RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/७/१९ गते
५३६ पटक

काठमाडौं, कार्तिक १७
संघ र प्रदेशको निर्वाचनको मिती नजिकिदै गर्दा महिला उम्मेदवारहरुले आम नेपालीको अवस्था परिवर्तन गर्नका लागि महिला उम्मेदवारलाई जिताउन आग्रह गरेका छन । उनीहरुले नेपालमा धेरै पटक व्यवस्था परिवर्तन भए पनि नेपालीको अवस्था उस्तै भएकाले अवस्था फेर्नका लागि नीति निमार्ण तहमा महिलालाई पु¥याउन महिला उम्मेदवारलाई भोट दिएर जिताउनु पर्ने बताएका हुन ।

संकल्प शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल र महिला गैरसरकारी संस्था महासंघको आयोजनामा बिहिबार काठमाडौंमा भएको ‘महिला जिताउँ अभियान’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने महिला उम्मेदवारहरुले सो कुरा व्यक्त गरेका हुन । उनीहरुले आफुहरुसंग स्पष्ट चुनाबी एजेण्डा भएकाले जनताले मत दिएर जिताउन्छन भन्ने आशा गरेको भनाई राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नं. ९ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कल्पना धमलाले महिलाको प्रत्यक्ष तर्फको प्रतिनिधित्व ३३% हुनु पर्नेमा ९% मा सिमित भएकाले आफु महिलाको अधिकारका लागि निरन्तर लड्ने भनाई राख्नु भयो । धमलाले संबिधानको रक्षा,राजनीतिक स्थायित्व,महिला र युवाको अर्थपुर्ण सहभागिताको लागि आफ्नो उम्मेदवारी रहेको जानकारी गराउनु भयो ।

नेपाली कांग्रेस क्षेत्र नं ६ (क)बाट प्रदेशसभाका लागि उम्मेदवार हरिप्रभा खड्गीले आर्थिक विकास,रोजगार ,महिला र युवा शशक्तिकरण आफ्नो संकल्प रहेकाले आफ्नो उम्मेदवारी रहेको बताउँनु भयो । काठमाडौं महानगरपालिकाकी पुर्व उपमेयरसमेत रहेकी खड्गीले आफूले महानगरमा धेरै राम्रा काम गरेर परिवर्तन गरेको बताउदै अब चुनाव जितेर प्रदेशलाई पनि परिवर्तन गर्ने चाहना रहेको भनाई राख्नु भयो ।

त्यसैगरी ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले राजनीतिमा युवाहरुको रुचि कम भएकाले युवाहरुलाई राजनीतिमा आर्कषण गर्न र देशमा सुशासन कायम गराउन आफु राजनीतिमा जुटेको बताउनु भयो ।
स्वस्थ नेपाली सुखी नेपाली नारा लिएर मैदानमा उत्रिएकी तोसिमाले महिला शशक्तिकरण,स्वस्थ राजनीति ,र स्वस्थ नागरिकको कल्पना पुरा गर्न उम्मेदवारी दिएको विचार व्यक्त गर्नु भयो ।

सोही पार्टीबाट काठमाडौं क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी सविता गौतमले सम्वृद्ध नेपालका लागि नीतिगत व्यवस्था गर्न, ऐन,नियम,कानुन जनमुखी बनाउने काममा अर्थपूर्ण सहभागिता जनाउन उम्मेदवारी दिएको धारणा राख्नु भयो ।

ललितपुरबाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवार सविता महर्जनले एकल महिलाका हक अधिकारका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । उहाँले निर्वाचनमा पैसा बाड्ने,भोजभतेर गर्ने परिपाटीले निर्वाचन महङ्गो भएकाले आफु जस्ता महिलाहरुलाई चुनौती थपिएको दुखेसो पोख्नु भयो ।

त्यस्तै बागमती प्रदेश (ख) २ बाट नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार अन्जना शाहीले देशको सुशासन,महिलाहरुको हरेक ठाउँमा पहुँच सुनिश्चित गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

कार्यक्रम संकल्पकी अध्यक्ष संगीता लामाले सञ्चालन , महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष शशी अधिकारीको स्वागत मन्तव्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले चुनाव जितेर निर्णायक तहमा पुग्ने महिलाले संसदमा आफ्नो अर्थपूर्ण सहभागितामा जोड दिनुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्