RaraNews

प्रकाशित : २०७७/४/१५ गते
२४१९ पटक

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रुकुमपश्चिमको सोती घटनाले आफू स्तब्ध भएको भन्दै दलित शब्द शब्दकोषबाटै हटाउनुपर्ने बताएका छन् ।

रुकुमपश्चिमको सोती घट्नाका मृतकको परिवारलाई राष्ट्रिय कलाकार समुहको समन्वयमा बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा कलाकार श्रेष्ठले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका श्रेष्ठले भने, ‘२१ औं शताब्दीमा आएर पनि १६ औँ शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाएसम्म मानिसहरुको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।’

घटनालाई अप्रिय र अकल्पनीय भएको भन्दै त्यसप्रति खेद व्यक्त गरे । रुकुममा नरसंहार घटना हुनुुमा अशिक्षा सबैभन्दा ठुलो कारण भएको उनको तर्क थियो । पीडित परिवारमा भुकम्प, बाढी/पहिरो एकैपटक आएकोमा दुःख व्यक्त गरे । उनले जताततै न्याय हराएपछि राज्यको चौथो अंग पत्रकारितामात्र न्यायको आशा गरिने स्थान भएको समेत औँल्याए ।

कार्यक्रममा रुकुमपश्चिमको सोती घट्नाका मृतकको परिवारलाई राष्ट्रिय कलाकार समुहको समन्वयमा पाँच लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ । जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सीपी घर्तीलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरिएकाे हाे । सहयोग रकम मृतकका प्रत्येक परिवारलाई ५० हजारका दरले  तीन लाख, प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार, कानूनी प्रक्रियाका लागि ८० हजार गरि जम्मा पाँच लाख रकम नगरपालिकाका मेयर घर्तीमार्फत् पीडितहरुलाई हस्तान्तरण गरिएको हो ।

नगरपालिकाले सोती घटनाका छ जना मृतक र १२ जना घाइतेका परिवारको सहयोगमा प्रयोग गरिने जनाइएको छ । कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पनि सोती घटनाका पीडितको सहयोगका लागि १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले सोती घटना अन्तिम हुनुपर्ने र अब यस्तो घटना हुन नहुने बताए । संविधान र कानुनमा भएका जातिय अधिकारको विषयहरु हुबहु लागु गरेर विभेद अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

रुकुम पश्चिम सोती नरसंहार सहयोग संकलन अभियान राष्ट्रिय कलाकार समूहले जनाएअनुसार उक्त सहयोग रकम अमेरिकाबाट दुई लाख ८९ हजार पाँच सय, अष्ट्रेलियाबाट ८६ हजार चार सय, बेलायतबाट पन्ध्र हजार, गो फण्ड मि बाट ६३ हजार पाँच सय, क्यानडाबाट पचास हजार, उषाबाट १० हजार र राजु परियारबाट पाँच हजार प्राप्त भएको हो ।

अभियानको कार्यक्रमको व्यवस्थापनमा २१ हजार दुई सय खर्च भएको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्