RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/१३ गते
२०५१ पटक

पुस १२, २०७४ । केशव दाहाल ।

प्रिय केपी ओलीज्यू ! तपाईलाई अत्यन्तै सानो प्रश्न सोध्न मनलाग्यो । तपाईलाई थाहा छ, ‘किन रिसाउँछ, उल्लु मुसहर ?’ मैले यो प्रश्न कमरेड प्रचण्डलाई सोधिन । काजी शेरबहादुर देउवालाई सोध्ने त प्रयोजन नै रहेन । कसलाई सम्बोधन गर्ने भन्ने सानो छलफलपछि उल्लु मुसहरले नै भन्यो, केपी ओलीलाई सोध ।

खासमा उल्लु मुसहरको आज्ञा शिरोपर गर्दै म यो शीर्षप्रश्न ओली महोदय, तपाईको नाममा जाहेर गर्छु ।
सुरुमै भनिदिन्छु, म तपाईको कार्यकर्ता होइन । म ती दर्जन बुद्धिजीवीभित्र पनि पर्दिन, जसले निर्वाचनमा बाबुराम भट्टराई विरुद्ध वक्तव्य निकाले । म शेरबहादुरको मान्छे त हुँदै होइन । असली कुरा के भने यो चुनावमा मैले तपाईलाई समर्थन गरिन । तपाई अलिक बुझिनसक्नुको हुनुहुन्छ भन्ने लाग्छ । तपाई बर्चस्ववादी मान्छे हो । बर्चस्ववादी मान्छे मलाई निरंकुश ‘साँढे’जस्तै लाग्छ, जसले अरू गोरु, बहर, बाछाबाछी र गाईको अस्तित्व मान्दैन । उदाहरण अलिक खराब दिएँ, माफ गर्नुहोला । मान्छे अस्तित्ववादी हुनुपर्छ, तर बर्चस्ववादी हुनु कुनै अर्थमा राम्रो होइन । यद्यपि आफ्नो बर्चस्व स्थापित गर्न तपाई सिपालु हुनुहुन्छ । तपाईका कार्यकर्ताहरू भन्छन्, ‘तपाई रमाइलो हुनुहुन्छ’ । हो, यो सत्य हो कि तपाई सिधा कुरा गर्नुहुन्छ र सपना देख्नुहुन्छ । मान्छेलाई सपना देख्न उत्प्रेरित गर्ने तपाईसँग कला छ । त्यसैले म पनि तपाईको कुरा मनपराउँछु । यद्यपि म नढाँटी भन्छु, यो चुनावमा मैले तपाईको पार्टी र गठबन्धन कसैलाई पनि भोट हालिन । एकजना शक्तिशाली मान्छेलाई हाकाहाकी यसो भन्न पाउने व्यवस्था हामीले नै ल्याएका हौं । अर्को कुरा पनि सुनाउँछु, यो चुनावमा तपाईलाई उल्लु मुसहरले पनि भोट हालेन । यही कुरा सुनाउन मैले तपाईलाई सम्बोधन गरेको हुँ ।

कुरा थालौं, उल्लु मुसहरबाट । उल्लु मुसहर, कस्तो हाँसउठ्दो नाम । यो नाम उसलाई सानैमा उसको मालिकले राखिदिएको । उसको भागमा किन यस्तो नाम पर्‍यो ? कसैलाई थाहा छैन । उल्लुलाई मैले चिनेको १७ वर्ष भयो । १७ वर्षपछि यो चुनावमा मैले उसलाई फेरि भेटेंँ । ऊ सुनसरीको कुनै गाउँमा धान काट्दै थियो । उमेर ५० वर्षजति हुँदो हो । तर निकै बूढो देखिन्थ्यो । अनुहारमा अनगिन्ती मुजा । उसका आँखा सुरुदेखि नै गहिरा थिए । तर ती गहिरा आँखामा कुनै उत्साह, उमंग र सपना थिएन । तपाईले शासन गर्ने देशको सबैभन्दा निर्धो नागरिक हो ऊ । उसको खास विशेषता छ, ‘ऊ रिसाइरहन्छ’ । यसपाली पनि भेट हुनासाथ ऊ मसँंग झगडा गर्न तम्सियो । मैले भने नरिसाउ उल्लु, अब देश फेरिन्छ । गरिबका दिन आउँछन् । उसले पत्याउनै सकेन । ऊ त जोडले औंला नचाउँदै नेताहरूलाई गाली गर्न पो थाल्यो । त्यसपछि उसले जे भन्यो, कुरा त्यही नै सबैभन्दा महत्त्वपूर्ण छ ।

ऊ जन्मजात एमाले । २०४८ सालदेखि निरन्तर एमालेलाई भोट हाल्यो । उसलाई त्यो बेला कम्युनिष्ट भनेपछि त्यसै–त्यसै माया लाग्ने । उसको घर नजिकै प्रधानपञ्चको घर थियो, तर पनि उसले एमाले नै रोज्यो । तर ०६४ सालमा उसले एमालेभन्दा पक्का कम्युनिष्ट माओवादीलाई देख्यो । हँसिया–हथौडामा भोट हालिदियो । तर यसपाली उसले वाम गठबन्धनलाई भोट हालेन । किनभने ऊ कम्युनिष्टहरूसँंग जोड रिसाएको छ । ऊ भन्छ– यसपाली मैले ‘बगावत’ गरेंँ । एउटा निर्धो नागरिकले ‘बगावत’ गर्‍यो त के बिगार्‍यो ? यसमा रिसाउने कुनै कुरा छैन । ओलीज्यू, कृपया आफूलाई भोट नहाल्नेहरूसँंग नरिसाउनु होला ।

ऊ भन्छ– ‘म सुकुम्बासी । एमालेले भन्यो– म धनीपुर्जा दिन्छु । मैले धनीपुर्जा पनि पाएँ । तर नक्कली पर्‍यो । त्यसलाई मैले पक्का पुर्जा बनाउन अनेक कोसिस गरेंँ । अनेक विन्तीभाउ गरेंँ । मेरो पैसा पनि फोकटमा खर्च भयो । तर काम बनेन ।’ ऊ गुनासो गर्छ कि ‘यस्तो दु:ख किन दियो, एमालेले’ ? त्यसैले उसको निष्कर्ष छ, ‘कम्युनिष्टहरू चिल्ला कुरा गर्छन्, काम गर्दैनन्’ । त्यसो त ऊ अझै पनि सुकुम्वासीमा बस्छ । हरेक रात ऊ आफ्नो नाममा घरघडेरी जोडेको सपना देख्छ । तर जब सपना भंग हुन्छ, ऊ भयंकर रिसाउँछ । केही वर्षअघि उसकी आमा बिरामी परिन् । उनी ६० वर्षकी विधवा थिइन् । तर गोल्छाकी आमाले पाउने वृद्धभत्ता नपाई उनी थलिइन् । उनी त्यही वर्ष बिरामी परिन्, जुन वर्ष तपाई बिरामी पर्नुभयो । ठिक त्यही वर्ष विद्या भण्डारी पनि बिरामी परिन् । त्यही वर्ष अनेकौं कमरेडहरू बिरामी परे । मन्त्रीहरू बिरामी परे । हाकिमहरू बिरामी परे । ऊ भन्छ– ‘सबैको उपचार भयो । सबै बाँचे । तर मेरी आमा मरिन् । किन ? उस्तै मान्छे कसैले सिटामोल खान नपाउने, कसैले उपचारकै लागि करोडांै राज्यकोष पाउने ? यस्तो पनि हुन्छ ?’ ऊ चित्तबुझ्दो जवाफ पाउँदैन । त्यसैले रिसाउँछ ।

उल्लु मुसहरका चारजना छोराछोरी छन् । ऊ भन्छ– ‘भगवानले दिए, मैले हात थापेंँ’ । तर ऊसँंग बालबच्चा पढाउने पैसा थिएन । जेनतेन अक्षर चिनाउन उसले केटाकेटीलाई प्राथमिक स्कुलमा पठाएकै हो । तर दलित भनेर असाध्यै छोइछिटो गरेकाले ३ वटी छोरी कोही पनि स्कुल जान मानेनन् । मालिकले भने, ‘छोरी पढाएर के काम ? १५ वर्ष पुगेपछि सबैको बिहे गरिदियो । एउटा छोरो छ, जसलाई उसले यताउता गरेर ८ कक्षासम्म पढायो । त्यसपछि उसले पनि पढ्न सकेन । भन्छ– ‘कपी, कलम, किताब के–केमा खर्च माग्छ, मसँंग दिने पैसा थिएन । उसलाई भनँे, नपढ ।’ यसरी उसको छोराले पनि स्कुल छोड्यो । स्कुल छोडेपछि छोरो २ वर्ष अर्काको घरमा चरुवा बस्यो । जब १७ वर्षको भयो, ऊ पंजाव गयो । उल्लु भन्छ– ‘सबैका छोराछोरीले तरक्की गर्दा मेरामात्र किन अलपत्र परे ?’ उसको दु:खेसो छ कि ‘उसको बाउ पनि हली, ऊ पनि हली र उसको छोरो पनि हली’ । तीन पुस्ता हली बन्नुपर्ने उसको भाग्यलाई हाम्रो लोकतन्त्रले किन फेर्न सकेन ? उसले मलाई भन्यो कि यो प्रश्न ओलीलाई सोधिदेऊ ।

मैले भेट्दा ऊ धान काट्दै थियो । केही छिनपछि हामी उसको घर गयौं । घर के भन्नु सानो झुप्रो । बर्खामा पानी चुहिन्छ । हिउँदमा शीत र सिरेटो पस्छ । न कोठा, न भकारी, न भान्सा । उसले सुनायो, चिसोमा उसलाई हड्डी दुख्ने रोग लागेको छ । उसकी जहानलाई दम छ । भन्छ, ‘वर्ष नकाटिकनै पो मरिन्छ कि के हो ?’ गतवर्ष असाध्यै बिरामी परेर एकदिन ऊ नजिकैको स्वास्थ्य केन्द्र गयो । त्यही वर्ष, जुन वर्ष ओली कमरेड तपाई प्रधानमन्त्री हुनुहुन्थ्यो । स्वास्थ्य केन्द्रले भन्यो– ठूलो अस्पताल जाऊ । ऊसँंग उपचार गर्ने पैसा भए पो अस्पताल जानु । कुरा नबुझ्ने डाक्टर देखेर उसलाई जोड रिस उठ्यो । त्यसो त त्यही दिन हो, उसलाई भगवानसंँग पनि रिस उठेको । नेताहरूसंँग पनि रिस उठेको । सबैभन्दा धेरै त्यो दिन उसलाई कम्युनिष्टहरूसंँग रिस उठ्यो, जसलाई उसले पटक–पटक भोट हालेको हो । भन्छ, ‘मैले भोट हालेका नेताहरूसँंग नरिसाएर कोसँंग रिसाऊँ ? पुरानो दिन सम्भँmदै उसले भन्यो, ‘यसपाली कसैलाई पनि भोट हाल्दिन । सबका सब ठग ।’

गतवर्ष उल्लु मुसहरको छोरो पंजावबाट आयो । भन्यो– पासपोर्ट बनाइदेऊ, ‘अरब’ जान्छु । पासपोर्ट बनाउन नागरिकता चाहिने, सिफारिस लिनुपर्ने, सीडीयो कार्यालय धाउनुपर्ने, काठमाडौं जानुपर्ने के–के हो के–के ? उसलाई सरकारी काम भनेपछि त्यसै डर लाग्छ । हाकिमले घुस माग्छ, पुलिसले घुस माग्छ, नेताले खर्च माग्छ । सबैले हेप्छन् । त्यसैले छोरालाई भन्यो, ‘पर्दैन अरब जान’ । छोरो फेरि पन्जाव नै गयो । उसलाई लाग्छ, ‘यहाँ बरालिएर बस्नुभन्दा त उतै ठिक’ । त्यसो त उल्लु मुसहरका सपनाहरू ससाना छन् । भन्छ– ‘बस, म अलिकति कमाउन चाहन्छु । जहानको उपचार गर्न’ । ऊ आफ्नी मुसहरनीलाई असाध्यै माया गर्छ । तर कसरी कमाउने उसलाई थाहा छैन । अरूको खेतमा जनबनी गर्नेले कसरी पो कमाउने होला ? उसले सुनेको थियो, भूमिसुधार हुन्छ । किसानले जमिन पाउँछ । ऊ जस्तो पक्का किसानले नै त हो, जमिन पाउने । गम्छ, ‘जमिन भए यसो बैंकमा धितो राखेर पैसा निकाल्न सकिन्थ्यो । त्यो पैसाले छोरो किसानी गथ्र्यो । म उपचार गर्न अस्पताल जान्थेंँ’ । तर भूमिसुधार भएन । यहींनेर आफ्नो सपनाको हलो अड्किएको उसलाई लाग्छ । त्यसैले ऊ जोडले रिसाउँछ । उसलाई लाग्छ, रिसाउनुउसको अधिकार हो ।

ओलीज्यू † उल्लु मुसहर व्यक्तिगत रूपमा तपाईसंँग अझ धेरै रिसाएको छ । भन्छ, ‘केपी ओली ठूलठूलो विकासको कुरा गर्छन् । घर–घरमा ग्यास चुलो । समुद्रमा जहाज । पूर्व–पश्चिम रेल । ठूला सडक । हुनेखानेलाई चाहिएको त यस्तै होला । तर त्यस्तो विकास मुसहरलाई के काम ? मलाई त ससानो कुरा चाहिएको छ । मलाई सुकुम्वासीको पुर्जा । खेती गर्न खेत । नाति–नातिना पढाउन सस्तो र राम्रो स्कुल । नि:शुल्क उपचार’ । उसले मलाई भन्यो कि ‘गरिबलाई पहिले न्याय चाहियो हजुर । त्यसपछि रेलको कुरा गरौंला । पहिले जमिनको कुरा गरौं हजुर, पछि चन्द्रमाको कुरा गरौंला’ । साँच्चै भन्ने हो भने मलाई उसको कुरा मनपर्‍यो र मैले तपाईलाई सम्बोधन गर्न मञ्जुर गरेँ । ऊ भन्छ, ‘मलाई नेताहरूसँग विश्वास छैन । मलाई केपी ओलीसँग पनि विश्वास छैन ।’

प्रिय ओली महोदय † यदि उल्लु विनाकारण रिसाउँछ भन्ने तपाईलाई लाग्छ भने ठिक छ, उसलाई सजाय दिनुहोला । तपाईका सेवकहरूले भन्न सक्छन्, एकजना सम्मानित नेतासंँग रिसाएर नाथे मुसहरले जघन्य अपराध गर्‍यो । त्यसो हो भने हाम्रो लोकतन्त्रले उसलाई जे सजाय तोकेको छ, सजाय दिनुहोला । अन्यथा उसको रिस स्वाभाविक लाग्छ भने उसलाई हँसाउनु होला । तपाई सम्भवत: आगामी सरकारको शक्तिशाली प्रधानमन्त्री पनि हो । अत: अन्त्यमा सानो सुझाव दिन्छु, ‘कुराले चिउरा भिज्दैन हजुर । कृपया काम गर्नुहोला’ ।

साभार – https://www.kantipurdaily.com/bibidha/2017/12/27/20171227071958.html

प्रतिकृया दिनुहोस्