RaraNews

प्रकाशित : २०७७/३/१५ गते
९२५ पटक

दाङ : रुकुम सोतीलगायत देशका विभिन्न स्थानमा भएका दलित समुदायको हत्यामा राजनीतिक दलहरुले चासो नदिएको दाङका दलित समुदायले आरोप लगाएका छन्। 

रुकुम पश्चिम सोती नरसंहार, धनुषा र रुपन्देहीमा गरिएको हत्या तथा जातीय विभेदविरुद्ध बहस कार्यक्रममा दलित समुदायहरुले यस्तो आरोप लगाएका हुन्।  दलित नागरिक समाज दाङ र संयुक्त दलित युवा अभियानले शनिबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी दलित महिला निर्मला गुप्ताले भनिन्, ‘राजा फाल्न सडकमा, भाषण गर्दा ताली बजाइदिन चौरमा चाहिने दलित समुदायका युवाको नरसंहार हुँदा एउटा विज्ञप्तिसमेत लेख्न नसक्नु दुखको कुरा हो।’

त्यसैगरी नेपाल दलित संघका केन्द्रीय सचिव देवीका नेपालीले राजनीतिक दलका भ्रातृ संगठनले गरेको आन्दोलनले पुग्ने भए माऊ पार्टीको भूमिका के हुने भनी प्रश्न गरिन्। दलित समुदायलाई बाध्य गराई विद्रोहमा धकेल्ने काम कसैले पनि गर्न नहुने उनको धारणा थियो।  दलित अगुवा जोगेन्द्र विश्वकर्माले दलितमाथि यति ठूलो बज्रपात हुँदा पनि राजनीतिक दलले चुइँ पनि बोल्न नसक्दा आश्चर्य लागेको बताए।

उच्च अदालत बार एसोसिएसन तुलसीपुरका अध्यक्ष रवीन्द्र शर्माले निष्पक्ष न्यायका लागि खबरदारी गरिरहनुपर्ने सुझाव दिए। ‘पहिलो संकेत नै राम्रो देखिएन्,’ उनले भने, ‘दोषी भनिएकी केटीकी आमालाई एकलाख धरौटीमा रिहाइ गर्ने आदेश भएको छ।’  यसअघि दलित समूदाय संगठित भएको दलित नागरिक समाज र संयुक्त दलित युवा अभियानले दबाबमूलक विभिन्न कार्यक्रम गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्