RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१/१४ गते
४४४ पटक

बुटवल । जागरण मिडिया सेन्टरले कपिलवस्तु र दाङ जिल्लामा जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसूर र सजाय ) ऐन २०६८ सम्बन्धी अभिभुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले सबै खाले विभेद न्यूनीकरणका लागि समाजमा रहेका हरेक नागरिकले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले विभेद गर्नेलाई कानुनमा दण्ड र सजायको व्यवस्था भएपनि व्यवहारमा कार्यान्वयन गर्न राज्य गम्भिर नभएको आरोप समेत लगाउनुभयो ।

विभेदलाई हटाउन र राज्यलाई जवाफदेही बनाउनका लागि नागरिक समाजको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले विभेद विरुद्ध सडक, सदनबाट सबैले आवाज उठाउनु पर्ने बताउनुभयो । उहाँले दलित, महिला, मधेशी तथा सीमान्तकृत समुदायको मुद्दामा सशक्त रुपमा उठान गर्न सहज होस् भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण जागरण मिडिया सेन्टरका कार्यकारी निर्देशक भिम विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रम सहजीकरण गर्दै विश्वकर्माले जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव कसूर र सजाय ) ऐन २०६८ का बारेमा स्पष्ट पार्नुभएको थियो ।

“कानुनले विभेद गर्न पाइदैन, विभेद गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भनेता पनि छुवाछुत जस्तो अपराधलाई मिलोमतोमा टुङ्ग्याउने कार्य गतल हो,” विश्वकर्माले भन्नुभयो । कानुन कार्यान्वयन प्रक्रिया फितलो भएकाले पछाडि पारिएको वर्ग समुदायले न्याय नपाउने गरेको उहाँले बताउनुभयो । उहाँले दलित तथा सीमान्तकृत समुदायको क्षेत्रमा काम गर्ने संस्थाहरूले ऐनमा भएका नीति नियमहरूलाई अध्ययन गरि कार्यक्षेत्रमा समुदायको अधिकारका लागि सरकारका तिनै तहलाई खबरदारी गर्नु पर्ने बताउनुभयो ।

उक्त अभिमुखीकरण कार्यक्रममा कपिलवस्तु र दाङका आईएम स्विडिस डेभलपमेन्ट पार्टनर संस्थाहरूमा कार्यरत कर्मचारी र संस्थाका सदस्यहरू गरी ४४ जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्