RaraNews

प्रकाशित : २०७७/३/५ गते
१०४० पटक

६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८, सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा चलाइएका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि बिहीबार पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो ।

पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ, तेस्रो दिन बुधबार १० र चौथो दिन बिहीबार आठ प्रतिवादीको बयान भएको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । प्रतिवादीहरूले आफ्नो बयान राखिसकेको र शुक्रबारदेखि अदालतमा छुनछेक बहस हुने स्रेस्तेदार बोहराको भनाइ छ । जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ युवाको ज्यान जाने गरी गत १० जेठमा भएको घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका २९ जना र फरार रहेका पाँचजनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । 

सोती गाउँका ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसुरमा मुद्दा दर्ता भएको छ भने जाजरकोटका एकजनाविरुद्ध मतियार कसुरमा मुद्दा लागेको छ । घटनामा संलग्न भएको आरोपमा मुद्दा लागेका दुई नाबालकलाई भने अदालतले पुर्पक्षका लागि बालगृहमा पठाउन आदेश दिएको थियो । आदेशअनुसार प्रहरीले उनीहरूलाई नेपालगन्ज र भक्तपुरको बाल सुधारगृहमा पठाएको छ । 

यसैबीच फरार प्रतिवादीहरूको हकमा भने अब अदालतले भनेअनुसार हुने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । अदालतले पक्राउको चिठी पठाएपछि फरार प्रतिवादीलाई पक्राउ गरिने उनको भनाइ छ । 

प्रतिकृया दिनुहोस्