RaraNews

प्रकाशित : २०७७/३/२९ गते
११७३ पटक

स्याङ्जाको वालिङ नगरपालिका–१३ स्थित कुसुण्डेका ३२ घरपरिवार पहिरोको उच्च जोखिममा छन् । केही दिनदेखि लगातार परेको वर्षाका कारण कुसुण्डेमा रहेको दलित बस्तीको माथिल्लो भूभागको जमिन चिराचिरा परेर धाँजा फाटेपछि बस्तीनै पहिरोको उच्च जोखिममा परेको हो ।भौगोलिक बनावटका हिसावले भिरालो जमिनमा रहेको उक्त बस्ती ३ दिनदेखि निरन्तर परेको वर्षाका कारण धाँजा फाँटेको स्थानबाट पहिरो जान थालेको स्थानीयले बताए । स्थानीयका अनुसार कुसुण्डेका ३२ घरका झन्डै २ सय स्थानीयले घर छाडेर सुरक्षित स्थानमा गएर रात बिताउन बाध्य भएका छन् ।                          
निरन्तरको वर्षाका कारण गएको पहिरोका कारण पाँच घर विस्थापित भइसकेका छन् । पहिरोको जोखिम बढ्दै गएपछि सिंगो गाउँलाई स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । उनीहरूले बस्ती सार्न माग गर्दै वालिङ नगरपालिकामा निवेदनसमेत दिएका छन् ।“पानी पर्नासाथ घरभन्दा माथिल्लो भागबाट पहिरो झर्न सुरु हुन्छ ।” स्थानीय पवित्रा सार्की भन्छिन, “पुरै बस्ती बगाउने चिन्ताले राति निन्द्रा नि पर्दैन् ।” अतिनैै भिरालो र कमजोर भूभाग रहेकोले जतिबेला पनि बस्ती पहिरोको जोखिममा पर्न सक्ने भएकाले पानी पर्ना साथ निद्रा नपर्ने र सुरक्षित स्थानको खोजि गर्न बाध्य भएको पवित्राले बताइन् ।पहिरो नियन्त्रण एवं रोकथाम गर्नका लागि भौगोलिक हिसाबले सम्भावना नरहेको स्थानीय बताउँछन् । पहिरोको जोखिमबाट कुसुण्डेका केही घर विस्थापित भएको खबर थाहा पाएपछि नगर वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणसहितको टोलीले उक्त बस्तीकोे निरीक्षण गरिसकेको छ । पहिरोको जोखिममा रहेका परिवारलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दै नगर प्रमुख खाँणले जोखिममा रहेको बस्ती सार्नका लागि बैकल्पिक उपाय अवलम्बन गर्न लागिएको छ ।
विगत लामो समयदेखि पहिरोको जोखिममा रहेको उक्त बस्ती स्थानान्तरणका लागि स्थानीयले माग गर्दै आएका थिए । आफूहरूसँग कुनै विकल्प नभएपछि सरकारी मुख ताक्न बाध्य छन् कुसुण्डेका ३२ घर परिवार । चालु वर्षमा केही दिनदेखि अबिरल परेको वर्षाले ५ घरमा पहिरोले क्षति पु-याएपछि उनीहरू थप त्रसित बनेका हुन् ।पहिरोमा परी क्षति पुगेका पाँच घरपरिवार भने बस्ती नजिकैै सुरक्षित स्थानमा अस्थायी टहरा निर्माण गरेर रात बिताइरहेका छन् । जोखिममा रहका ३२ घरपरिवारको बस्ती सुरक्षित स्थानमा नसार्ने हो भने जुनसुकै बेला  ठूलो क्षति व्यर्होर्न बाध्य हुने स्थानीयको भनाइ छ ।   

प्रकाश डोटेल

प्रतिकृया दिनुहोस्