका लागि विदेश जान र कुनै कामको थालनी गर्न पाएका थिएनन्।

सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन सुरु गरेपछि एकीकृत नमूना मुसहर बस्ती बर्दिबासमा खुसियाली छाएको छ। नागरिकता लिन इलाका प्रशासन कार्यालयमा मुसहरको लाम लागेको छ।

दुई वर्ष अघि हास्यकलाकार धुर्मुश–सुन्तलीले सहयोग संकलन गरी एकीकृत बस्ती बनाइदिएका थिए। उनीहरूको फुसको घर फेरिएर पक्की बन्यो। ‘तर, उनीहरूको नागरिकता नहुँदा सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको थियो’, बर्दिबास नगरपालिका–१४ का वडाअध्यक्ष भरतबहादुर हमालले भने।

राजकरण महतोले लेख्नु भएको यो समाचार हामीले अन्नपूर्ण पोष्ट दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्