RaraNews

प्रकाशित : २०७८/३/५ गते
७५३ पटक

धरान : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर–१६ मा सामुहिक मुसहर बस्ती तयार पारिएको छ। घरवारविहिन मुसहर परिवारलाई व्यवस्थित बसोवासका लागि इटहरी उपमहानगरपालिकाले १५ घरपरिवारका लागि घर निर्माण सम्पन्न गरेको छ।

इटहरीका विभिन्न स्थानमा बाटो अतिक्रमण गरी बसेका मुसहर समुदायलाई जिविको पार्जनमा सहयोग र उनीहरुको जीवन यापनलाई थप व्यवस्थित बनाउनले उदेश्यले इटहरी उपमहानगरपालिकाले वडा नम्बर १६ को टिटिही टोलमा १५ मुसहर घरपरिवारलाई भुकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छन्। कोरोना माहामारीको समयमा पनि मुसहर समुदायलाई सुरक्षीत स्थानमा व्यवस्थित गर्ने उदेश्यले सामूहिक मुसहर बस्ती निर्माण गरिएको उनको भनाइ छ।

सामूहिक मुसहर बस्तीमा अहिले १५ परिवारका लागि घर निर्माण भइसकेको छ। बस्तीको सुन्दरताका लागि एक सामुदायीक भवन, एक दिनभद्री (मुसहर समुदायको मन्दिर), चिल्ड्रेन पार्क, र बोटरबाटो निर्माणको काम अन्तिम चरणमा पुगेको उपमेयर गौतमले बताइन्।

मुसहर बस्तीमा स्थान्तरण गरिने पहिलो चरणको ९ घर परिवारको नाम फाईनल गरिएको र अन्य ६ परिवारको नाम छनौट भइरहेको पनि उपमेयर गौतमले जानकारी दिइन्। तर, मुसहर बस्ती निर्माण गरी सामूहिक रुपमा स्थान्तरण गर्न लाग्दा केहि परिवारले भने नयाँ बस्तीमा जान अस्वीकार गरेकाले उनीहरुलाई बस्तीमा पुर्याउन ढिलाई भएको छ। नयाँ बस्तीमा जान अस्विकार गर्ने मुसहर परिवारलाई सम्झाई बुझाई गर्ने काम भैरहेको उपमेयर गौतमले बताइन्।

अव्यवस्थित रुपमा बसोवास गर्दै आएका मुसहर समुदाय नयाँ बस्तीमा गए पश्चात उनीहरुका सबै समस्या हल हुने अपेक्षा नगरपालिकाको छ। उपमेयर गौतमका अनुसार उपमहानगरपालिका भरीका गरिब तथा अव्यवस्थित रुपमा वसोवास गर्दै आएका सबै मुसहर समुदायलाई क्रमिक रुपमा व्यवस्थित गरिदै लैजाने उपमहानगरको तयारी छ।

पहिलो चरणको सामुदायिक मुसहर बस्ती निर्माणमा हाल सम्म एक करोडभन्दा बढी रकम खर्च भैसकेको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जिवन जिवन घिमिरेले बताए। मुसहर बस्तीमा निर्माण गरिएको भुकम्प प्रतिरोधात्मक भवनमा दुईटा कोठा, एक किचन र ट्वाईलेट, बाथरुप र खानेपानीको टुवेल निर्माण गरिएको छ। मुसहर बस्तीमा गत साल ९ वटा र यसपाली ६ वटा गरी १५ घर निर्माण गरिएको इन्जिनियर घिमिरेले बताए।

समाचारअन्नपुर्णबाट, तस्वीर मकालुखबर

प्रतिकृया दिनुहोस्