RaraNews

प्रकाशित : २०७८/३/२ गते
८४९ पटक

असार २, २०७८तस्बिर : अंगद ढकालतस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।

अहिले घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन् । उनले बाढीपहिरोबाट भएको क्षति अवलोकन र राहत तथा उद्धारका लागि पहल गरिरहेका छन् ।

बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।

लेदोसहितको बाढी घरमा पसेपछि बजार क्षेत्रमा स्थानीय बासिन्दा सुरक्षित स्थानमा सरिरहेका छन् । उनीहरूले घरभित्र रहेका अत्यावश्यक सामग्री निकालेर सडकमा राखेका छन् ।

ईकान्तिपुरबाट

प्रतिकृया दिनुहोस्