RaraNews

प्रकाशित : २०७७/८/६ गते
९२० पटक

काठमाडौं – पछिल्लो समयमा कोरोना खोपको परिक्षणका सुखद समाचारहरु आईरहेका छन् ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना महामारीको अत्यधिक जोखिम र यसले पारेको प्रभावलाई कम गर्न, विगत एक वर्षदेखी अनुसन्धानरत विभिन्न मुलुकका कम्पनीहरुले खोप परिक्षणको नतिजा सकारात्मक भएको बताएपछि सुखद समाचारहरु प्राप्त भएका हुन् ।

गत वुधबार अमेरिकी कम्पनी पिफाजरले जर्मन बायोएनटेकसँग मिलेर बनाएको खोपको परिक्षण ९५ प्रतिशत सफल भएको खबर ल्यायो । लगत्तै एक अर्काे अमेरिकी कम्पनी मोडर्नाले तयार गरेको ‘एमआरएनए (१२७३’ को खोप पनि ९४.५ प्रतिशत सफल भएको समाचार आयो । त्यसैगरी रुसी खोप स्पुतनिक (भी पनि ९२ प्रतिशत सफल भएको खबर आएको थियो ।

कोरोना खोपको परिक्षणको नतिजा सकरात्मक आएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अहिलेसम्म १२ वटा खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परिक्षण भइरहेको बताएको छ । त्यसैगरी डब्ल्यूएचओकै अनुसार २५ वटा खोप दोस्रो र २० वटा खोप पहिलो चरणको क्लिनिकल ट्रायल भईरहेका छन् ।
अमेरिकन कम्पनी फाइजर र जर्मनबायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोपको मानव परीक्षणको नतिजामा ९५ प्रतिशत प्रभावकारी देखिएपछि ती कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति माग्ने र केही महिनाभित्रै बजारमा ल्याउने उक्त कम्पनीले बताएको छ ।अर्थात यस बर्षको अन्तिमसम्ममा पाँच करोड डोज र सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज खोप आपूर्ति गर्नसक्ने निर्माण कम्पनी फाइजरले जनाएको छ ।

अर्को अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप पनि ९४.५ प्रतिशत प्रभावकारी भएको दाबी गर्दै विभिन्न मापदण्ड पुरा गरी केही महिनाभित्र ती खोप विश्व बजारमा पठाउने र यो वर्षको अन्तिमसम्म दुई करोड डोज र २०२१ का लागि ५० करोडदेखि एक अर्ब डोजसम्म खोप निर्माण गर्ने भएको छ ।

त्यसैगरी रुसले निर्माण गरेको ‘स्पुतनिक भी’ खोप पनि मानव परिक्षणमा ९२ प्रतिसत प्रभावकारी भएको बताउदै आएको छ ।

यस्तै, बेलायतको अक्सफोर्ड विश्वविद्यालयले एक्स्ट्राजेनेका कम्पनीसँग मिलेर निर्माण गरेको खोपको अन्तिम चरणको मानव परीक्षणको नतिजा नआउदै तीन अर्ब डोज खोपको उत्पादन गर्ने लक्ष्य लिएको छ ।
उता मानव परिक्षण भईरहेको चीनको सिनोर्फमले विकास गरेको दुई र सिनोभ्याकको एक गरी तीनवटै खोपलाई चीनले आपतकालीन प्रयोगको लागि अनुमति दिइएको छ ।

अहिलेसम्म चीनमा १० लाख मानिसले खोप लिइसकेको र चीनमा खोप लगाएर बाहिर गएका कर्मचारी, विद्यार्थीहरू र कूटनीतिज्ञलाई संक्रमण नदेखिएको दाबी गरेको छ । यो खोपको कुनै नकारात्मक असर नदेखिएको पनि दाबी गरिएको छ । भलै चिनियाँ खोपहरूको अन्तिम चरणको मानव परीक्षणको नतिजा आईसकेको छैन ।
कोरोना विरुद्धको खोपको निर्माण र मानव परिक्षणमा अन्तिम चरणको नतिजा झण्डै सतप्रतिसत सफल परिक्षणको खुस खबरहरु विश्व वजारमा धमाधम आउन थालेपछि नेपाल सरकारले पनि औषधी भित्राउन भन्दै औषधी अध्यादेश २०७७ ल्याएको छ ।

प्रतिकृया दिनुहोस्