RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/५/१५ गते
६१२ पटक

बाजुरा ।  बाजुराको बूढीगङ्गा नगरपालिका‐१० को बदेडामा दलित बस्ने गाउँको नाम डुमबाडा राखिएको छ। बदेडा गाउँमा रावल, रावत, सार्की, लुहार र नेपालीलगायतका १५० भन्दा बढी घरपरिवार बस्दै आएका छन्।

स्थानीय खम्म सार्कीले यो गाउँमा धेरै जातिको बसोबास गरेको भए पनि नेपाली, लुहार र सार्की बस्ने गाउँलाई मात्र डुमबाडा भन्ने गरेको बताउनुभयो। उहाँले यहाँ बस्ने मल्लो (माथिल्लो) जातका मानिसले लल्लो (तल्लो) जातलाई होच्याउने गरेर पुस्तौँदेखि अहिलेसम्म ती दलित बस्ने टोललाई डुमबाडा भन्न नछोडेको बताउनुभयो।

गाउँमा हुने विभिन्न सभा, गोष्ठी, सेमिनारमा पनि यहाँका उपल्लो जातका मानिसले दलित बस्तीलाई नै डुमबाडा भन्ने र दलितको जोसुकै मानिसलाई केही काम गराउनुपरेमा पनि त्यो दलित बस्तीका स्थानीयलाई होच्याएर डुम भनेर बोलाउने गरेको सार्कीले बताउनुभयो।

यहाँका उपल्लो जातका मानिसले दलित टोलका मानिसलाई सार्वजनिक ठाउँ धारा, कुवा, पँधेरोमा लगायतका ठाउँमा पनि बस्न त के छुन समेत नदिएका अर्का स्थानीय प्रेमबहादुर नेपालीले बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता मठमन्दिरमा बाजा बजाउनुपरेमा, लुगा सिलाउनुपरेमा घरमा बोलाउने तर खाना दिने बेलामा घरबाहिर बसालेर खुवाउँछन्।” नेपाली भन्नुभयो, “यहाँका प्रमुख मठमन्दिर कालापालत, मष्टामाण्डौ, पैयाँजडी बाम्नीमा बजाउनु परेमा बोलाइन्छ तर ती मन्दिरभित्र कहिल्यै प्रवेश गर्न दिइँदैन।”

सोही वडाका लालबहादुर लुहार भन्नुहुन्छ, “पहिलेका पुस्ताले त विभेद गर्दै आएका थिए, नयाँ पुस्ताको व्यवहारसमेत उस्तै छ।” कालापालत पैयाँजडीमाई लगायतका मन्दिरमा पूजा गर्ने समयमा पैसा दिनु भन्छन् तर आफूलाई त्यो मन्दिरको प्रसाद पातमा राखेर टाढैबाट दिने गरेको विकले बताउनुभयो।

यता बूढीगङ्गा नगरपालिका–१० का वडा सदस्य जगु सार्कीले आफ्नै सहकर्मीले बैठकमा नास्ता खाने समयमा समेत विभेद गर्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँमा मत माग्ने बेलामा दलित बस्तीलाई डुमबाडा भन्ने गरेको शब्दलाई हटाउने र यहाँका दलितमाथि भएको विभेदको अन्त्य गर्ने भन्ने आश्वासन दिए तर जनप्रतिनिधिहरूबाट नै हामीप्रति सार्वजनिक ठाउँमै विभेद भइरहेको छ।”वडा अध्यक्ष दलबहादुर साउदले दलित बस्ती, नयाँ पुस्ता र दलित नेटर्वकका प्रतिनिधिहरूलाई सल्लाह गरेर बदेडाका दलित बस्ने ठाउँको नाम डुमबाडा हटाएर फरक नामकरण गर्ने बताउनुभयो।  गोरखापत्र अनलाइनबाट

प्रतिकृया दिनुहोस्