RaraNews

प्रकाशित : २०७८/६/१ गते
५२५ पटक

जातीय विभेद अन्त्य गर्नका महाअभियान चलाउन आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन । उनीहरुले जसरी सति प्रथा अन्त्य गरियो ,त्यसैगरि जातीय विभेद जस्तो गम्भिर सामाजिक अपराधलाई संबिधान,कानुन संशोधन र परिमार्जित गर्दै दण्डित गर्नुपर्ने बताएका हुन् ।

जागरण मिडिया सेन्टरको आयोजना र युएनडिपिको सहयोगमा शुक्रबार काठमाडौंमा भएको “जातमा आधारित विभेद र छुवाछुत विषयक”भर्चुअल अन्तरसंवाद र्काक्रमका सहभागिले सो कुरा बताएका हुन ।


कार्यक्रममा कार्यपत्र पस्तुत गर्दै संविधान सभा सदस्य बिश्वभक्त दुलाल आहुतीले दलितका अधिकार संबिधान,कानुनमा लेखियो आफ्नो जिम्मेवारि पुर्ण भयो भन्ने मानसिकता संसदमै भएकाले दलितका समस्या अझै उस्तै भएको विचार राख्नु भयो । उहाँले बनेका कानुन कार्यान्वयन गर्नका लागि राज्य,नागरिक समाज,राजनीतिक दल र दलित संसदहरुको पनि भुमिका प्रभावकारि हुन नसकेको आरोप लगाउनु भयो ।

उहाँले भन्नु भयो “सरोकारवाला निकाय कुनै घटना भए मात्र प्रतिकृयावादी भैदिदा दलित अधिकारका सवालमा बनेका संबिधान, कानुनी ,नीतिहरुमा अझै त्रुटि भएको छ, संशोधन र परिमार्जनका काम हुन सकेको छैन् ।” त्यस्तै उहाँले विभेद अन्त्य गर्नका लागि प्रतिकृयावादी नभै यो सवाललाई कार्यतालिका बनाएर एकिकृत आवाज उठ्ने थलो संयुक्त मंञ्च निर्माण (ककस) गरि निरन्तर काम गर्नु पर्ने सुझाव दिनुभयो ।


कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उप प्रध्यापक तथा नागरि अभियान्त डा.तारालाल श्रेष्ठले अहिलेको राज्य संचालन संयन्त्र सामन्ती शैलीको भएको भनाई राख्नु भयो । उहाँले सामाजिक समस्या हल गर्नका लागि सबै भन्दा पिधमा रहेको वर्गलाई सबै भन्दा माथी राखेर सोहि अनुरुप नीति,कार्यक्रम बनाउनु पर्ने तर त्यसो हुन नसकेको धारणा राख्नु भयो । उहाँले अब प्राङ्गिक र रणनीतिक हिसाबले लडनु पर्ने बताउनु भयो ।


त्यस्तै पत्रकार प्रकाश धौलाकोटीले राज्य,समाजको संरचनाको प्रभाव मिडियामा पर्ने गरेको अनुभव सुनाउनु भयो । उहाँले जसरी अन्य निकायमा दलित तथा सिमान्तकृत समुदायको प्रतिनिधित्व कम छ,त्यस्तै मिडिया पनि कम रहेको बताउदै दलितका सवालहरु पनि मिडियामा कम नै उठने गरेको भनाई राख्नु भयो । दलित तथा सिमान्तकृत समुदायको सवाल बिक्ने समाचार भए पनि त्यस्ता समाचार घटना बिशेषमा उठाईने र बिषयको मर्म नबुझि उठाउँदा त्यो समुदायलाई थप पिडा हुने गरेको वास्तविकता सुनाउनु भयो ।


संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले जातकै आधारमा विभेद र हिंसा भैरहेको छ जुन त्रुटिपूर्ण सामाजिक मूल्य मान्यताका कारणले भएको विभेद हो । यसलाई हामीले अन्त्य गर्नुपर्छ भनेर प्रतिबद्धता व्यक्त गरिरहेका छौं । तर सकिरहेका छैनौ । उहाँले भन्नु भयो ‘एक पटक निर्मम भएर समाजमा जति पनि विभेदहरु छन्, त्यसलाई दण्ड सजायको कठघरामा नउभ्याएसम्म केही हुनेवाला छैन ।’ कानुन, न्याय तथा मानव अधिकार समितिले जातीय विभेद र छुवाछुत सम्बन्धी कानुनको पोष्ट अडिट गरेर सरकारलाई संशोधन प्रस्ताव ल्याउन निर्देशन समेत दिइसकेको जानकारि दिनु भयो ।


पोखरेलका अनुसार पोष्ट अडिटबाट जातीय विभेद र छुवाछुतका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा छोड्न नपाइने गरी कानुन बनाउनुपर्ने, जातका आधारमा हुने गरेको अदृश्य वा सूक्ष्म स्वरुप,मानसिक र भावनात्मक रुपमा हुने तनावलाई समावेश गरी कसुरको दायरालाई फराकिलो गर्ने, कसुरलाई आपराधिक कार्यको गम्भीर्यताका आधारमा वर्गीकरण गरी गम्भीर प्रकृतिका जातीय भेदभाव तथा छुवाछुत अपराधको गम्भीरताको अनुपातमा नै अहिलेको सजायलाई वृद्धि गर्ने, उजुरी दिने हदम्यादलाई बढाएर कम्तिमा पनि दुई वर्ष पु¥याउने, पीडित र साक्षीको सुरक्षा, उजुरी र अनुसन्धानमा अवरोध र प्रभाव पु¥याउनेलाई पनि दण्ड सजायको व्यवस्था गर्नुपर्ने लगायत सुझावहरू दिइएको उहाँले बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य तथा राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिकी सभापति निरादेवी जैरुले राज्यसत्ताले दलितका आवाजलाई सुन्न नचाहेको गुुनासो राख्नु भयो । उहाँले दलितहरुले पनि संगठित भएर आवाज उठाउन नसक्दा राज्यले सुन्न नसकेको भनाई राख्नु भयो ।

अर्का प्रतिनिधि सभाका सदस्य लक्ष्मी परियारले संविधान जारी भएको छ वर्षसम्म पनि मौलिक हकका रुपमा रुपमा समेटिएका विषयहरुको कार्यान्वयन नहुनु दुःखद भएको बताउनु भयो । उहाँले दलितको सवाल साझा विषय बन्न नसक्दा दलितहरुका समस्या अझै ज्युकात्यु रहेको भनाई राख्नु भयो ।

कार्यक्रममा दिपा नेपाली र मौसम बसेलले २१ औं शताब्दीमा पनि आफुहरुले जातीय विभेद भोग्नु परेको पिडा सुनाउदै भावी पुस्ताले जातीय विभेद भोग्न नपर्ने वातावरण बनाउन सरोकारवाला लाई आग्रह गरेका थिए ।

कार्यक्रममा सांसद ,राजनीतिककर्मी ,दलित अभियान्ता,नागरिक समाजका प्रतिनिधि,पत्रकार र बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संबिधान सभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता महासचिव भीम घिमिरेको स्वागत र आनन्द नेपालीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्