RaraNews

अनुहार हेर्दै तल्लो जातजस्तो !

दलितको सौन्दर्यलाई के कुराले मापन गरिन्छ ?

शुष्मा बराली प्रकाशित : २०७५/२/२४ गते
१७३५ पटक

एउटा कार्यक्रममा जानुपर्ने भयो । पत्रकारितासम्बन्धी कार्यक्रम भएकाले केही सिकिन्छ कि भन्ने आशाले गएँ । कार्यक्रममा शिक्षित, गन्यमान्य, वरिष्ठ र ठालुहरूकोे उपस्थिति थियो । चियापान कार्यक्रममा केही अनुहार अपरिचित देखिए पनि केही अनुहार भने परिचित थिए । चियाको कप लिएर एउटा समूहमा मिसिन पुगेँ ।

एउटा अपरिचित अनुहारले मेरो नाम सोध्यो, मैले भनेँ, ‘शुष्मा बराली ।’  अर्काे अपरिचितबाट प्रश्न आयो, ‘यो बराली भनेको के हो ?’ यो प्रश्नले मलाई बारम्बार चिमोट्ने गर्छ । ‘म विश्वकर्मा हुँ’ मुस्कुराउँदै जवाफ दिएँ । त्यसपछि सन्नाटा छायो, त्यहाँ कुनै मानिस नै छैन !

यत्तिकैमा एक जना दिदीले प्वाक्क भनिन्, ‘कस्तो है तिमी त, दलितजस्तै देखिँदैनौ ।’ आफू विश्वकर्मा हुँ भन्दा धेरै ठाउँमा यस्तै उत्तर पाउँछु । यस्तो उत्तर सुन्दा दिक्क लाग्छ । त्यसैले ती दिदीलाई प्रतिप्रश्न गरेँ, ‘दिदी, अनि दलितचाहिँ कस्ता हुन्छन् त ?’

मेरो प्रश्नलाई बंग्याएर अन्तै कुरा मोडियो । म पनि चुपचाप समूहबाट छुट्टिएर अर्कै टेबलमा गएँ ।
मानसपटलमा भने अनेक प्रश्न तँछाडमछाडगर्दै उभिएः दलितभित्र कस्ता गुण आवश्यक छ, जुन गुण ती दिदीले ममा देखिनन् ।

अझै पनि हाम्रो मानसिकतामा पछाडि पारिएका, गरिबीको भुमरीमा चुर्लुम्मै डुबेका झुत्राझाम्रा, फोहोरी नै दलित हुन् भन्ने छाप मेटिएको छैन । कस्ता हुन्छन् दलित ? दलित हुन कस्तो देखिनुपर्ने हो ? दलितको सौन्दर्यलाई के कुराले मापन गरिन्छ ? यस्ता प्रश्नले निकै पिरोल्ने गर्छन् ।
इतिहासले भन्छ, हिन्दुु समाजको वर्णव्यवस्था अनुुसार पानी नचल्ने र अछुत बनाइयो । उनीहरूलाई शिक्षाको ज्योतिबाट ओझेल पारियो हरेक कठोर र फोहोरी काम गर्न बाध्य गरियो । उनीहरू आर्थिक, सामाजिक र राजनीतिक हिसाबले अरू जातिभन्दा पछाडि परे । ‘उच्च’जात र दलितबीचको दूरी कायम गरियो र दलितलाई घृणाको पात्र र कुरूप पक्षको प्रतीक नै बनाइयो ।

महिला–पुरुषबीच विभेद :
मुख्य प्रश्न हो, सौन्दर्य भनेको के हो ?सौन्दर्यसँग महिलालाई मात्र किन जोडिन्छ ? के पुरुषको सौन्दर्यको मापन गर्न सकिँदैन ? महिलाको सौन्दर्यको अगाडि पुरुषको सौन्दर्यको तुलना नै गर्न सकिँदैन ?सौन्दर्य मापन गर्दा दलितलाई मात्रै हेपेर किन अथ्र्याइन्छ ?समाजले सुन्दरताबारे दिएको परिभाषा भाषा÷जात÷वर्णअनुसार फरक फरक छ । सौन्दर्यको कुरा गर्दा दलितलाई कसरी कुरूपको प्रतीक बनाइएको छ, हेर्न लायक छ ।

पुरुष र महिला सँगै हिँडेको देख्दा महिलाले लगाएका शृंगारका सामान, सज्जिन प्रयोग गरेका सामग्रीलाई नियालेर हेरिन्छ । तर पुरुषको शृंगार र पोसाकलाई खासै महत्व दिइँदैन हाम्रो समाजमा । कारण पितृसत्ताले महिला भएपछि साजसज्जा गर्नुपर्छ, पुरुषले साजसज्जा नगरेपनि सुन्दर हुन्छन् भन्ने मनस्थितिले जरा गाडेको छ ।

कतिसम्म भने भर्खरै जन्मिएका छोरी–छोरालाई लगाइदिने लुुगा र चप्पलमा पनि भेदभाव गरिन्छ । छोरा र छोरीलाई दिइने खेलौना कति फरक हुन्छ, किताब किन्न जाँदा पनि नानीलाई कि बाबुलाई भनेर प्रतिप्रश्न तेस्र्याउने पसले भेटिनु नौलो कुरा होइन ।

‘अंगभंग नभएकी, सुन्दर नाम भएकी होस् या हात्तीको जस्तो हिँडाइ भएकी, मसिना रौँ, लामो कपाल र छोटा दाँत भएकी, शरीरका अंग कोमल भएकी कन्यालाई विवाह गर्नुपर्छ ।’ मनुस्मृतिमा लिखित हरफ पढ्दा लाग्छ, यी गुण नभएकी महिलाको विवाह सम्भवै छैन । महिलालाई छुट्याइएको सौन्दर्यको दायरा कतिसम्म जायज छ ?

त्यस्तै,सौन्दर्यको कुरा जोडेर गरिने विभिन्न क्रिमका विज्ञापनमा लेखिएको हुन्छ, फेयर, ह्वाइटिङ । यसको मतलब फेयर र ह्वाइट नै राम्रो । सुन्दर भनेको फेयर हुनु हो । सेतो अथवा फेयर नै सुन्दर हो । यस्तै सोचले ग्रस्त छ हाम्रो समाज । यहाँ हरेकले आफू फेयर देखाउन कोसिस गरिरहेका हुन्छन्, जुन गलत छ ।

सौन्दर्यको कुरा गर्दा अलिक पुरातन सोच भएका व्यक्तिका लागि अलिक मोटी, खाइलाग्दी जीउ भएको सुन्दर हुन्छ । नेपाली समाजमा बाहुन, क्षत्रीको शारीरिक आकारअनुसार तिखो नाक, ठूला आँखा, मसिना हात खुट्टा हुनु सुन्दर हुन्छ। यहीमापदण्ड जनजातिको शरीरमा लागू हँुदैन । जनजातिमा साना आँखा, चेप्टो नाक र होचो कदलाई सुन्दरमानिन्छ ।

चीनमा पहिले साना र छोटा खुट्टा हुने महिलालाई सुन्दरठानिन्थ्यो । नयाँ पुस्तामा चम्किलो छाला, स्लिम र अग्लो कद हुनु सुन्दर मानिन्छ । अधिकांश महिलाले गोरो छाला र स्लिम शरीर बनाउने होडबाजीमा मानसिक र शारीरिक समस्या भोग्दै आएका छन् ।

अचेल बजारमा उपलब्ध विभिन्न प्रकारका शृंगारसम्बन्धी उद्योग, विज्ञापन र सामग्रीले सौन्दर्यको अवधारणा तय गरेको देखिन्छ । कतिसम्म प्रभाव परेको छ भनेएसएलसी दिएका किशोरीदेखि जात, ठाउँ र अञ्चलसमेतका विभिन्न सुन्दरी प्रतियोगिता आयोजना गरिन्छ । मिस नेपालबाट सुरु भएको यो धन्दा ठालुहरूको कमाइ खाने भाँडो बनेको छ ।

बुद्धि र क्षमता वृद्धि कसरी गर्ने भन्ने ज्ञानभन्दा पनि राम्री कसरी हुने, कुन क्रिमको प्रयोग गर्ने भन्ने कुरा सिकाइँदै छ । यस्ता सामग्री प्रयोग गरेरअनेकसुन्दरी प्रतियोगिता जित्न सकिन्छ भन्ने कुरा भरिदिएको छ । सौन्दर्यबारे लेखक सञ्जीव उप्रेती भन्छन्, ‘सौन्दर्यको कुनै सार्वभौमिक मानक छैन, यो त समाजले आफ्नो संस्कृतिअनुसार बनाएको एउटा नियम हो । मलाई फेयरभन्दा कालो छाला आकर्षक लाग्छ, यो आफ्नो आँखाले हेर्ने नजर हो ।’

कुरूप जति दलितको भागमा :
नेपाली समाजमा सुन्दर हुनु भन्ने कुरा जातजाति, धर्म–संस्कृति र चालचलनको आधारमा बनाइएको अवधारणा हो । हाम्रो समाजमा भन्ने गरिन्छ, चम्किलो र गाढा रङका लत्ता कपडा लगाइयो भने ‘कस्तो कमिनी, दमिनीले लगाउने जस्तो लुगा लगाएकी ?’शरीर हेरेर भनिन्छ, ‘यो त बाहुन भएर पनि दलितजस्तो देखिन्छ, कस्तो कालो–नराम्रो, अनुहार हेर्दै तल्लो जातजस्तो !’

यस्ता भनाइउच्च, सभ्य र सचेत भनिने मानिसले अहिले नि सहजै बोल्ने गर्छन् । यस्ता भनाइ सुन्दा लाग्छ, दलित भनेकै नराम्रोको प्रतीक हो, दलित राम्रा हुनै सक्दैनन् । अन्य जातका मानिस अलिक देख्दा नराम्रो भए दलितै हो भनिनुको कारण के ? के दलित नराम्रो नै हुनुपर्छ ?

नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषा सापटी लिएर भन्दा ‘दलित समुदाय भनेको नेपाली समाजका ऐतिहासिक सर्वहारा वर्ग हो, जुन समूहका सदस्यले आफ्नै श्रम, सीप र कला प्रदर्शन गर्दै आएका छन् । म फेरि पनि दोहो¥याएर भन्न चाहन्छु, नेपाली समाजका सुन्दर समुदाय भनेको दलित समुदाय हो ।’

प्रचण्डका शब्द सुन्दा जति मीठा लाग्छन्, उनकै समुदायले बचाइराखेको यथार्थ र बोकिरहेको मान्यता त्यत्तिकै तीतो र फोहोरी छ । अधिकांश नकारात्मक वा नराम्रा कुरालाई दलितको पेवा बनाउने तथा राम्रो र सकारात्मक कुरालाई उच्च भनिने जातले नै ठेक्का लिने चलनमा कुनै फेरबदल आएको छैन ।

अब दलित सौन्दर्यबारे अरू वर्ण र जातका भ्रम अनिदृष्टि परिवर्तन हुन जरुरी छ । दलित समुदायको सौन्दर्य र त्यसका परिभाषा स्थापित गर्न जोकोही पनि क्रियाशील हुनु जरुरी छ । दलितहरूका गुणकारी कला–सीप, असल मूल्यमान्यताको स्थापनासँगै सुन्दर संस्कृतिको पहिचानलाई स्थापितगर्न जरुरी छ । त्यसो गर्न सकिएन भने दलितलाई कुरूप र फोहोर ठान्ने चलन जारी रहनेछ । देशका १३ प्रतिशत नागरिकलाई असुन्दरताको प्रतीक बनाउने नेपाली समाज कसरी सुन्दर र सभ्य बन्न सक्ला र ? साभार- नागरिक

प्रतिकृया दिनुहोस्