RaraNews

प्रकाशित : २०७८/३/२५ गते
५६७ पटक

२५ असार, धनगढी । कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा बसेका एक जोडीलाई आफन्तले छुटाइदिएका छन् । असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र टीकापुर नगरपालिकाकी मालती रावललाई घर पुगेपछि शुक्रबार आफन्तले अलग्याएका हुन् ।

अहिलेसम्म जंगलमै बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि अपील गरेका थिए । तर भजनी नगरपालिका–४ स्थित प्रकाशकै घरमा शुक्रबार आएको २५–३० जनाको समूहले युवतीलाई छुटाएर लगेको आफन्तले बताएका छन् । नातामा प्रकाशका बाजे समेत पर्ने भजनी नगर कार्यपालिका सदस्य समेत रहेका प्रताप ताम्राकारले शुक्रबार दिउँसो साढे १ बजेतिर युवतीलाई २५–३० जनाको समूहले जीपमा हालेर लगेको अनलाइनखबरलाई बताए ।‘केही दिन पहिले विवाह गरेर युवतीलाई ल्याएको थियो,’ ताम्राकारले भने, ‘धेरै दिन केटाकेटी जंगलमै बसेका थिए । तर आज दिउँसो युवती पक्षले उनलाई घरबाटै छुटाएर लग्यो ।’ उनकाअनुसार उनीहरु दुवै जना एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

दुवै पक्षलाई प्रहरीले बोलायो

युवायुवतीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कैलाली प्रहरीले समेत त्यसमा चासो लिएको छ । शुक्रबार प्रकाशको घरमै पुगेको इलाका प्रहरी कार्यालय भजनीको टोलीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरबहादुर साउदले अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएको अनलाइनखबरलाई बताए । उनीहरु कार्यालयमा पुगेपछि थप कुरा थाहा हुने उनले बताए ।

अनलाईन खबरबाट साभार

प्रतिकृया दिनुहोस्