RaraNews

प्रकाशित : २०७८/३/१८ गते
६९६ पटक

त्रिभुवन विश्वविद्यालय कार्यकारी समितिको बैठकले विद्यार्थी रामजी रामसहित चार विद्यार्थीलाई एमबिबिएस परीक्षामा सामेल गराउन निर्देशन दिने निर्णय गरे पनि त्यो अघि बढेको छैन।

प्रमाणीकरण भइनसकेका कारण उक्त निर्णय आयोगबाट अगाडि बढ्न नसकेको आयोगका अधिकारीले बताए।

चिकित्सा शिक्षा आयोगका अनुसार तीन दिनअघि भएको निर्णय अहिलेसम्म सदर भइसकेको छैन।

आयोग सदस्य भएको नाताले नेसनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारीलाई मौखिक रूपमा परीक्षा फारमको विषय समाधान गर्न भनिएको आयोगले जनाएको छ।

‘निर्णय प्रमाणीकरण भइनसकेकाले डिन कार्यालयलाई चिठी काटिएको छैन, आज उपाध्यक्षज्यूले सही गर्नुहुन्छ, त्यसपछि लेखिन्छ,’ आयोगका सदस्य सचिव डिल्ली लुइँटेलले भने।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी निर्णय प्रमाणीकरण भएपछि मात्रै डिन कार्यालयलाई चिठी लेखिने लुइँटेलले बताए।

गत साल पनि आयोगले डिन कार्यालयमा चिठी लेखेपछि मात्रै उसले नेसनल मेडिकल कलेजलाई परीक्षामा सामेल गराउन ठाडो निर्देशन दिएको थियो।  

त्रिविको कार्यकारी समितिले रामजी रामसहित चार जना विद्यार्थीलाई परीक्षा फारम भर्न कलेजले नदिएको विषयमा सम्बन्धित विश्वविद्यालयलाई चिठी लेखेर आवश्यक कारबाही गर्न निर्देशन दिने निर्णय गरेको थियो।

रामसहित चार जना विद्यार्थीले फारम भर्ने अन्तिम मिति असार २२ गते हो। सरकारी छात्रवृत्तिमा पढिरहेका उनीहरूलाई नेसनल मेडिकल कलेजले अवैध शुल्क माग्दै परीक्षा फारम भर्न दिएको छैन।

चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले अहिलेसम्म रामजी रामसहितका विद्यार्थीलाई फारम भर्न नदिएकोबारे परेको निवेदनमा कुनै कारबाही अगाडि बढाएको छैन। असार ७ गते नै फारम भर्न नदिएको विषयमा विद्यार्थीले डिन कार्यालय गुहारेका थिए।

चिकित्सा शिक्षा आयोग र डिन कार्यालय दुबै गुहारेकोमा आयोगले त्रिविको कार्यकारी समिति बैठकमा कुरा लगेको थियो।

परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको छ, त्यो उनले तिर्न नपर्ने शुल्क हो।

होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागिएको छ। जतिवटा शीर्षकमा मागिएको रकम उनले तिर्न पर्दैन किनभने उनले यी सेवा उपयोग गरेकै छैनन्।

रामजीसहित सरकारले पैसा तिरेर पढाएका पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षा आउने बेलामा अवैध शुल्क मागेर फारम भर्न दिएको छैन।

पंकज एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् छन्। उनलाई नेसनलले वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५०, होस्टल खर्च १५ हजार ८३४, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको छ।

रूकेशकुमार एमबिबिएस चौंथो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत् ८ हजार ४ सय मागेको छ।

प्रमोदकुमार राम एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय मागेको छ।

मेशनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारीका अनुसार रामजी रामसहित अन्य विद्यार्थीलाई शुक्रबारसम्म परीक्षा फारममा सहभागी गराइएको छैन।

‘केही हिसाब-किताब बाँकी छ, म बाहिर छु, परीक्षा फारमको विषयमा म छलफल गर्छु,’ उनले भने, ‘चिकित्सा शिक्षा आयोग र डिन कार्यालयले भनेरै पोहोर पनि फारम भराएको हो।’

सेतोपाटीबाट साभार

प्रतिकृया दिनुहोस्