RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/५/८ गते
४४ पटक

मधु राई

तिमीले साँच्चै बिहे गर्ने भयौ है मधु !’ ३४ वर्षअघि २६ वर्षको उमेरमा मेरो मागीबिहे हुने गाउँमा गाइँगुइँ चलेपछि मभन्दा दुई वर्ष जेठी अविवाहित साथीले भनेको यो वाक्य मेरो मानसपटलमा अझै ताजा छ । हुन पनि, तिनताक गाउँघरमा विद्यालय पढ्दै गरेका कतिपय दौतरीले प्रेमविवाह गरे ।

मैले भने कलेज पढ्ने अवसरसमेत पाएँ र त्यस उमेरमा मेरो मागीविवाह धेरैका लागि ‘अप्रत्याशित’ भयो । स्नातक तहको पहिलो वर्ष नै आमा स्वर्गे हुनुभएकाले कलेजको पढाइका साथै भाइबहिनीको हेरचाहको जिम्मेवारी माझ मैले जेनतेन पढाइ सकेँ । धेरैले म एकल जीवन बिताउँछु भन्ने सोच्थे । त्यसैले पनि हुनुपर्छ त्यसबेलाको बिहे गर्ने उमेर घर्की सकेपछि मेरो मागीबिहेको कुराले केही समय चर्चा पायो ।

त्यसो त, जनजाति समुदायमा वर खोज्ने चलन त्यसबेला पनि थिएन, अहिले पनि छैन । यसो हुँदा पनि अरु समुदायको तुलनामा जनजाति समुदाय र घरपरिवारमा उमेर पुगेका छोराछोरीसँग बिहेबारे त्यति कुरा हुँदैन । यस अर्थमा बिहेका लागि छोराछोरीलाई करबल गर्ने चलन जनजाति समुदायमा छैन । पछिल्लोसमय अन्य समुदायमा पनि विशेष गरी शिक्षित घरपरिवारमा छोराछोरीको बिहेभन्दा पढाइलाई नै महत्त्व दिएको पाइन्छ । छोरासरह छोरीलाई पनि आर्थिक रूपले आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभिभावक बढ्दै छन् । यसैको परिणाम पछिल्लोसमय शिक्षित र आत्मनिर्भर बन्ने दौडमा छोरीहरू पनि छन्, अधिकांशले बिहेलाई प्राथमिकतामा राखेका हुँदैनन् ।

विडम्बना केही समयअघि प्रतिनिधि र राष्ट्रिय सभामा छोरीको बिहेको उमेर घटाउनुपर्छ भन्नेमा सांसदहरूबीच दोहोरी नै चल्यो । यस्तै कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बालविवाह बढेकाले १८ वर्षमा छोरीको विवाह गर्दा घटने अभिव्यक्ति दिए । यसमा सांसद प्रेम सुवाल तथा रामकुमारी झाँक्रीले पनि समर्थन जनाए । राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले यस्तो भनाइको प्रतिवाद गर्दै विवाहजस्तो संवेदशील विषयमा राजनीतिकर्मीले हैन स्वास्थ्यविज्ञहरूको भनाइ वैज्ञानिक र तर्कसंगत हुने कुरा गरिन् । हुन पनि, हो लामो गृहकार्यपछि २०७४ सालमा कानुनले छोरीको बिहे गर्ने उमेर २० वर्ष तोकेको थियो ।

वास्तवमा १८ वर्षमा छोरीको बिहे गरिदिँदा बालविवाह घट्छ भन्ने सांसदहरूको बुझाइले नेपाली समाज अझै पाषण युगमै रहेको भान हुन्छ । छोरीलाई छोरासरह शिक्षित र आत्मनिर्भर बनाउनुभन्दा उमेर नपुगी बिहे गरिदिनुपर्छ भन्नु कदापि तर्कसंगत छैन । यस्तो तर्कले उमेर नपुगी बिहे गरिदिने अभिभावकहरूको मनोबलसमेत बढाउने काम गरेको छ ।

पछिल्लो समय जुनसुकै समुदायमा, अझ शिक्षित र हुनेखाने परिवारमै अघोषित रूपमा दाइजो दिने र लिने प्रचलन बढ्दै छ । दाइजोकै कारण छोरीबुहारीले बिहेपछि घरेलु हिंसा भोग्न बाध्य छन् । विभिन्न अध्ययनले यस्तो घरेलु हिंसा भोग्न बाध्य छोरीबुहारीमध्ये अधिकांशले विद्यालय शिक्षासमेत पूरा नगरी प्रेमविवाह वा अभिभावकले नै बिहे गरिदिने गरेको देखिन्छ । अझै बहुसंख्यक अभिभावक छोरीलाई बोझ सम्झन्छन् र जतिसक्दो छिटो बिहे गरिदिन पाए बोझ हलुंगो हुने मानसिकताबाट उनीहरू माथि उठ्न सकेको देखिँदैन ।

यस्तो विषयमा तीनै तहका सरकार मात्र होइन कानुनविद्हरू पनि मौनप्रायः देखिन्छन् । कुन उमेरमा छोरीको बिहे गरिदिँदा भविष्य सुरक्षित हुन्छ भनेर अभिभावक मात्र हैन सरोकारवाललगायत नागरिक समाजका अगुवाहरू संवेदनशील हुनु जरुरी छ । दाइजोलगायत बिहेको उमेरसम्बन्धी कानुन बहुसंख्यक शिक्षित अभिभावकले नै पालना गरेको देखिँदैन ।

छोरा होस् वा छोरी, यसै पनि विद्यालय शिक्षापछि कम्तीमा चार वर्ष लाग्छ स्नातक तह पूरा गर्न । अचेल स्नातकोत्तर गर्ने छोरीहरूको संख्या पनि बढ्दै छ । उच्च शिक्षा हासिल गरेपछि उनीहरूमा आत्मनिर्भर बन्ने चाहना जाग्नु स्वाभाविक हो । यही चाहनाका कारण पनि अन्यत्रजस्तै नेपाली समाजमा बिहेको उमेर बढ्दै गएको देखिन्छ । शिक्षित र आत्मनिर्भर छोरा होस् वा छोरी, उमेरसँगै उनीहरू परिपक्क पनि हुन्छन्, जीवनलाई बुझ्ने क्षमताको पनि विकास हुन्छ । यस अर्थमा नेपाली समाजमा पनि कम्तीमा २५ वर्ष पुगेपछि बिहे गर्नुपर्छ भन्ने अघोषित मान्यता स्थापित हुँदै छ । छोरीहरू शिक्षित र आत्मनिर्भर हुन सके सबै प्रकारका महिला हिंसामा पनि कमी आउनेछ ।

यद्यपि अहिले विगतमा जस्तै कतिपयले विद्यालय शिक्षा पूरा नगरी प्रेमविवाह गर्छन् । यस अर्थमा वर्तमान शिक्षाले पनि कुन उमेरमा र कहिले बिहे गर्ने भन्ने विषय उठाउन सकेका छैनन् । नेपालको कानुनले नै पनि १८ वर्षसम्मकालाई बालबालिका भनेको छ । तर यस्ता कानुनबारे नेपाली समाजका सबै समुदायमा जानकारी पुगेको छैन । जसले गर्दा कतिपय ठाउँमा बालविवाहले प्रश्रय पाएको छ । सहरबजारमा समेत विद्यालयका विद्यार्थीहरूले पनि प्रेमविवाह गर्ने गरेको देखिन्छ । उमेर नपुगी प्रेमविवाह गर्नेहरूले पछि अनेक समस्या भोग्ने गर्छन्, यसो गर्नु सानै उमेरमा आमा बन्नु पनि हो, जसले आमा र शिशुमा विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । कतिपय स्वास्थ्य विज्ञले सुरक्षित मातृत्वका लागि सही उमेर २५ देखि ३० वर्षबीचको हो भनेका छन् । सुरक्षित मातृत्वका लागि आमाहरू पनि शारीरिक र मानसिक रूपले तयार हुनु जरुरी छ ।

यति हुँदाहुँदै विश्व परिवेशमा शिक्षित र आत्मनिर्भर नेपाली महिलाहरूको उपस्थिति नगन्य भए पनि सहरबजारमा बसोबास गर्ने अधिकांशले छोरीहरूलाई पनि छोरासरह शिक्षा र अवसर दिने प्रयास गर्दै आएका छन् । यसैको सुखद परिणाम भन्नुपर्छ, विगतको तुलनामा नेपाली समाजमा शिक्षित छोरीहरूको उपस्थिति बढ्दै छ । यसमा घरपरिवार र समुदायको पनि प्रत्यक्ष र परोक्ष भूमिका रहँदै आएको छ । बिहे गर्नु, नगर्नु वा कहिले गर्ने भन्ने निर्णय गर्ने पहिलो हक र रोजाइ छोरीहरूकै हो । शिक्षित र आर्थिक रूपले आत्मनिर्भर बनेका अविवाहित छोरीहरूलाई पनि परिवार र समाजले बिहेका लागि दबाब दिइरहने पितृसत्तात्मक समाजको संस्कृति बदल्नु जरुरी छ ।

यो सामग्री कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया दिनुहोस्