RaraNews

प्रकाशित : २०७७/४/२ गते
१२४४ पटक

कमलेश ठाकुर । महोत्तरीको भाङहा नगरपालिका–९ स्थित हरिनमारी गाउँमा जनता आवास कार्यक्रम अन्तर्गत बनाइन लागिएको दलितको घर निर्माणमा अवरोध भएको छ । गाउँमा ‘दलित’को घर बन्न नदिने स्थानीय केही यादव जातीका मानिसको अडानका कारण यहाँ मल्लिक परिवारको घर बन्न पाएको छैन । 

जनता आवास कार्यक्रम अन्तर्गत स्थानीय ललिता मल्लिकको घर बनाउन सबै तयारी भएपछि स्थानीय रामजात्न यादव, रामप्रसाद यादव, शिवनारायण यादव र ललका यादव लगायतले विरोध गरेपछि मल्लिक परिवारको घर बन्न नपाएको हो । नयाँ घर बन्ने आशामा पुरानो भत्काएका मल्लिक परिवार अहिले वर्षाको बेला आपतविपतमा परेका छन् । 

नगरपालिकाको तथ्यांक अनुसार ५०० घरधुरी भएको हरिनमारीमा यादवपछि क्रमशः मुसहर, तेली, दास, चमार, मुस्लिम, ठाकुर र डोम जाती बसोबास गर्छन् । वडामा मात्रै २१ प्रतिशत भन्दा बढी जनसंख्या मुसहर समुदायको छ । 

तर, पञ्चायतकालमा उनीहरूलाई गाउँ बस्न नदिए पछि छुट्टै गाउँ बसालेको मुसहरहरूको आरोप छ । त्यही इतिहास पुनः दोहोर्‍याउन केही मानिस लागेको यहाँ ५ पुस्तादेखि बसोबास गरिरहेका मल्लिक परिवारको गुनासो छ । हरिनमारी गाउँको अन्तिम एक छेउमा २ घर मल्लिक परिवार बसोबास गर्छन् । 

फुसको घरमा टिनको जस्ताले छाएको ती घरका मानिसहरू अहिले आफूहरूको उठिबास हुने चिन्तामा छन् । ४५ वर्षीय सिकेन्दर मल्लिक भावुक हुँदै ३ महीनादेखि निदाउन नपाएको गुनासो गर्छन् । नयाँ घर निर्माण गर्न उनले गएको चैत मसान्तमा आधा घर भत्काए । तर, घर बन्ने सुरसार हुँदै गर्दा स्थानीयले विरोध गरेपछि घर बन्न सकेको छैन । त्यतिमात्र होइन घर बनाउन नदिइएको अवस्थालाई हर्दा गाउँ नै छोड्नु पर्ने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताएको छ । 

स्थानीय ललिता मल्लिक उपभोक्ता समितिको अध्यक्ष बनेर गत वैशाखमै घर निर्माण गर्न इँट्टा, बालुवा, सिमेन्ट र रड जम्मा पारेको भए पनि घर निर्माण शुरू हुने छाँट अझै छैन । 

स्थानीयले बताए अनुसार दलित भएको ठाउँमा अन्य जातीका मानिसहरू नबस्ने चलन छ । यसकारण मल्लिकका छिमेकीहरू घर निर्माणमा विरोध गर्दै आएको स्थानीयको दाबी छ । छिमेकीहरूले सडकसमेत अतिक्रमण गरी उनको घर हटाउने प्रयास गरेको गाउँका मानिसहरू बताउँछन् । यहाँका अन्य जातीका मानिसले मल्लिकहरूलाई पटक–पटक हटाउने प्रयत्न गरेको उनीहरूले सुनाए । 

राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले सिकेन्द्र मल्लिकले एक साताभित्र न्याय नपाए आफूहरूले कडा कदम चाल्ने चेतावनी दिएका छन् । सदिऔंदेखि विभेदको चपेटामा पिल्सिदै आएका दलित समुदायले आजसम्म पनि उन्मुक्ति नपाएको दलित संघर्ष समिति प्रदेश २ का अध्यक्ष चन्देश्वर दासले बताए । 

प्रतिकृया दिनुहोस्