RaraNews

प्रकाशित : २०७७/३/२९ गते
१०५३ पटक

असार २९, बुटवल ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले यौन हिंसा घटाउन विद्यालय तहमा प्रजनन शिक्षा आवश्यक रहेको बताएका छन् ।

किशोरी स्वास्थ्य र प्रजनन शिक्षालाई विद्यालय तहमै समावेश गर्न सके किशोरी स्वास्थयमा समेत सुधार आउने उनले बताए । विद्यालयबाट दिइने शिक्षा प्रभावकारी हुने भन्दै उनले त्यसकालागि प्रदेश सरकारले पाठ्यक्रम, पाठ्यपुस्तक र अभ्यास सुरु गर्ने तयारी गरेको बताए । प्रजनन स्वास्थ्य सुधारका लागि अब स्वास्थ्य केन्द्रलाई महिला तथा किशोरकिशोरीमैत्री बनाउन र जनस्वास्थ्यलाई परिवारतहसम्म पुर्याउन समेत योजना ल्याउने उनले बताए । 

सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले सोमबार बुटवलमा आयोजना प्रदेश सभा सदस्यका लागि महामारी तथा विपदको अवस्थामा महिला तथा किशोरीको स्वास्थ्य तथा अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले यस्तो बताएका हुन् । मन्त्री बरालले महिला स्वास्थ्य सुधारका लागि सबैभन्दा पहिला महिलालाई आत्मनिर्णय गर्न सक्ने क्षमतामा पुर्याउनु पर्ने भन्दै चेतना विकास र पहुच वृद्धिका लागि साझेदार संघसस्थाले समेत सहयोग जरुरी रहेको बताए । विपदको समयमा हुने स्वास्थ्य समस्यालाई सम्बोधन गर्न विपद स्वास्थयबारे छुट्टै नीति बनाउन लागेको बताउदै उनले हरेक कुरा गर्दै सिक्दै जादा प्रभावकारी हुने बताए । 

कार्यक्रममा सहजीकरण गर्दै अधिकारकर्मी डा. रेणुराज भण्डारीले महिला स्वास्थ्यलाई सामाजिकीकरण नगर्दासम्म प्रजनन स्वास्थ्यमा सुधार नहुने बताइन् । सामाजिक संरचनाका कारण किशोरी तथा महिलाले विवाह, प्रजननसहित हिंसा विरुद्ध बोल्ने र आफ्नो स्वास्थयबारे खुलेर उपचार गर्न नसक्ने अवस्था रहेको बताउदै उनले यसमा परिवर्तन जरुरी रहेको बताइन् । सुधारका लागि आधारभूत स्वास्थ्य सेवालाई पीडितमैत्री बनाउन र प्रजनन स्वास्थ्यलाई महिलाअधिकारसित जोडेर अगाडि  बढाउन उनले सुझाब दिइन् ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास समिति सभापति आशा स्वर्णकारले  परिवार स्वास्थ्य र  नियोजनका साधनको उपलब्धता र उपयोगबारे ग्रँमिणतहसम्म पहुच बढाउन सके प्रजनन स्वास्थयमा सुधार हुने बताइन् । युएनएफपिएका प्रदेश संयोजक राम थापाले स्वास्थ्य, शिक्षा र अधिकारलाई संगै जोडेर लैजान सके किशोरी र महिला स्वास्थयमा सुधार हुने बताए । 

सामाजिक विकास समिति सभापति दीर्घनारायण पाण्डेको अध्यक्षता एवं सिद्धार्थ सामाजिक संस्थाका पोमनारायण पौडेलले सहजीकरण गरेको कार्यक्रमा प्रदेश सभा सदस्य रमा अर्याल, पुरण बज्राचार्य, दीपा विश्वकर्मा, गीता थापा, अर्जुनकुमार थापा लगायतले किशोरी महिला स्वास्थय र प्रजनन स्वास्थयबारे सुझाब दिएका थिए । 

प्रतिकृया दिनुहोस्