RaraNews

प्रकाशित : २०७७/४/१२ गते
९९५ पटक

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ थानसिङ गाउँबाट २०२५ मा छलिमाया विकको परिवार म्याग्दे गाउँपालिका–१ ठूलाचौर आएको थियो। तत्कालीन समयमा यहाँ उनको र अर्को एक घर परिवारको मात्रै बसोबास थियो। पछि विस्तारै अन्य केही दलित समुदायका मानिस पनि थपिएपछि ठूलाचौरमा दलित बस्ती नै बन्यो।     

समुद्री सतहबाट करिब २०० मिटर उचाइमा रहेको यस बस्तीमा शुरुदेखिकै मुख्य समस्या भनेको खानेपानी र बिजुली नै थियो। प्रत्येक चुनावमा राजनीतिक दलको मुख्य प्रतिबद्धता र आश्वासन पनि यिनै कुरामा हुन्थे तर दलको प्रतिबद्धता कहिल्यै पूरा भएन।गाउँमा बिजुली र पानीको आशमा यहाँका स्थानीयवासीले धेरै वर्ष बिताए। बल्लतल्ल बिजुली भने केही वर्ष अगाडि बल्यो, तर पानीको समस्या भने उस्तै।

बस्ती केही उचाइमा भएका कारण खानेपानीको मूल नजिकै थिएन। छलिमाया विगतको दुःख सम्झँदै भन्छिन् “बस्तीभन्दा केही पर पानीघट्टा भन्ने कुवामा पुगेर पानीको जोहो गर्नुपर्थ्यो, त्यही कुवामा पनि कहिले पानी सुक्ने र कहिले भल पस्ने हुँदा निकै सास्ती थियो। पानीकै लागि घण्टौँ समय खर्चिनुपर्दा अन्य काममा बाधा परिरहेको थियो।” तर ५२ वर्षपछि घरमै खानेपानीको धारा देख्दा ८१ वर्षीया छलिमायालाई सपना जस्तै लागेको छ। “घामपानी नभनी पचासौँ वर्ष घण्टौँ लगाएर पानी बोकेको दुःखका दिन अब गए”, उनले भनिन्, “अहिले त घरमै धारा आइपुगेको छ, योभन्दा खुशी अरु के होला र।” आफूले जीवनभर पानी बोक्दै छोरा नाति हुर्काएको भए पनि अबका पुस्ताले भने सुख पाउने उनले बताइन्। 

बिहान बेलुका पानीको जोहो गर्दै दिन बित्ने यहाँका स्थानीयवासीको अहिले दैनिकी फेरिएको स्थानीयवासी वीरबहादुर विकले बताए। “खानेपानीको जोहो गर्नुपर्दा घरको काम समयै सक्न समस्या पर्थ्यो, केटाकेटी विद्यालय समयमै पुग्न सक्दैनथे”, उनले भने, “विगतमा यहाँका बासिन्दाले भोगेको दुःख अबको पुस्ताले भोग्न पर्दैन, अहिले त गाउँकै मुहार फेरिएजस्तै भएको छ।”     

म्याग्दे गाउँपालिकाको नौ लाख २५ हजार, गण्डकी प्रदेश सरकारको दुई लाख ५० हजार र स्थानीय उपभोक्ताको  ६ लाख २५ हजार गरी कूल १८ लाखको लागतमा ठूलाचौरका घरघरमा धारा जडान गरिएको छ। तीर्थेखोला हात्तीखोर खानेपानी समितिका अध्यक्ष कृष्ण खनालका अनुसार यहाँका ३७ घरमा धारा जडान गरिएको छ। योजनाबाट यहाँका करिब ३०० लाभान्वित भएका छन्। योजनाबाट ठूलाचौर दलित बस्तीमा दुई÷दुई हजार लिटरको ट्याङ्की निर्माण गरी लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्‍याइएको छ।

प्रतिकृया दिनुहोस्