RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/५/३१ गते
४२७ पटक

काठमाडौं । जागरण मिडिया सेन्टरको आयोजनामा मधेशी दलित र समानुपातिक प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रम शुक्रकार सम्पन्न भएको छ । प्रतिनिधि, प्रदेशसभा र राष्ट्रियसभामा मधेशी दलितको सहभागीता न्यून रहेको छ । दल र निर्वाचन आयोगको गैरजिम्मेवारीपूर्ण व्यवहारले मधेशी दलितहको सहभागिता न्यून भएको सहभागीले बताएका हुन् ।

अधिवक्ता रक्षाराम हरिजनले मधेशी दलित र समानुपातिक प्रतिनिधित्व सवाल विषयक कार्यपत्र प्रस्तुत गर्दै मधेशी दलित समुदाय राज्यका हरेक निकायमा सहभागिता हुन नसकेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा, प्रदेशसभामा मधेशी दलित समुदायको प्रतिनिधित्व न्युन रहेको टिप्पणी गर्नुभयो ।

जिल्ला, उच्च तथा सर्वोच्च अदालतमा न्यायधिश सिफारिसमा दलितको प्रतिनिधित्व शुन्य रहेको उहाँले बताउनुभयो । राजदुत नियुक्ति देखि दलित आयोगमा समेत मधेशी दलितको सहभागिता शुन्य हुनुलाई सरकार सम्वेदनशिल हुन नसकेको उहाँको दावी थियो ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले मधेशी दलित समुदायको प्रतिनिधिसभामा प्रतिनिधित्व न्यून रहेको बताउनुभयो । उहाँले मधेशी दलित समुदायको न्यायपालिका सहभागिता हुनै नसकेको बताउनुभयो । मधेशी दलितको समुदायको राज्यका हरेक तहतप्कामा नेतृत्व सहितको प्रतिनिधित्व आवश्यक रहेको औल्याउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले कुल जनसंख्याको करिब १४ प्रतिशत जनसँख्या रहेपनि ९ प्रतिशत मात्र दलितलाई आरक्षण व्यवस्था हुँदा खसआर्यलाई फाइदा भएको बताउनुभयो । उहाँले सूचनाको पहँुच र शिक्षामा कमजोर हुँदा राज्यको हरेक तहमा सहभागिता प्राप्तिमा समस्या देखिएको बताउनुभयो ।

त्यसैगरी दलित पत्रकार संघका केन्द्रीय महासचिव लक्ष्मण दर्नालले दलित समुदायका राजनैतिक प्रतिनिधित्वका लागि निरन्तर दबाबका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । पछिल्ला वर्षमा समावेशीकरणका सवालमा राजनैतिक दलहरु सम्वेदनशील नभएको उहाँको टिप्पणी थियो ।

जागरण मिडिया सेन्टरका महासचिव भीम बहादुर घिमिरले दलित तथा सीमान्तकृत समुदायका मुद्धा पछिल्ला वर्षहरुमा ओझेलमा परिहेकोले खबरदारी आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार राजकरण महतो, केशव भूल, शुशिल दर्नाल र धना विश्वकर्मा लगायतले समानुपातिक समावेशीकरणमाथि सबै क्षेत्रबाट आक्रमण भइरहेकोले सजग हुनुपर्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मा र मिडिया अधिकृत कृष्ण दर्नालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्