RaraNews

प्रकाशित : २०७७/३/२९ गते
७८० पटक

असार २९ सैनामैना । 

सेनेटेरी प्याड महिलाहरुको अति आवश्यक साधनमा पर्छ । पछिल्लो समय विभिन्न संघ संस्थाहरुले घरेलु प्याड बनाउन सिकाउन थालेका छन् । यसमा महिलाहरुको प्रयोग र चासो पनि बढ्दै गएको देखिन्छ । यसैलाई मध्यनजर गर्दै सामाजिक सेवामा सक्रिय संस्था सैनामैना जेसिजले घरेलु सेनेटरी प्याड बनाउने तालिम आजदेखी सुरु गरेको छ । 

तालिमको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर उपप्रमुख विना रानाले व्यवहारिक र व्यसायिक रुपमा समेत तालिमलाई अगाडि बढाउन जरुरी रहेको बताईन् ।उनले सिकाईले महिलाहरुलाई आत्मनिर्भर बनाउने बताउँदै महिलाहरुको क्षमता अभिबृद्धि लगायतका कार्यक्रमका लागि नगरले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सैनामैना नगरपालिकामा रहेका ११ वटै वडाका महिलाहरुलाई सहभागी गराई उनीहरुको सीपमुलक क्षमतामा अभिबृद्धि गर्ने उद्देश्यले २ दिने तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष सीता क्षेत्रीले बताईन् । 

सो अवसरमा सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी,पुर्व अध्यक्षद्धय नन्दु थापा क्षेत्री, सुवास पौडेल, कन्चन जेसीजका संस्थापक अध्यक्ष चुरामणी पौडेल , कन्चन जेसीजका बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेल  लगायतले जेसीजले विभिन्न समयमा तालिम सँगै सचेतनाका कार्यक्रमहरु गरेको बताउँदै कार्यक्रम सफलताको कामना गरे ।

प्रशिक्षक यशोदा थापाले महिलाहरुको लागि घरेलु सेनेटेरी प्याड स्वास्थ्यका हिसाबले पनि राम्रो हुने भएकोले पछिल्लो समय यसमा महिलाहरुको चासो बढ्दै गएको बताईन् ।

तालिम आफुहरुको लागि फलदायी हुने तालिममा सहभागी भएकी सैनामैना ५ बुद्धनगरकी लक्ष्मी खत्रीले बताइन् । उनले भनिन् – ‘सिक्ने समय अवधि अझै धेरै भएको भए प्रभावकारी हुन्थ्योे ।’ तालिममै सहभागी भएकी सैनामैना ४ रन्यौराकी शर्मिला ज्ञवालीले आफुलाई आवश्यक पर्ने साधन सिक्न पाउँदा खुसी लागेको सुनाईन् ।

सैनामैना २ ग्लोबल पार्टी प्यालेसमा सुरु भएको २ दिने तालिममा नगरको विभिन्न वडाका गरी ३८ जना महिलाहरु सहभागी भएको कार्यक्रम संयोजक रुपा पाण्डे पोखरेलले जानकारी दिईन् ।

संस्थाका अध्यक्ष सीता क्षेत्रीको अध्यक्षता, नगर उपप्रमुख विना रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन महासचिव यदुनन्द भण्डारीले गरेका थिए ।

मानवताका लागि नेतृत्व भन्ने उद्देश्य सहित संस्थाले यस क्षेत्रमा विभिन्न समयमा सामाजिक कामहरु गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस्