RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/१०/१० गते
१६३६ पटक

सल्यान ।

सल्यान की एक महिलाले च्याउ खेतीबाट मनग्य आम्दानी गर्न शुरु गरेकी छिन् । उनले अहिले च्याउ खेतीबाट वार्षिक साढे तीन लाख बढी कमाउने गरेकी छिन् ।च्याउ खेतीबाट मासिक रुपमा ३० हजार बढी रुपैयाँ आम्दानी गर्न सफल कृषक मुनी मिहिनेत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण बनेकी छिन् ।

जिल्लाको शारदा नगरपालिका–१३ साँघार की ४२ वर्षीया मुनी नेपाली विगत पाँच वर्षदेखि च्याउ खेतीमा व्यस्त छिन् । पाँच वर्ष अघि आफु विरामीपर्दा उपचारको लागी काठमाण्डौँ गएको बेला त्यहाँ च्याउ खेती देखेर सल्यानमा च्याउ खेती गर्न शुरु गरेकी हुन्, उनले । ‘काठमाडौँमा च्याउ खेती गरेको देखेकी थिएँ, त्यही अनुसार सल्यानमा आएर च्याउ खेती गर्न शुरु गरकी हुँ’, उनले भनिन् ।

 

च्याउ खेती गरेर वार्षिक साढे तीन लाख भन्दाबढी कमाउन सफल भएपछि अहिले घर खर्चलगायतका काम गर्नको लागी अरुको मुख ताकेर बस्नु पर्ने बाध्यता हटेको उनी बताउँछिन् । २०७० सालदेखि च्याउ खेती गर्न शुरु गरेकी उनलाई अहिले श्रीमान तारे सार्कीले पनि राम्रो साथ दिएका छन् ।उमेर हुदाँ भारत गएर काम गरेको बताउँदै उनले अहिले आफ्नै ठाँउमा च्याउ खेतीबाट मासिक ३० हजार बढी रुपैयाँ आम्दानी भएको बताए । ‘पैसा कमाउनको लागी हाम्रा दाजुभाईले मरुभूमीमा रगत बगाउनु भएको खबर दिनहुँ सुनेका छौँ’– उनले भने, ‘मुनीले आँट गरेर च्याउ खेती शुरु गरिन्, मैले पनि साथ दिए । अहिले राम्रो कमाई भईरहेको छ ।’

जुनसुकै समयमा च्याउ खेतीका लागि उपयुक्त मौसम भएकाले च्याउ खेती राम्रो भएको मुनीले बताइन् । उनले अहिले कन्ये (पराले) च्याउको खेती गर्दै आएकी छिन् । ‘शुरुमा ४ वटा घर बनाएर च्याउ खेती शुरु गरे, अहिले ९ वटा घर बनाएर च्याउ खेती गर्दै आएका छौँ, अब यसलाई अझ बढाएर लैजाने योजना छ’, उनले भनिन् ।

शुरुमा ५० हजार लगानी बाट च्याउ खेती गर्न शुरु गरेका उनीहरुले अहिले ३ लाख बढी लगानी गरी सकेको बताइन् । कृषि विकास कार्यालयले यूवा लक्षित कार्यक्रम अन्र्तगत च्याउ खेतीको लागी ४० हजार अनुदान दिएको थियो । साँघारमा उत्पादित च्याउ अहिले जिल्लाको लुहामबजार, भोटेचौर, लान्तीबजार, श्रीनगर र खलंगासम्म लिएर उनीहरुले बिक्री गर्ने गरेका छन् । च्याउ उत्पादन स्थल बाटै पनि राम्रो च्याउ बिक्री हुने गरेको बताउँदै उनीहरुले अहिले च्याउ प्रतिकिलो २ सयका दरले बिक्री गर्ने गरेको बताए ।

पहिले च्याउ खेती गर्दा छिमेकीहरुले नराम्रो कुरा गरे, अहिले च्याउ खेती गरेर राम्रो आम्दानी गरेको देख्दा छिमेकीहरु अच्चमित भएका छन्’, मुनीले भनिन् । उनले अहिले आफुले उत्पादन गरेको च्याउ खेती हेर्न आउनेहरुको भिड लाग्ने गरेको बताइन् ।


स्वदेशमा रोजगारीको सम्भावना नदेखेर दैनिक रुपमा हजारौँ युवाहरु वैदेशिक रोजगारीमा गैरहेको समयमा मुनी नेपालीले भने च्याउ खेतीबाट मनग्य आम्दानी गर्न शुरु गरेर उदाहरणीय बन्न सफल भएकी छन् ।

साभार- दैनिक नेपाल

प्रतिकृया दिनुहोस्