RaraNews

प्रकाशित : २०७७/३/१३ गते
१२११ पटक

बुटवल — संघीय सरकारले अघिल्लो सातादेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको छ । तर प्रदेश ५ मा त्यसको प्रभाव देखिँदैन । केही स्थानीय तहले आफू अनुकुल शिक्षणको तयारी गरेका छन् । केहीमा बहससम्म पनि भएको छैन । प्रदेशका करिब ५० स्थानीय तहले अझै नतिजा प्रकाशन गरेका छैनन् । तिनमा पाठ्यपुस्तकसमेत बाँडिएको छैन । 

रुपन्देहीको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले तत्काल नतिजा प्रकाशन र पाठ्यपुस्तक वितरण गर्न हालैमात्र सूचना गरेको बताए । ‘नतिजा नै ननिकाली पढाउने तयारी हुन सक्दैन,’ उनले भने, ‘त्यसपछि मात्रै पढाउनेबारे सोच्ने छौं ।’

केही स्थानीय तहले नतिजा कोरोना भाइरसको सन्त्रास कम नहुँदासम्म पढाइ सुरु गर्ने मनस्थितिमा पनि देखिँदैनन् । कपिलवस्तुको यशोधरा गाउँपालिकाका अध्यक्ष गिज्रेशकुमार पाण्डेले कोरोनाको त्रासले भयभित भएका बेला शिक्षाबारे तयारी गर्न नसकेको बताए । ‘पहिले बाचौं र बचाऔं । त्यसपछि शिक्षादिक्षाका कुरा गरौंला,’ उनले भने, ‘पहुँच कम भएकाले इन्टरनेट, रेडियो–टिभी तीनै कुराबाट पढाउन सकिँदैन ।’

प्रदेश ५ का तराईका जिल्लामा मातृभाषा अन्य हुने विद्यार्थी धेरै छन् । उनीहरुले नेपाली भाषाका पाठ्यपुस्तक पढेपनि सहजै बुझ्न सक्दैनन् । उनीहरुलाई मातृभाषामै बुझाउनुपर्ने हुन्छ । ‘काठमाडौंमा पढाउने भाषा र शैलीमा हाम्रा विद्यार्थीले सुनेर र हेरेर बुझदैनन् । अभिभावकले पनि वास्ता गर्दैनन् ,’ रुपन्देहीको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले भने, ‘नेपाली किताब पनि हाम्रा बालबालिकालाई भोजपुरीमा पढाउनु पर्छ ।’ त्यसका लागि गाउँपालिकाबाटै तयारी गर्नुपर्ने उनले बताए । कोरोना संक्रमणको रोकथाम, नीति कार्यक्रम, बजेटलगायतका कारण पढाइ सुरु गर्न नसकेको उनले जनाए ।

भारतसँग सिमा जोडिएका स्थानीय तहमा इन्टरनेट, टेलिभिजन र स्थानीय भाषामा कार्यक्रम सञ्चालन हुने रेडियोहरु छैनन् । यसले पनि वैकल्पिक पठनपाठनका पाँच विकल्पमध्ये चारवटा विकल्पलाई कार्यान्वयनमा ल्याउन कठिन छ । मर्चवारलगायत तराईका क्षेत्रमा धेरैको घरमा रेडियो र टेलिभिजन छैन । सम्मरीमाई गाउँपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराईले रेडियो, टिभी, अनलाइनजस्ता पढाइले आफ्नो क्षेत्रका बालबालिकालाई नछुने बताए । ‘धेरैको घरमा सञ्चारका साधन छैनन्,’ उनले भने, ‘हुनेकोमा पनि बालबालिकाको पहुँचमा छैन ।’

अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले रेडियो, टिभीको पढाइले बालबालिका र अभिभावक दुवैलाई नछोएको बताए । ‘साना बालबालिकालाई सम्झाएर रेडियो, टिभीको अगाडि राख्नै सकिँदैन,’ उनले भने, ‘टाढाबाट पढाएको भनेपछि उनीहरुले वास्ता पनि गर्दैनन् ।’ स्थानीय तहले आफै पढाइ सुरु गरेमात्रै त्यसको प्रभाव पर्ने उनले बताए । ‘भरसक विद्यालयहरुले नै निजीलेजस्तै विद्यार्थीलाई आआफ्ना शिक्षकमार्फत पढाउनुपर्छ,’ अभिभावक संघका अध्यक्ष ज्ञवालीले भने, ‘नत्र स्थानीय तहले आफ्ना पालिकाभित्रको कोर्स बनाएर पढाउनुपर्छ ।’

नगरपालिका संघका प्रदेश संयोजक तथा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले सबल पालिकामा पनि यो साता तयारीमै बित्ने बताए । ‘विद्यार्थी भर्ना, उनीहरुको पहुँच मापनलगायतका काम बाँकी छन्,’ उनले भने, ‘त्यसपछि मात्रै विकल्प अनुसारको शिक्षण गर्न सकिने छ ।’

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ का साढे ८ सय विद्यालयमा क्वारेन्टाइन सञ्चालनमा छन् । यस्तोमा विद्यालयमा सानो समूह बनाएर पढाउन पनि सम्भव छैन । पालिका अनुसार टोल शिक्षा, भर्चुअल कक्षालगायतको विधि अवलम्बन गर्नुपर्ने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । ‘करिब २० प्रतिशत बालबालिकाको हातमा अझै किताब गएको छैन । ‘सबैभन्दा पहिले सबै बालबालिकाको हातमा किताब पुर्‍याउनुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्रै स्थानीय तह र विद्यालयले भूगोल र अवस्था हेरेर कसरी विद्यार्थीलाई पढाउने भन्ने तयारी गर्नुपर्छ ।’ प्रदेशका केही राम्रो नतिजा ल्याउने विद्यालय आफैले टोल शिक्षण र इन्टरनेट शिक्षण सुरु गरेका छन् । तर, त्यसमा पालिकासँगको समन्वय छैन । ‘सबै बालबालिकाको पहुँच न त मोबाइलमा छ न त टिभी र रेडियोमा छ । हुनेको पनि अभिभावकले दिँदैनन्,’ शिक्षा विज्ञ आनन्दमान शाक्यले भने, ‘यस्तोमा स्थानीय तहले सानो समूहमा पढाउने विकल्प दिनु उचित हुन्छ ।

प्रतिकृया दिनुहोस्