RaraNews

प्रकाशित : २०७७/८/५ गते
९३० पटक

काठमाडौँ — गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा अशोक सिंहलाई सरुवा गरेको छ । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवाका क्रममा गृह मन्त्रालयले काठमाडौको महानगरीय प्रहरी प्रमुखमा सिंहलाई ल्याएको हो ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले शुक्रबार एक सूचना प्रकाशित गरी मंसिर ७ गते देखि लागू हुने गरी एसएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

यसअघि उनी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा कार्यरत थिए । यसअघि महानगरीय प्रहरी परिसरमा कार्यरत श्यामलाल ज्ञवालीलाई चाहिँ सिंहको ठाउँमा नक्सालस्थित अपराध नियन्त्रण महाशाखामा पठाइएको छ ।

त्यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरको प्रमुख रहेका एसएसपी टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्यविभाग महाशाखा नक्साल सरुवा गरिएको छ । त्यस्तै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत किरण बज्राचार्यलाई महानगरी प्रहरी परिसर, ललितपुर सरुवा गरिएको छ ।

त्यसैगरी वाग्मती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा कार्यरत सन्दीप भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामपथका प्रमुख भीमप्रसाद ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्सालमा कार्यरत जनक भट्टराईलाई महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा सरुवा गरिएको छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालय यूएन महाशाखामा कार्यरत बीरेन्द्रकुमार बस्याललाई नेपाली राजदूतावास दिल्लीमा सरुवा गरिएको छ । त्यस्तै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय यूएन महाशाखा नक्साल सरुवा गरिएको छ ।

Source : ekantipur.com

प्रतिकृया दिनुहोस्