RaraNews

प्रकाशित : २०७८/३/२५ गते
५८८ पटक

बिहिबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका पाल्पाका एक बालकको दिउँसो शव फेला परेको छ।

बुधबार रातिदेखी परेको अविरल वर्षाको कारण गएको पहिरोमा परी तिनाउ गाउँपालिका वडा नंं ५ गिट्टीखानीका ४ वर्षीय बालक आरोप परियार बिहिबार बिहानैदेखि बेपत्ता थिए। ४५ वर्षीय वीरबहादुर गुरूङको भने बिहानै शव भेटिएको थियो।

उक्त पहिरोमा परी पाँच वटा घर पुरिएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले पहिरो पन्छाउने क्रममा गुरूङको शव बिहीबार बिहानै फेला परे पनि बालकको भने दिउँसोमात्र फेला पारिएको बताए।  

उक्त पहिरोमा परी स्थानीय ७५ वर्षीया सुन्दरी गुरूङ, २६ वर्षीय रमेश परियार, २४ वर्षीय पूजा परियार, ७५ वर्षीय बल बहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिलबहादुर राना र १५ वर्षीय दिपेश पुन घाइते भएका छन्।

घाइतेमध्ये ७५ वर्षीया सुन्दरी गुरूङको अवस्था गम्भीर रहेको त्वातीले जानकारी दिए।

उनीहरू सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

अविरल वर्षपछि गएको पहिरोले घरसँगै सडक समेत बगाएको छ।

पहिरोले वीरबहादुर गुरूङ, रमेश परियार, नरबहादुर राना, हरी दर्लामी र बलबहादुर पुनको घर पुरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए।

उनीहरूलाई स्थानीय कल्याणी आधारभूत विद्यालयमा राखिएको घर्तीमगरले बताए।

घर्तीका अनुसार सडकदेखि माथि रहेको चुनढुङ्गा उत्खनन् क्षेत्रबाट झरेको पहिरोले घरबस्तीे बगाएको हो।

पहिरो झरेका कारण बुधवार रातीदेखि अवरूद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड अझै सञ्चालन हुन सकेको छैन।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार वर्षापछि गएको पहिरोका कारण सिद्धबाबा, झुम्सा, पानी मिल, हिउँदे खोला, लामेदमार लगायतका आधा दर्जन बढी स्थानमा सडक अवरूद्ध भएको छ।

डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले सडकमा खसेको पहिरो हटाएर सडक सञ्चालन गर्ने काम भइरहेको बताए।

सेतोपाटीबाट साभार

प्रतिकृया दिनुहोस्