RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/८/२६ गते
४१९ पटक

काठमाडौं । विश्वविद्यालयका पाठ्यक्रमसहित भौतिक संरचनामा दलित सवाल समेट्नुपर्नेमा अधिकारकर्मीले जोडदिनुभएको छ । जागरण मिडिया सेन्टरले आइतबार काठमाडौंमा आयोजित विश्व विद्यालयका पत्रकारिता शिक्षामा समावेशी विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले दलित तथा सीमान्तकृत समुदायका सवालहरु शैक्षिक पाठ्यक्रमसहित मिडियाले समावेशी बनाउनुपर्ने बताउनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागका प्रमुख चिरन्जीवी खनालले पाठ्यक्रम समावेशी बनाउने विषयमा संवेदशील रहेको बताउनुभयो । टियूले पनि समावेशी अभ्यास सुरु गर्ने प्रक्रियामा रहेको र जसमा संरचनागत समावेशी र पाठ्यक्रम दुवै समावेशी बनाउन थालिएको बताउनुभयो ।

सहायक प्राध्यापक डा. कुन्दन अर्यालले पत्रकारिता विषयमा अन्तर्राष्ट्रियरुपमा ’इन्टर कल्चर जर्नालीजम’ पढाउने गरिएको बताउनुभयो । उहाँले भन्नुभयोे, ’नेपाली पत्रकारिताले पनि केही भाग अध्ययनको विषय बनाएको छ । यद्यपि त्यो नै पूर्ण भने होइन ।’

विवेकशील साझा पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले पत्रकारिता क्षेत्रमात्र होइन, मिडिया र लेखरचना सबै अभिलेख राख्ने थलोमा दलित समुदायले दिएका योगदानको अभिलेखिकरण हुनुपर्ने बताउनुभयो । अधिकाकर्मी टिआर विश्वकर्मालगायतका नाम उल्लेख गर्दै उनले दलित समुदायको व्यक्तित्व पनि पाठ्क्रममा हुन जरुरी रहेको बताउनुभयो ।

अनुसन्धानकर्ता जेवी विश्वकर्माले भन्नुभयोे,’नेपाली पत्रकारिताको इतिहास हेर्दा दलित समुदायको कटवाल संस्कृति पुरानो मानिन्छ । जसले आमसंचारमाध्यममा ठूलो महत्व राखेको छ । यस्ता संस्कृति र सभ्यताको पाठ्यक्रममा समोवश हुन सकेको छैन ।’

कान्तिपुर सिटीका प्रमुख राजीव तिमिल्सेनाले पाठ्यक्रमका विषयबस्तुमा मात्र होइन, शेधकार्य समेत समावेशी विषयबस्तुहरुलाई प्राथमिकता पारिएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई समावेशीका सवालमा व्यवहारिक शिक्षा हासिल गर्न शोधकार्यमा नै समावेशी विषयबस्तुहरुलाई छनौटलाई प्राथमिकतामा पारेको बताउनुभयो ।

पशुपति बहुमुखी क्याम्पसका प्रमुख नवराज चालिसेले समावेशी शिक्षाले नै मिडियामा समावेशी विषयबस्तुले प्राथमिकता पाउने बताउनुभयो । उहाँले त्यसका लागि समावेशी संरचनाको विकास गर्न खाँचो रहेको औल्याउनुभयो ।

जागरण मिडिया सेन्टरका महासचिव भीम घिमिरेले मिडियामा समेत भौतिक र विषयगत समावेशी अनिवार्य रहेको बताउनुभयो । सेन्टरका कार्यकारी निर्देशक भीम बहादुर विश्वकर्माले शैक्षिक संस्थाका संरचना र पाठ्यक्रमहरु समावेशी भएमा मिडियामा समेत त्यसको प्रभाव पर्ने बताउनुभयो । सेन्टरका कार्यक्रम संयोजक वीर बहादुर नेपालीले नेपाली मिडियाका विषयबस्तु समावेशी बनाउन पहिला आम सञ्चारका पाठ्यक्रम नै समावेशी हुनुपर्ने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्