RaraNews

प्रकाशित : २०७८/१/२२ गते
७५० पटक

सुशील विके,
काठमाण्डौं, वैशाख २२
कोरोनाको दोस्रो लहरबाट दलित समुदाय वढी प्रभावित भएको भन्दै दलित अधिकारकर्मीहरुले दलित समुदायको जीवनरक्षा गर्न र उपचारमा पहुँच पुरयाउन राज्यको ध्यानाकर्षण गराएका छन् । दलित सेवा संघले आयोजना गरेको कोभिडको कहरभित्र दलित समुदायको अवस्था र सरोकारवालाको भूमिका विषयक भर्चुअल कार्यक्रममा वोल्दै दलित अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विज्ञ हीरा विश्वकर्माले गरिवी र विभेदका कारण दलित समुदाय वढी प्रभावित भएको वनाउनुभयो । यस्ता महामारीमा सीमान्त वर्ग वढी प्रभावित हुने गरेको वताउँदै विश्वकर्माले डिएनएफले गरेको अध्ययन अनुसार दलित समुदायमाथि विभेद भएको, राहतमा पहुँच नपुगेको र उनीहरुको अवस्था दयनीय रहेको वताउनुभयो । दलित समुदायमा गरिवीको संख्या वढी भएको हुँदा सरकारले उनीहरुलाई सम्वोधन गर्ने कार्यक्रम ल्याउनुपर्नेमा समेत विश्वकर्माले जोड दिनुभयो ।
प्रमुख अतिथिका रुपमा वोल्दै गैर सरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामाले कोरोना कहरमा पनि दलित समुदायमाथि विभेद हुनु दुःखद भएको वताउनुभयो । अहिलेसम्मको अध्ययनले दलित समुदाय वढी प्रभावित भएको देखिएको वनाउँदै अध्यक्ष लामाले यो संकटको सामाना गर्नका लागि सवै पक्ष संयुक्त रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
सरकार जिम्मेवारीवाट पछि हट्न नमिल्ने वताउँदै लामाले नागरिक समाजले सरकारलाई जवाफदेहि वनाउन लागिरहेको वताउनुभयो । उहाँले पछाडि परेका समुदायलाई यसले वढी प्रभाव पार्ने भएकोले सीमान्तकृत समुदायसँग छलफल गरी उनीहरुका सवालहरुलाई पहिचान गर्ने र सरकारलाई वुझाउने गरी आफूहरुले काम गरिरहेको जानकारी दिनुभयो । गैसस महासंघ, मानव अधिकार आयोग, वार, पत्रकार महासंघ लगायतले गर्ने संयुक्त अनुगमनमा दलित समुदायलाई प्राथामिकता दिनुपर्नेमा समेत लामाले जोड दिनुभयो ।
दलित गैर सरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले महामारीमा गरिव र आवाज विहीनहरुनै पीडित हुने हुँदा चनाखो हुनुपर्ने वनाउनुभयो । खण्डीकृत तथ्यांकहरु संकलन गरी राज्यले कुन ठाउँमा प्राथामिकता दिने हो सो वारेमा जानकारी दिने वनाउँदै विश्वकर्माले एकीकृत हिसावले काम गर्ने सन्दर्भमा दलित गैसस महासंघले पहलकदमी लिने वताउनुभयो ।
कार्यक्रममा लेखक तथा अधिकारकर्मी सुशील विकेले स्वस्थ्य सेवा, उपचार र राहत वितरणमा दलित सुमदायलाई प्राथामिकता दिन सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुुभयो । उहाँले कोभिडबाट वच्न चेतना फैलाउनुपर्ने, स्वास्थ्य सेवा र उपचार, राहत वितरण र पुनर्लाभमा दलितको पहुँच पुरयाउपर्ने, कोभिड रेस्पोन्समा सरकारले वनाउने नीति र रणनीति दलितमैत्री वनाउनुपर्ने, दलित समुदायमाथि हुन सक्ने विभेद रोक्दै विभेदमा परेकालाई न्याय दिनुपर्ने र दलित समुदायको समग्र अवस्थाको अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिनुपर्ने समेत वताउनुभयो । गत वर्ष दलित नागरिक समाजका तर्फबाट दलित समुदायका पक्षमा काम गर्न स्थापना गरिएको संरचनालाई पुनर्जिवीत गरी योजनावद्ध रुपमा काम गर्न पनि उहाँले सुझाव दिनुभयो ।
दलित महिला संघका महासचिव रेनु सिजापतिले दलित महिला, अपांगता भएका व्यक्ति यस्ता महामारीबाट वढी प्रभावित हुने गरेको वताइन । फेडोले गरेको अध्ययन र सरकारले सार्वजनिक गरेको तथ्यांकले गत वर्ष दलित महिलामाथि हिंसा, विभेद, वलात्कार सवैभन्दा वढी भएको जानकारी दिंदै सिजापतिले सरकारले यसलाई रोक्न र प्रभावित समुदायलाई आयआर्जनका कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो ।
एनएनडिएसडव्लुओका अध्यक्ष त्रिलोकचन्द विश्वास विकेले कोरोनाको दोस्रो लहरले दलितलाई वढी असर परेको वताउँदै सरकारको ध्यानकर्षण गराउनुभयो ।
दलितहरु राज्य विहिनताको अवस्थामा रहेको वताउँदै अधिकारकर्मी चक्रमान विश्वकर्माले दलितका लागि नीति, कार्यक्रम र वजेट छुट्याउनुपर्ने वनाउनुभयो ।
मधेशी दलित अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मी मनोज रामले दिन दिनै कमाउने र पेट पाल्ने दलितहरुलाई लकडाउनले वढी असर गरेको वताउँदै उनीहरुलाई राहत वितरण गर्नुपर्ने वनाउनुभयो । भारतबाट आउने दलितहरु वढी भएको र वेरोजगारीबाट पनि उनीहरु प्रभावित भएको उहाँको भनाई थियो ।
दाङ्मा पार्किङ गरिराखिएको एक नीजि गाडीमा मृत भेटिएका दलित वालवालिकाहरुको अवस्थाको सत्य तथ्य सार्वजनिक गर्न पनि कार्यक्रमका सहभागीहरुले माग गरेका थिए ।
कार्यक्रम शहीद मीना स्वर्णकारको स्मृति दिवसका सन्दर्भमा दलित सेवा संघले आयोजना गरेको थियो । कार्यक्रममा दलित सेवा संघका संस्थापक मोतिलाल नेपाली, गजाधर सुनार, चक्रमान विश्वकर्मा, इश्वरी विके, गणेश कालीराज, सञ्जुसिंह सुनार, टंक विश्वकर्मा लगायतका वक्ताहरुले मीना स्वर्णकारले गीत, संगीत, साहित्य र आन्दोलनका माध्यमबाट दलित अधिकारका क्षेत्रमा गरेको कामको स्मरण गर्दै उहाँप्रति श्रद्धा सुमन समेत व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्