RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/९/१९ गते
३२१ पटक

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ३ फुलिका बालविवाह तथा छुवाछुत मुक्त घोषणा भएको छ । आइतबार एक समारोहबीच लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव, अर्थ तथा सहकारी राज्यमन्त्री सुष्मा यादव, प्रदेश सांसद विष्णु पन्थी, गाउँपालिका अध्यक्ष वली उद्दिन मुसलमान, उपाध्यक्ष सरस्वती यादव, वडा अध्यक्ष शैलेन्द्र यादव लगाएतका जनप्रतिनिधीले फुलिकालाई बालविवाह तथा छुवाछुत मुक्त घोषणा गरेका हुन् ।

बालविवाह र छुवाछुत समाजमा विद्यमान रहेकाले यसको अन्त्य हुनुपर्ने प्रतिवद्धता सहित सवैले हस्ताक्षर गरेर वडालाई बालविवाह र छुवाछुत मुक्त घोषणा गरिएको हो । मायादेवी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय, बालविवाह तथा छुवाछुत विरुद्धको निगरानी समिति तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाईमा बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको हो ।

घोषणा समारोहमा प्रमुख अतिथी भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले कानुनी र सामाजिक अपराधको रुपमा रहेको बालविवाह तथा छुवाछुत समाजको वाधक बनेकोे बताए । उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि बालविवाह अन्त्य हुनुपर्नेमा जोड दिए । मन्त्री यादवले अझै पनि कपिलवस्तु जिल्ला शिक्षामा पछाडी परेकाले पालिकाहरुले शिक्षाको माध्यमबाट समाजमा चेतना फैलाउनुपर्ने बताए । अर्थ राज्यमन्त्री शुष्मा यादवले महिला बालबालिकाहरुको सशक्तिकरणको क्षेत्रमा सवै निकायले मिलेर काम गर्नुपर्ने बताइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले विकासका हरेक प्राथमिकतामा फुलिकालाई राखेर उत्तर दक्षिणको विकास सवै निकायसंग सहकार्य गरेर काम गर्ने बताए । सांसद पन्थीले यहाँको आर्थिक तथा सामाजिक विकासको लागि आफु सदैव कृयाशिल हुने बताउदै आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक सूचक माथी उठाउनुपर्ने आवश्यकता भएको बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष वलीउद्दिन मुसलमान, उपाध्यक्ष सरस्वती यादव, निवर्तमान वडा अध्यक्ष सुकदेव तिवारी, सिद्धार्थ सामाजिक विकास केन्द्रका नीति सल्लाहकार पोमनारायण पौडेल, पूर्ण केशर मा.वि.का प्रद्यानाध्यापक लीला खनाल, समाजसवेी लगाएतले वडामा बालविवाह र छुवाछुत अन्त्यको प्रतिवद्धता व्यक्त गर्दै यसको निरन्तरताका लागि लागि शिक्षा र चेतना अपरिहार्य रहेको बताएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले वडामा बालविबाह रोकथामका लागि विभिन्न कार्यक्रम र छुवाछुत अन्त्यका लागि सचेतना कार्यक्रम संचालन भइरहेकाले विभिन्न निकायको अनुगमनको माध्यमबाट बालविवाह र छुवाछुत कतै नपाइएकाले घोषणा गरिएको प्रतिवेदन सुनाएका थिए ।

बालविवाह तथा छुवाछुत अन्त्यका लागि सिद्धार्थ सामाजिक विकास केन्द्र र आईएम स्वीडिस डेभलपमेण्ट पार्टनरको साझेदारीमा संचालित रुपान्तरण कार्यक्रमले विगत ७ वर्षदेखि पालिकामा बालविवाह तथा छुवाछुत विरुद्धको अभियान संचालन गरिरहेको छ । संस्थाले बालविवाह र छुवाछुत अन्त्यका लागि रणनीति तयार गरी विभिन्न तालिम, शसक्तिकरण, सचेतना, नागरिक बहस केन्द्र संचालन गर्दै आइरहेको कार्यक्रम संयोजक धनेश्वरी घर्तीले जानकारी दिइन् ।

घोषणा समारोह कार्यक्रम शिक्षक विसराम यादवको संचालन, वडा अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षता सम्पन्न भएको थियो । घोषणा कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम, सडक नाटक लगाएका कार्यक्रम गरिएको थियो भने सहयोग गर्ने समूह, संस्था, निकायहरुलाई प्रंशसा पत्रले सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्