RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/५/१० गते
३४४ पटक

काठमाडौं । युवा तथा दलित महिलाहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । दलित महिला संघ लगायतका संस्थाको पहलमा लोकतन्त्र सुदृढिकरणका लागि नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ सो सम्मेलन शुक्रबारदेखि सुरु भएको हो ।

दुई दिन सम्मेलनको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले गर्नुभएको थियो । मानवअधिकार आयोगका अध्यक्ष मगरले समावेशी आयोगले आरक्षण हटाउने सिफारिसप्रति बैठक बसी के गर्नुपर्ने हो, हामी गरौं, भन्नुभयो ।

मानवअधिकार आयोगका अध्यक्षको संयोजकत्वमा समिति समेत गठन भएको उहाँले बताउनुभयो । सो समितिमा अन्य आयोगका अध्यक्षसँग बैठक बस्ने तयारी भएको उहाँले बताउनुभयो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले निजामति सेवातर्फ आरक्षण व्यवस्था खारेजप्रति गरिएको सिफारिसमा मानवअधिकार आयोगमा चासो हुनुपर्ने बताउनुभयो । आरक्षण खारेज सम्वन्धको सिफारिसप्रति दलित आयोगको गम्भीर असहमति रहेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा सोवले दलित महिला संघको स्थापना गर्नु कुनै रहर नभई बाध्यता भएको बताउनुभयो । उहाँले स्थानीय तहका दलित महिला सदस्यको पद सम्मानित, व्यवहार अपमानित भइरहेको समेत बताउनुभयो ।

दलित महिला संघकी अध्यक्ष कला स्वर्णकारले लोकतान्त्रिक शासन व्यवस्थामा समेत दलित तथा दलित महिलाहरुका अधिकार स्थापना गर्न समस्या भएको बताउनुभयो ।

कार्यक्रममा प्लान नेपालका रक्षा पौडेल, जीवन सुवेदी, युवा परिषलका रमाक्रान्त शर्मा, पुष्कर खाती, दलित महिला संघकी मीना स्वर्णकार लगायतले युवा तथा दलित महिलाको उत्थानका लागि राज्यको चासो बढाउन सुझाव दिनुभएको थियो ।

संस्थाकी महासचिव रेनु सिजापतिको स्वागत र साबी विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्