RaraNews

प्रकाशित : २०७८/३/८ गते
७०५ पटक

सरकारको जनता आवास कार्यक्रमका कारण रौतहटका २२ दलित परिवार  बिचल्ली बनेका छन् । रौतहटको फतुवा विजयपुर नगरपालिका– ९ खोरिया टोलमा चार वर्षअघि बनाउन सुरु गरेका घरको काम हालसम्म सम्पन्न नभएका कारण  सो बस्तीका २२ घर परिवारको बिचल्ली भएको हो । जनता आवास कार्यक्रमले गाउँमा पक्की घर बनाइदिने भएपछि खुसी भएका सो बस्तीका दलित परिवारलाई यो वर्ष पनि झरीमा कसरी ओत लाग्ने भन्ने चिन्ता छ ।

ठेकेदार अब्राहुल हकले २२ वटा पक्की घर बनाउनका लागि ठेक्का लिएका थिए । तर, उनी घर निर्माणको काम बीचैमा छोडेर हिँडेका कारण आफूहरूको बिचल्ली भएको स्थानीय राजेन्द्र रामले बताए । ठेकेदार हकले घर निर्माणको काम सम्पन्न भएको भन्दै रकम निकासा गरेर हिँडेपछि आफूहरू फुसको घरमा प्लास्टिक लगाएर घामपानी र शीतलहरबाट जोगिँदै  आएको रामको भनाइ छ । 

संविधानसभा सदस्य जितेन्द्र यादव र ठेकेदार हकका कारण आफूहरूले सरकारले जनता आवासमार्फत बन्न लागेको घर चार वर्षसम्म बन्न नसकेको स्थानीय  राकेश माझीले बताए । मुसहर र चमारको बस्ती रहेको खोरिया टोलका अधिकांश फुसको छाप्रोमा सिधा उभिएर पस्न सकिँदैन । 

पक्की घरमा बस्ने आसमा रहेका  फुसको घर पनि राम्रोसँग टालटुल गरेका थिएनन् । तर, पक्की घर नै अलपत्र परेपछि यसपालिको वर्षामा  बालबच्चा कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।  दिनभरि मजदुरी गरेर छाक टार्ने  दलित समुदायका लागि आएको जनता आवास कार्यक्रम अलपत्र परेको विषयमा फुतुवा विजयपुर नगरपालिकासमेत मौन छ ।  

नयाँ पत्रिकाबाट साभार

प्रतिकृया दिनुहोस्