RaraNews

प्रकाशित : २०७८/२/१९ गते
१६९६ पटक
तीर्थराज जोशी
तीर्थराज जोशी

आउँछ आउँछ
छिट्टै नयाँ गीत गाउँछ
जनतालाई भन्दिनु
भात छ
मासु छ
लुगा पनि बाँडिन्छ
पैसा पनि बाँडिन्छ
मासुसँग आँसु
अनि
पैसासँग बैँस साँट्ने गरी
श्वाससँग विश्वास
अनि
आशसँग बकवास साँट्ने गरी
आउँछ, आउँछ
निर्वाचन पक्कै आउँछ।

अब मर्ने मरिसके
बाँच्नेलाई बचाउँछौँ
अलि अलि लाज बाँकी छ
त्यो पनि छिट्टै पचाउँछौँ
गाउँ गल्ली र टोलहरुमा
बेसरम भएर
निर्भीकता बोकेर
आउँछौँ हामी
निर्वाचनसँगै आउँछौँ।

आखिर कहिलेसम्म बन्द
कति चुपचाप बस्नु?
घरबार चलाउनु पर्छ
सरकार चलाउनु पर्छ
त्यो सबैका लागि
निर्वाचनको बोटमा
परिणाम फलाउनु पर्छ
अब आउँछ
निर्वाचन आउँछ।

हामीले अस्पताल देख्यौँ
बिरामी देख्यौँ
अक्सिजनको अभाव देख्यौँ
रोग, भोक र शोकको पीडा देख्यौँ
हामीलाई हाम्रो धर्म थाहा छ
संविधानको मर्म थाहा छ
ती सबै कुरा बुझेर
हामी घोषणापत्र लेख्दै छौँ
आउँछ, आउँछ
निर्वाचन आउँछ।

कोरोना त एउटा रोग बनेर आएको छ
कसैका लागि जाबो भोक बनेर आएको छ
बढीमा बढी शोक बनेर आएको छ
तर, निर्वाचन
रोग, भोक र शोक मेटाउन
सबथोक बनेर आउँछ
अब निर्वाचन आउँछ।

https://www.setopati.com/literature

प्रतिकृया दिनुहोस्