RaraNews

प्रकाशित : २०७७/३/१५ गते
८३२ पटक

अघिल्ला वर्षहरुमा पानी नपरेकै कारण मध्यअसारसम्म आकाशतिर आँखा लगाउने किसानहरुले यो वर्ष भने धमाधम रोपाईँ गरिरहेका छन् । नेपालमै धान उत्पादनको हिसाबले अग्रपंक्तीमा आउने प्रदेश ५ मा मध्य असारसम्म करिव आधा खेतमा धान रोपाईँ सकिएको छ । समयमै मनसुन सक्रिय भएकाले यो वर्ष मध्य असारसम्म आइपुग्दा कतिपय किसानले रोपाईँ सकेर आराम गरेका छन् । कृषि विकास निर्देशनालयका अनुसार मध्य असारसम्म ४७.०५ प्रतिशत खेतमा धान रोपाईँ भएको छ ।  

प्रदेशका रुपन्देही, नवलपरासी (पश्चिम), कपिलबस्तु, दाङ, बाँके र बर्दियामा असार सुुरु भएदेखि नै रोपाईँ चलेको थियो । पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, रुकुम (पश्चिम), रोल्पा र प्यूठान भने लगभग रोपाईँ सकिने अवस्थामा पुगेको कृषि विकास निर्देशनालय बुटवलका निर्देशक यमनारायण देवकोटाले जानकारी दिए । उनका अनुसार प्रदेशमै सबैभन्दा बढि धानखेती गरिने कपिलबस्तुमा ४० प्रतिशत रोपाईँ भएको छ । कपिलबस्तुमा ७१ हजार ५ सय हेक्टर जमिनमा धानखेती गरिन्छ । यसपछि ६९ हजार ७ सय जमिनमा धानखेती हुने रुपन्देहीमा भने ५६ .२९ प्रतिशत रोपाईँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।  

यसैगरि दाङमा २६.७६, नवलपरासी (पश्चिम)मा ८४.०६, बाँकेमा ३७.९६, बर्दियामा ५४.८२ प्रतिशत रोपाई भएको छ । यसैगरि पाल्पामा २१.९१, गुल्मीमा १९.६८, अर्घाखाँचीमा २७.९२, रुकुम पूर्वमा ७३.०५, प्यूठानमा ९६.१३ र रोल्पामा ५८।६६ प्रतिशत रोपाई भएको कृषि विकास निर्देशनालयले जनाएको छ । प्रदेश ५ मा ६ लाख ४१ हजार ७७ हेक्टर खेतीयोग्य जमिनमध्ये १ लाख ५७ हजार ४ सय ६९ हेक्टर जमिनमा धान खेती गर्ने गरिएको छ । यो वर्ष मनसुन बेलैमा सक्रिय भएकाले धेरैजसो किसानहरुले समयमै रोपाईँ गर्न पाएका हुन । असारसम्ममा लगभग रोपाईँ सकिने स्थिती देखिएको कृषि विकास निर्देशनालयका बरिष्ठ कृषि अर्थ विज्ञ  भिमनाथ शर्माले जानकारी दिए ।  

नेपालमै धान उत्पादनका हिसाबले पहिलो स्थानमा रहेको प्रदेश ५ सरकारले धानको उत्पादकत्व बृद्धि गर्ने गरि निति बनाएको मुख्यमन्त्री शंकर पोखरेल बताउछन । उनले धान दिवसका अवसरमा शूभकामना सन्देश दिदै कोभिड—१९ महामारीले अर्थतन्त्रमा परेको नकरात्मक असरलाई न्यूनिकरण गर्न धानको उत्पादन वृद्धि गर्नुपर्ने बताए । ‘चामल निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार  योजनाबद्ध रुपमा अघि बढिरहेको छ । त्यसका लागि खेतीयोग्य भूभागमा सिंचाईको उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउबिजन र मलखाद किसानलाई सहज उपलब्ध गराउने एंव यान्त्रिकरणमा जोड दिने नीति प्रदेश सरकारले लिएको  छ ’ उनले भने ।  

कोरोना संकटका बीच धान दिवस मनाइयो
कोरोना महामारीका बीच प्रदेश न. ५ सरकारले १७ औं धान दिवस मनाएको छ । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा सोमबार कृषि विकास निर्देशनालय प्रदेश नं. ५ ले रोपाईँ गरेर धान दिवस मनाएको हो । उक्त अवसरमा बोल्लै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोरोना महामारीले कृषिको मह्तवलाई उजागर गरेको बताउँदै किसानलाई प्रोत्साहन गर्ने निति लिएको बताईन । उनले प्रदेश ५ मा धानको उत्पादन राम्रो भएकाले उत्पादक्तव बृद्धि गरेर आयात प्रतिस्थापन गर्नतर्फ सबै अग्रसर हुनुपर्ने बताईन ।  

अघिल्ला बर्षहरुमा तामझामका साथ धान दिवस मनाइने भएपनि यो पटक भने सामान्य कार्यक्रम गरि मनाइएको कृषि विकास निर्देशनालयका निर्देशक यमनारायण देवकोटाले बताए । उनका अनुसार प्रदेश न. ५ मा यो वर्ष ४० प्रतिशत रोपाईँ भइसकेको छ । मनसुन बेलैमा सक्रिय भएकाले रोपाईँ धेरै भएको उनको भनाई छ ।  

यसैगरि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि आफ्नै झण्डै चार विगाहा खेतमा धान रोपाइँ गरेको छ । रोपाइँ महोत्सवमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, अगुवा किसान लगायतको सहभागिता थियो ।  

यता बुटवल उपमहानगरपालिकाले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कुनै औपचारीक कार्यक्रम गरेन । कोरोना महामारीका कारण मानिसहरुको भिडभाड गर्न नहुने भएकाले रोपाई दिवस नगरिएको बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले बताए । कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन बृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने नगरप्रमुख सुवेदीको भनाई छ ।  

प्रतिकृया दिनुहोस्