RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१/१२ गते
३०१ पटक

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७९ मिठाईदेवी बिश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।
सात दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको महत्वपूर्ण योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले मिठाईदेवी बिश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । एक लाख १० हजार राशीको पुरस्कार रहेको आगामी मंसिरमा प्रदान गर्ने आयोजकले जनाएको छ ।

वि.स.१९९३ फागुन १० गते इन्द्रचोक काठमाण्डौमा जन्मनुभएकी मिठाईदेवी बिश्वकर्मा दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला हुनुहुन्छ । पशुपतिनाथ मन्दिरमा “कुकुर र अछुतलाई प्रवेश निषेध” गरिदै आएकोमा त्यसको विरोध गर्दै वि.स २०११ सालमा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उहाँ सक्रिय रुपमा सहभागी हुनुभएको थियो ।

युवा अवस्थामै वि.स २०१२ सालमा उहाँले नेपाल परिगणित नारी संघको स्थापना गरि सो संस्थामार्फत काठमाण्डौको दलित बस्तिमा विद्यालय स्थापना गर्नुभयो र दलित समुदायका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने कार्यमा महत्वपूर्ण योगदान दिनुभयो । नेवार समुदायको कपाली परिवारमा जन्मेर पढाइका लागि संघर्ष गर्दै दलित समुदायका महिलाको चेतना वृद्धिमा योगदान गर्नुभएकी मिठाईदेवीले टी.आर. बिश्वकर्मासँग विवाह गरेपछि दलित मुक्तिको आन्दोलनमा उहाँको सक्रियता रहेको थियो ।

उहाँले भारतीय दलित साहित्य अकादेमीद्वारा प्रदान गरिने डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार लगायत १० वटा पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । मदर्स केयर स्कुलको स्थापना गर्नुका साथै दलित समुदायका विद्यार्थीका लागि समाज विकास छात्रावासको स्थापनामा पनि उहाँको सक्रिय सहभागिता रहेको थियो ।

बिश्वकर्माले पत्रकारिताको क्षेत्रमा पनि योगदान गर्नुभएको छ र विभिन्न साप्ताहिक तथा मासिकको सम्पादन गर्नुभएको छ । स्रष्टा बिश्वकर्माको “नेपाली नारीको अवस्था र अवस्थिति २०६१” नामक पुस्तक प्रकाशित छ भने अन्य थुप्रै लेख रचना प्रकाशित छन् ।

प्रतिकृया दिनुहोस्