RaraNews

लैङ्गिक समानताका लागि नीतिगत व्यवस्था र चुनौतीहरु विषयक संवाद कार्यक्रम सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक न्याय लागि बाध्यकारी नीतिगत व्यवस्था हुनुपर्ने

जागरण मिडिया प्रकाशित : २०७९/८/२४ गते
३५२ पटक

काठमाडौं । न्यायका लागि अधिकार संस्था जुरी नेपालको आयोजनामा लैङ्गिक समानताका लागि नीतिगत व्यवस्था र चुनौतीहरु विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक समानता विना देश समृद्ध हुन नसक्ने सहभागीहरुले बताएका थिए । लैङ्गिक असमानता र सबै प्रकारका विभेद उन्मुलन गरे मात्र महिला प्रतिको सम्मान हुने बताएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिब्युरो सदस्य खिमलाल देवकोटाले दलहरुमा एक तिहाई महिलाको सहभागीताको सुनिश्चित गरेपनि प्रश्न उठाउने मान्छे नभएको बताउनुभयो । कानून निर्माण गर्ने तहमा पुगेका व्यक्तिहरुलाई निरन्तर खबरदारी गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खडकाले पार्टीहरुले भूमिगत समयमा जति पनि महिला लिडरहरु उत्पादन भए, त्यसपछि महिलाहरुले राजनैतिक नेतृत्व गर्ने अवसर पाउन नसकेको बताउनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुषको अनिवार्य व्यवस्था गरेझै पार्टीभित्र पनि प्रमुख पदमा महिलालाई चाहिने व्यवस्था गर्नुपर्ने सुझाव थियो ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरस्वती तिवारीले राजनीति गर्ने पुरुषहरुको सोच विचारमा परिवर्तन नदेखिएकोले महिलाका समस्या समाधान गर्न गाह्रो भएको बताउनुभयो । राजनैतिक परिर्वतनका आन्दोलनको तागत बोकेर अगुवा बनेका महिलाहरु राजनीतिक रुपमा पछाडि पर्नु पुरुषको मानसिकता नबदल्निु नै हो तिवारीको तर्क थियो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कल्पना खनाल माडवीले आयस्रोत नभएका महिलाहरुलाई समेत निर्वाचनमा प्रतिष्पर्धा गर्ने सक्ने वातावरण सिर्जना हुनुपर्ने बताउनुभयो । महिलाहरुलाई समानुपातिक निर्वाचन प्रणालीबाट मात्र साँसद बनाउने होइन, पहिलो हुने निर्वाचन प्रणालीमा सहभागीता हुने गरी महिलाको क्षमता विकासमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा जुरी नेपालका कार्यकारी निर्देशक मोहनलाल आचार्यले लैङ्गिक समानताका लागि नीतिगत व्यवस्था र चुनौतीहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम जुरी नेपालका अध्यक्ष श्यामलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा निर्वाचन आयोगका उपसचिव सूर्य प्रसाद अर्याल, जागरण मिडिया सेन्टरका कार्यकारी निर्देशक भीम बहादुर विश्वकर्मा, जुरी नेपालका संस्थापक अध्यक्ष राजु चापागाई, बीबीसीकी अध्यक्ष सुशिला श्रेष्ठ लगायतले लैङ्गिक समानता तथा सामाजिक न्याय लागि बाध्यकारी नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्