RaraNews

प्रकाशित : २०७७/४/५ गते
१०९७ पटक

कमलेश ठाकुर । जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियाका ६५ वर्षीय रतन सदा २०७५ माघ मसान्तमा सरकारले मुसहर बस्तीका ७५ परिवारलाई पक्की घर बनाइदिने खबर पाएर खुशीले गदगद भए । त्यति बेला उनी मात्र होइन, मुसहर बस्तीका सबै उत्साहित थिए । सरकारले नयाँ घर बनाइदिने आशामा डेढ वर्ष बिताइसक्दा अवस्था उस्तै छ । नयाँ घर बन्ने भनिएपछि उनले डेढ वर्षअघि तराईमा शीतलहर चलिरहेको बेला पुरानो घर भत्काका थिए । तर जग्गाको स्वामित्व आपूmसँग नहुँदा पक्की घरमा बस्ने उनको सपना सजिलै पूरा हुने देखिएको छैन ।  

रतन एउटा प्रतिनिधि पात्र मात्र हुन् । यहाँका ७५ परिवारको घर जनता आवास कार्यक्रम अन्तर्गत २०७५ जेठदेखि निर्माण गर्न शुरू गरिएको थियो । ७ महीनाभित्रै निर्माण भइसक्नुपर्ने ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । तर घर हालसम्म निर्माण नहुँदा मुसहर समुदायका बासिन्दा शीतलहर र गर्मीसँगै वर्षाको सास्ती समेत खेप्न बाध्य छन् ।

जग्गाको स्वामित्व आपूmसँग नहुँदा मुसहर समुदायमा लक्ष्य अनुसार घर निर्माण हुन सकेको छैन । पक्की घर निर्माण नहुँदा उनीहरूले विभिनन मौसमी प्रकोपको सामना गर्नुपरेको छ । अहिले वर्षात्का कारण सुत्केरी महिला, वृद्धवृद्धा तथा बालबालिकाको स्वास्थ्य जोगाउनै कठिन भइरहेको यस समुदायका बासिन्दाको गुनासो छ ।

स्थानीय ६० वर्षीया रामवती सदाले समयमै घर निर्माण हुन नसक्दा निकै अप्ठ्यारो भएको बताइन् । ‘सरकारले घर बनाइदिन्छ भन्ने सुनेपछि एकदमै हर्षित भएका थियौं,’ उनले भनिन्, ‘डेढ वर्ष बित्न लाग्यो, घर निर्माण हुन सकेन । यहाँको हालत के छ भनेर बुझ्न कसैले चासो दिएका छैनन् ।’  यस्तै स्थानीय ५५ वर्षीया दुलरिया सदाले आफ्नै घर पाउने आशामा २०७५ असार १० गते आफ्नो झुपडी तोडिन्, तर अहिले उनीसँग न झुपडी छ, न सरकारले बनाइदिएको घर । ‘अहिले त्यो झुपडी नै हामीलाई लागि प्यारो थियो भन्ने महसूस भइरहेको छ,’ उनले भनिन्, ‘सरकारले हामीलाई राहत दिनुको साटो उठिवास गराएको छ ।’ 

गुठी संस्थानको उजुरीले काम ठप्प
यहाँ बन्न लागेका ७५ मध्ये ५५ ओटा घरको काम गुठी संस्थानको उजुरीका कारण रोकिएको छ ।  बाँकी २० ओटा घर निर्माण भइरहेको बताइएको छ । यहाँ मुसहर समुदाय वर्षौंदेखि बसोवास गर्दै आएका छन् । घर निर्माण थाल्नुअघि गुठी संस्थानले आफ्नो जग्गा भएको दाबी नगरेको, तर घर निर्माण शुरू भएपछि जग्गाको स्वामित्व दाबी गर्दा गरीब दलितको उठिबास भएको छ । गुठी संस्थानले मुसहर समुदायले गुठीको जग्गामा घर बनाउन लागेको भन्दै अदालतमा मुद्दा दिएको जिल्ला अदालत धनुषा जानकारी दिएको छ । जनता आवास अन्तर्गत मुसहर समुदायको घरको निर्माण आधा पनि काम नहुँदै रोक्का गरिएपछि उनीहरूलाई झुपडीमै बस्न बाध्य छन् । 

‘एउटै झुपडीमा १० जनासम्म सुतिरहेका छौं, गाईवस्तु पनि त्यहीँ राख्नुपर्ने अवस्था छ,’ स्थानीय नरेश सदाले भने, ‘मुद्दा हालेपछि काम रोकिएको छ । अब कहिले निर्माण हुन्छ, कुरा थाहा भएन् ।’ यद्यपि गुठी संस्थानलाई करीब आठ वर्षअघि एक परिवारले रू. २० हजार तिरेर ५ धुरका दरले जग्गा पाएको उनले दाबी गरेका छन् । 

जनता आवास कार्यक्रम अन्तर्गत घर बनाउन लाग्दा गुठी संस्थानले उनीहरू लामो समयदेखि बस्दै आएकाले घर बनाउँदा फरक नपर्ने बताए पनि पछि आएर मुद्दा हालेको शहरी विकास डिभिजन कार्यालय अन्तर्गत जनता आवास कार्यक्रम इन्जिनियर नरेन्द्रकुमार झाले बताए । ‘त्यसबेला गुठी संस्थानले पत्र नै लेखेर घर बनाउँदा फरक नपर्ने बताएको थियो,’ झाले भने, ‘तर जनता आवास परियोजना अन्तर्गत घर निर्माण भइरहेको थाहा पाएपछि मुद्दा हालेका रहेछन् ।’ 

जनता आवास कार्यक्रमका संयोजक एवं प्रदेशसभा सांसद परमेश्वर साहले अदालतले ‘स्टे अर्डर’ जारी गरेपछि डेढ वर्षदेखि काम रोकिएको जानकारी दिए । अदालतमा मुद्दा गएको भन्दै उनले मुद्दा फैसला भएपछि काम शुरू हुने बताए । ‘कानून उल्लंघन गरी बनाउने कुरा भएन । मुद्दा फछ्र्योट भएपछि काम हुन्छ,’ उनले भने । 

Source – Abhiyan

प्रतिकृया दिनुहोस्