RaraNews

प्रकाशित : २०७८/५/१० गते
९०२ पटक

पछिल्लो समय कोरोना संक्रमित तथा मौसमजन्य रोगका बिरामीहरु बढ्दै गएकाले सर्तकता अपनाउन सरोकारवालाहरुले आम नागरिकलाई आग्रह गरेका छन । जागरण मिडिया सेन्टरको साप्ताहिक कार्यक्रम कट्वाल रेडियो पत्रिकासंग कुराकानी गर्दै उनीहरुले सो कुरा बताएका हुन ।

त्यस्तै उनीहरुले अहिले वर्षाको समय भएकाले मौसमजन्य रोगका बिरामीहरु पनि बढ्दै गएको बताएका छन । उनीहरुले कोरोना भाईरस र मौसमजन्य रोगहरु लक्षण मिल्दो जुल्दो भएकाले सामान्य रुघाखोकी,ज्वरो,झाडापखाला भए पनि तुरुन्त पिसिआर परिक्षण गरेर स्वास्थ्य सर्तकता अपनाउन सुझाव दिएका छन ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल निर्देशक डा.अनुप बास्तोलाले निषेधाज्ञा खुकुलो भएसंगै अहिले कोरोना संक्रमित हुनेहरुको संख्या मात्र होईन भर्ना हुने बिरामीको दर पनि बढेको बताउनु भयो । अस्पतालका वेडहरु,आईसियु,भ्यान्टीलेर भरिभराउ भएको जानकारी दिदै सबै भन्दा महत्वपुर्ण कुरा भनेकै अनुशासित भएर जनस्वास्थ्यका मापदण्ड पालना गर्नु हो भन्नु भयो ।


उता लुम्बिनी प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. नन्दु प्रसाद पाठकले कोरोना भाईरस समुदाय स्तरमा रहेकाले नागरिकले डब्लुएचओले तोकेका स्वास्थ्यका मापदण्ड पालना गर्नु पर्ने कुरामा जोड दिनु भयो । उहाँले चाडपर्व नजिकिरहेकाले पनि भीडभाड नगर्ने,भौतिक दुरी कायम गर्ने,हात धुने ,माक्स लगाउने जस्ता कुरालाई अनिवार्य पालना गर्नु पर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेश खुल्ला सिमानाका कारणले पनि बिगतमा कोरोना संक्रमणको हब बनेको थियो । स्वास्थ्य तथा जनसंख्या निर्देशनालय बुटवलका प्रवक्ता रोशनलाल चौधरीले भने अहिले लुम्बिनी प्रदेशले जनशक्ति,भौतिक संरचना लगायतमा कुरालाई ध्यान दिदै तयारी अवस्थामा रहेको जानकारी दिनु भयो । उहाँले तेस्रो लहरले बालबालिकालाई असर गर्न सक्ने भएकाले हरेक कोभिड अस्पतालमा १०% बेड बालबालिकालाई छुट्याएको र अन्य कुरामा पनि तयारी अवस्थामा रहेको बताउनु भयो ।


त्यस्तै रेसुङ्गा नगरपालिका गुल्मीका उपप्रमुख सीता भन्डारीले स्थानिय तहले कोभिड बिरुद्ध बिभिन्न अभियान संचालन गरे पनि नागरिक जिम्मेवार नबन्दा सम्म सरुवा रोग नियन्त्रणमा आउन नसक्ने अनुभव सुनाउनु भयो । उहाँले कोभिड बिरुद्ध जुध्नका लागि स्थानिय तहले कोभिड नियन्त्रण र रोकथाम लगायतका कुरालाई ध्यान दिदै बढि भन्दा बढि स्वास्थ्यका मापदण्ड पालना गराउन जनचेतना जगाउने काममा जोड दिदै आएको भनाई राख्नु भयो ।


यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर अधिकारीले कोरोना संक्रमणको दर बढेको छ ,त्यो संगसंगै अहिले बर्षाको समय भएकाले मौसम जन्य,सर्पदंश,किटाणु जन्य रोगहरुको पनि जोखिम भएकाले सबैलाई सर्तक हुनु अनुरोध गर्नु भयो । उहाँले कोभिड नियन्त्रण र रोकथामका लागि सरकारले बिभिन्न उपाए अपनाउदै अगाडि बढेको र मौसम जन्य,सर्पदंश,किटाणु जन्य रोगहरुका सवालमा पनि काम गरिरहेको जानकारी दिनु भयो । उहाँले कोभिड बिरुद्धको खोपले धेरै हद सम्म जोगाउन सक्ने भएकाले सबै नागरिकले खोप लगाउनु पर्ने बताउनु भयो । अहिले बिभिन्न खालका संक्रमण रहिरहेकाले नागरिक नै बढि जिम्मेवार बन्नु पर्ने तर्क उहाँले गर्नु भयो । कोभिड नयाँ रोग हो,यसलाई प्रास्त गर्ने तीनै तहको सरकार,बुद्धिजीवि,नागरिक समाज,हरेक नागरिक जिम्मेवार बन्नु पर्ने धारणा राख्नु भयो ।

प्रतिकृया दिनुहोस्