RaraNews

केपी अनमोल प्रकाशित : २०७५/२/२५ गते
१५५८ पटक

काठमाडौं । बैतडीका सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘सामाजिक न्यायका लागि अन्तरष्ट्रिय दर्नाल अवार्ड २०१८’ प्रदान गरिएको भएको छ ।
दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै अभियान्ता नेपालीलाई नगर सहित सम्मान र कदर पत्र प्रदान गरिन लागेको दर्नाल अवार्ड निर्णायक समितिले जानकारी दिएको छ ।
उहाँलाई आगामी २०७५ साउन ३० (तद्नुसार अगस्ट १५) मा एक अन्तराष्ट्रिय समारोहका बिच नगद पाँच लाख रुपैया सहित कदरपत्रले सम्मान गरिने शुक्रवार आयोजित एक कार्यक्रममा जानकारी दिइएको हो ।

अवार्डबारे जारि बिज्ञप्तीमा दर्नाल अवार्ड निर्णायक समितिले अभियन्ता सरस्वती नेपालीसँगै डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा. रुपचन्द्र विश्वकर्मालाई समेत कदरपत्र प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ ।
सामाजिक न्यायमा सरस्वती नेपालीले गरेका केहि विशिष्ट योगदानहरु :
सुदूरपश्चिमको दलित परिवारमा जन्मिनुभएका सरस्वती नेपालीले दलित तथा अन्य सीमान्तकृत समुदायको सामाजिक न्याय र मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ । दलित समुदायमाथि हुने गरेका मानवअधिकार उल्लङ्घनका घटनामा प्रहरीले उजुरी समेत लिन नमान्ने क्रम जारी रहेको बेला उहाँले बलात्कारको मुद्दामा लामो संघर्ष गर्नु भएको थियो ।

बैतडी, दशरथ चन्द नगरपालिकाका ५४ वर्षीय शिक्षकद्वारा मानसिकरुपमा कमजोर स्थानीय १४ वर्षकी दलित बालिकामाथि विद्यालयमै पटक–पटक बलात्कार गर्दै आएको र गर्भसमेत तुहाएको घटनामा सरस्वती नेपालीकै अगुवाइमा भएको साहसिक कानुनी लडाइँको फलस्वरुप पीडकलाई ११ वर्षको जेल सजाय गरिएको थियो ।

सेप्टेम्बर २००७ मा डोटीको शैलेश्वरी मन्दिर प्रवेशका लागि भएको तेस्रो संगठित संघर्षका अगुवा मध्येकी एक रहेकी सरस्वती नेपाली मन्दिर प्रवेश घटनामा घाइते हुनुभएको थियो । सरस्वती नेपालीले विशेषगरी शिक्षा र पत्रकारितामा योगदान दिने क्रमसँगै भूमि अधिकार र न्यायमा दलितको पहँुचका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

उहाँको संयोजकत्वमा रहेको भूमिअधिकार मञ्चले सन् २००८ देखि २०११ सम्म सुकुम्बासी दलित समुदायलाई जमिन दिलाउने गरी संघर्षको अगुवाइ गरेको थियो । मञ्चको नेतृत्वमा भएको सोही संघर्षका कारण ३७ घर–परिवारले दुई रोपनीका दरले जमिन र लालपुर्जा प्राप्त गरेका थिए ।

सरस्वती नेपालीकै पहलमा २१ मार्च २००७ मा बैतडी जिल्लालाई हलिया मुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसलगत्तै सन् २००८ मा नेपाल सरकारले पनि हलिया मुक्तिको घोषणा गरेको थियो । त्यसैगरी सन् २००७ मा बैतडीको उदयदेवमा भएको ‘सिनो बहिष्कार संघर्ष’को क्रममा उहाँले घटनालाई राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिलाउन संयोजनकारी भूमिका खेल्नुभएको थियो ।

सरस्वती नेपालीले स्थानीय शान्ति समितिको जिल्ला संयोजक भएर सन् २००९ देखि २०११ सम्म काम गर्नुभएको थियो । उहाँ नेपालमा बनेका स्थानीय शान्ति समितिको पहिलो महिला जिल्ला संयोजक हुनुहुन्थ्यो ।

के हो दर्नाल अर्वाड ?
‘दर्नाल अवार्ड’ आम मानिसले समाज परिवर्तनका लागि गरेका प्रेरणादायी र अनुकरणीय कार्यको सम्मान गर्ने उद्देश्यले सामाजिक न्यायका अभियन्ता स्व. सुभाष दर्नालको सम्झनामा स्थापित अन्तराष्ट्रिय स्तरको पुरस्कार हो । १५ अगस्ट २०११ मा अभियन्ता सुभाष दर्नालको अमेरिकामा दुःखद् देहान्त भएको थियो ।

सरिता परियार ट्रष्ट फण्डले जागरण मिडिया सेन्टरसँगको साझेदारीमा अगस्ट १५ को अवसरमा हरेक दुई वर्षमा ४० वर्ष मुनिका दलित युवालाई यो अवार्ड प्रदान गर्दै आएको छ । त्यसैगरी, प्रत्येक वर्ष यसै सन्दर्भमा अगस्ट १४ मा ‘समता तथा आत्मसम्मानको राजनीति र दलित’ विषयमा अन्तराष्ट्रिय बहस शृङ्खला पनि सञ्चालन गर्दै आएको छ ।

‘दर्नाल अवार्ड पुरस्कार परिचालन समिति’ले गत वर्ष अगस्ट १५ को अवसरमा सुदूर र मध्य पश्चिम क्षेत्रका दलित समुदायका अनुभव, ज्ञान र क्षमतालाई जोड्ने उद्देश्यका साथ अछामको कालिकास्थानमा ‘जब प्रश्नहरुले इतिहास निर्माण गर्छन’ भन्ने विषयमा दुईदिने अन्तराष्ट्रिय बहस शृङ्खलाको छैटौं शृङ्खला आयोजना गरेको थियो । र, यस शृङ्खलालाई यो वर्ष पनि निरन्तरता दिइने छ ।

वर्ण र जातको तहगत असमानता रहेको नेपाली समाजमा समावेशी लोकतन्त्र र सामाजिक न्यायका लागि गरिने सङ्घर्षको बाटो दीर्घकालीन र जटिल हुन्छ । यस्तो सङ्घर्षका लागि ज्ञानको उत्पादन गर्ने र त्यसलाई आदान–प्रदान गर्ने काम निकै महत्वपूर्ण हुन्छ । त्यसैले, यो अवार्ड आम उत्पीडितहरूमा अन्तरनिहित क्षमता, शक्ति र गौरवको सम्मान हो ।

यो अवार्डले सामाजिक न्यायका लागि नयाँ र प्रेरणादायी कार्य गरिरहेका व्यक्ति, संस्था र आन्दोलनबीच सहयोग एवं सहकार्यको पुल बनाउने अपेक्षा लिइएको छ ।

प्रतिकृया दिनुहोस्