RaraNews

प्रकाशित : २०७७/३/३० गते
१५५३ पटक

अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको रुकुमको चौरजहाजरी घटना नियोजित भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ । आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले निष्कर्ष निकालेको छ ।

अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए । तर युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।

सो घटनाको छानविन गर्न २६ जेठको प्रतिनिधि सभा बैठकबाट देवेन्द्र पौडेल नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले मंगलबार अपराह्न सभामुख अग्नि सापकोटालाई छानबिन प्रतिवेदन बुझाउँदै छ ।

प्रतिवेदनको निष्कर्षको सारबारे जानकारी दिँदै समितिका एक सदस्यले ले भने, ‘घटना जातीय भेदभावमा आधारित नै हो । यो भवितव्य नभएर नियोजित हो । सामूहिक रुपमा आक्रमण गरेर सामूहिक हत्या गरिएको छ । यसमा वडाध्यक्षको नेतृत्व देखिन्छ र प्रहरी प्रशासनको अनुसन्धान प्रक्रियामा लापरवाही छ ।’

घाइतेहरूले आक्रमणको रिहर्सल गरेर देखाए

समितिले दोषीहरुलाई प्रचलित कानुनबमोजिम हदैसम्म कारवाही गर्नसमेत सुझाव दिएको छ ।

संसदीय विशेष छानविन समितिले गत जेठ ३१ गते पहिलो बैठक बसेर काम सुरु गरेको थियो । त्यसपछि समिति सदस्यहरु घटनास्थल प्रस्थान गरेका थिए । समितिका सदस्यहरुले घाइते, मृतकका परिवार र विज्ञहरुसँग भेटेर घटनाबारे जानकारी लिएका थिए ।

समितिका अर्का एक सदस्यले अनलाइनखबरसँग भने, ‘रिपोर्टको नाममा रिपोर्टमात्र नहोस्, मेहनत गरेर गरौँ भनेर छानबिनको क्रममा नयाँ शैली पनि अपनायौं । घाइतेहरुलाई भेला पारेर आक्रमणको रिहर्सल गरायौं । उहाँहरुले कहाँ–कहाँ, कसरी–कसरी आक्रमण भयो भनेर देखाउनुभयो ।’

चौरजहाजरी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनकी आमा–बुवा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ । सबैलाई आजीवन कैद गर्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्