RaraNews

केपी अनमोल प्रकाशित : २०७५/३/२७ गते
२५७८ पटक

महोत्तरी । जातिय विभेदका घटनाहरुमा पीडितले न्याय नपाइहेको अवस्थामा महोत्तरीमा जातिय विभेद गर्ने दुईजनालाई अदालतले दण्ड सहित जेल सजाय सुनाएको छ ।
धाराको पानी छोएको निहुँमा जातिय विभेद सहित कुटपिट गर्ने बर्दिवास नगरपालिका ४ का २६ वर्षीया कमला गिरी र रामबाबु दाहाललाई दण्ड सहित जेल सजाय सुनाएको हो । गिरीलाई ६ महिना कैद सहित १० हजार जरिवाना र दाहाललाई ३ महिना कैदको फैसला सुनाइएको हो । दाहाल १६ बर्षमुनि भएकाले गिरीको भन्दा आधा सजाय सुनाइएको अदालतका श्रेस्तेदार रामानन्द अधिकारीले बताउनुभयो । फैसला अनुसार पीडितलाई पचास हजार क्षतिपूर्ति भराउन समेत अदालतबाट आदेश भएको छ ।

गिरी र दाहालले बर्दिवास नगरपालिका ४ कै ३६ वर्षीया बुद्धमाया बिश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषालाई गत वैशाख १५ गते स्थानिय सार्वजनिक धारामा पानी थाप्न जाँदा जातिय विभेद गर्दै कुटपिट गर्नुभएको थियो ।

उक्त मुद्धाको असार २४ गते जिल्ला अदालत महोत्तरीका न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले फैसला गर्दै उक्त क्षतीपुर्ती र नगद दण्ड सहित जेल साजाय सुनाएको र फैसलाबारे संचारकर्मीलाई बुधबार मात्रै जानकारी दिइएको दलित अधिकारकर्मी बिष्णु रसाइलीले जानकारी दिनुभयो ।

(पीडित बुद्धिमाया र छोरी मनिसा)

फैसलाबारे अधिकारकर्मी र कानून ब्यवसायीको प्रतिकृया : 
जातिय विभेद सहित कुटपिट भएको घटनामा अदालतले गरेको फैसलाबारे अधिकरकर्मीहरुले खुशी ब्यक्त गर्नुभएको छ । अदालतको फैसला दलित समुदायका लागि निकै सकारात्मक सन्देश भएको भन्दै महोत्तरीका दलित अधिकारकर्मी अर्मित बिश्वकर्माले भन्नुभयो, ‘यो दलित समुदायका लागि ठुलो उपलब्धी हो, यसरि पीडितले न्याय पाउँदै जाने हो भने जातिय विभेदका घटनामा कमी आउने थियो ।’

त्यस्तै महोत्तरीका दलित महिला अधिकारकर्मी मञ्जु बिश्वकर्माले अदालतको फैसलाले पीडितलाई राहात दिएको र सिंगो दलित समुदायप्रती न्याय भएको बताउनु भयो । यो फैसला मात्रै अन्तिम नभएकाले पीडितले न्याय पाउनेमा अझै शंका रहेकाले आफुहरु त्यसबारे सचेत रहेको समेत उहाँको भनाई छ ।

अदालतको फैसलाबारे दलित कानून ब्यवसायीहरुले पनि सकारात्मक प्रतिकृया दिनुभएको छ । फैसलालाई सकारात्मक रुपमा लिनुपर्छ भन्दै कानून ब्यवसायी श्याम बिश्वकर्माले भन्नुभयो, ‘समानता र अविभेदको सिद्धान्तलाई थोरै भएपनि बुझेर फैसला गरिएको छ, पीडक पुनरावेदन जान सक्ने अवस्था रहेकाले पीडितले पुर्ण न्याय पाउनका लागि केहि समय पर्खनु पर्ने हुन्छ ।’

जातिय विभेदबारे प्रदेश दुईको पहिलो फैसला :
जातिय विभेदका घटनाहरु शहरदेखि गाँउसम्म दिनैपिच्छे भइरहेका छन् । तर, घटनाबारे प्रहरीमा उजुरी गर्दा समेत पीडितले न्याय नपाईरहेको अवस्था विधमान छ ।

जातिय विभेदबारे महोत्तरी जिल्ला अदालतले गरेको फैसला भने प्रदेश नम्बर दुईकै पहिलो फैसला बन्न पुगेको छ । जातिय विभेद गर्नेलाई दण्ड सजाय गर्न बनेको जातिय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८ पारित भएपछि पनि प्रदेश दुईमा भएका दर्जनौं जातिय विभेदका घटनाहरुमा पीडितले न्याय पाएका थिएनन् ।

कतिपय घटनाहरु प्रहरीले दर्ता नै गर्न नमान्ने, कतिपय दवाबमा गाँउघरमा मिलाउने र कतिपय घटना सहेरै बस्ने अवस्थाकाबीच यो फैसलाले सिंगो दलित समुदायमा न्यायको अनुभुती र सकारात्मक सन्देश् प्रवाह भएको छ ।

घटना यस्तो थियो !

स्थानिय सार्बजनिक धारामा कमला गिरीकी छोरी दीपिकाले पानी भरिरहेको बेला बुद्धमाया विश्वकर्माकी छोरी मनिषाले म पनि पानी भर्छु भन्दै धारा छोएपछि दीपिकाले ‘तँ सानो जातकीले पानी छुने ? ‘ भन्दै जातीय रूपमा गाली गलौच गरेपछि विबाद सुरु भएको थियो ।

दिपीका र मनिसाको विबाद दीपिकाकी आमा कमलाले सुनेपछि धारामा गएर मनिसालाई उहाँले पनि ‘ तँ तल्लो जातकी भएर मखमुखै लाग्छेस ! ‘  भन्दै कुटपिट गर्नु भयो । त्यसपछि मनिसा रुदै कराउंदै घर गएपछि आमा बुद्धमायाले आफ्नी छोरीलाई किन कुटेको , छारा छोएकै भएपनि यसरि कुट्न हुन्छ ? भन्दै गर्दा कमलाले ‘ तिमीहरु सानो जात भएर ठुलो कुरा गर्ने ? हाम्रो मुखमुखै लाग्ने ? भनेर हातपात गर्दै आफन्त रामबाबु दाहाललाई समेत बोलाएर पीडित बुद्धमाया र मनिसामाथि धारामै कुटपिट भएको थियो ।
नेपालको संविधानले कुनै पनि निजी तथा सार्बजनिक ठाँउमा कसैमाथि जातका आधारमा विभेद भयो भने त्यो दण्डनिय हुनेछ भनेको भएपनि देशका अधिकांस सार्बजनिक धारा पधेंरा, मठ मन्दिरहरुमा अझैपनि दलितमाथि रोक र विभेद कायमै छ ।

प्रतिकृया दिनुहोस्