RaraNews

प्रकाशित : २०७७/४/६ गते
८९४ पटक

परासी — तीन दिनदेखिको अविरल वर्षाले पश्चिम नवलपरासीका विभिन्न स्थानमा डुबान भएको छ । पाल्हिनन्दन गाउँपालिका–१ शंकरपुर, सुनरी र वडा नम्बर २ को अमानिगन्ज, सरावल गाउँपालिका–५,६,र ७ जलमग्न भएका छन् । 

लगातार तीन दिनदेखि परेको झरीले १ सय भन्दा बढी घर डुवानमा परेको छ भने २ सय विघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दिपक गुप्ताले बताए । डुबानमा परेका ४५ घर परिवारलाई राहात वितरण गरिएको छ । घर डुबानमा परेपछि खाद्यान्न र लत्ता कपडा भिजेपछि स्थानीय तहले राहात स्वरुप खाद्यान्न, वितरण गरेको हो । डुबान क्षेत्रमा जनप्रतिनिधिले स्थलगत अनुगमन गरेर डुबान हुनुको कारण पत्ता लगाएर आगामी वर्ष समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

स्थानीय झरही खोला, पानभार र भुमही खोलामा पानीको सतह बढेपछि आसपासको क्षेत्र डुबानमा परेको हो । आकाशे पानीको निकास नहुनु र अव्यस्थित प्लटिङका कारण जलमग्न भएको हो । सदरमुकाम परासीको झरही खोलाको आसपासमा पनि जलमग्न भएको छ । पूर्वपश्चिम राजमार्गमा पानीको कारण सवारी चलाउनसमेत असहज भएको छ । सडकमा वर्षातको पानीले निकास नपाउँदा बजार क्षेत्र जलमग्न भएको हो । सडकको दायाँ बायाँ पानी जमेपछि पूर्वपश्चिम राजमार्ग र भित्री बाटोमासमेत पानी भरिएर सडक भत्कएको र सर्वसाधरणलाई आवगमनमा समस्या भएको बर्दघाट २ का रेशम लुईटेलले बताए । सुनवल, भूमही र सदरमुकाम परासीमासमेत डुवानको कारण घरमा पानी पसेको छ ।

अत्याधिक वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढेको छ भने जिल्लाका खहरे खोलामा पानीको सतह उच्च हुँदा खेतीयोग्य जमिन तीव्र रुपमा कटान भइरहेको छ । लगातारको वर्षाले खोलाआसपासका स्थानीय बाढी आउने त्रासमा छन् ।

नारायणी नदीमा पानीको बहाव बढेको छ । गण्डक ब्यारेजमा सोमबार दिउँसो २ बजे पानीको बहाव बढेर ९ दशमलव ४५ मिटर पुगेको थियो । जुन खतराको नजिक हो । ११ मिटरपछि खतरा मानिन्छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले तटीय क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा रहेको मापन मिटरमा पानीको बहाव बढ्दै गएको र खतराको संकेत नजिक पुगेकाले सजग रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । सम्भावित दुघर्टनालाई मध्यनजर राखेर जिल्लामा उद्धार र व्यवस्थापनका लागि सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखिएको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्