RaraNews

प्रकाशित : २०७७/३/५ गते
१५१५ पटक

इलाम : प्रदेश १ को दलित अधिकारकर्मी को टोली पश्चिम रुकुमको चौरजहारी पुगेको छ। चौरजहारी नगरपालिका ८ सोतीमा नवराज विकसहित ६ जना युवाको योजनाबद्ध हत्या घटनामा पीडितहरुकाे पक्षमा ऐक्यबद्धता जनाउन टोली त्यसतर्फ गएको हो। 

प्रदेशका १४ वटै जिल्लामा एक चरणको विरोध र खबरदारीको आन्दोलन सकेर दलित अधिकारकर्मी टोली रुकुम पुगेको हो। टोलीम नवराज शंकर (इलाम), हुकुमसिंह नेपाली (झापा), उमेश विश्वकर्मा (मोरङ) र हरि पोखरेल दर्जी (झापा) रहेका छन्। 

घटनालाई ढाकछोप र तोडमोड गर्न अझैसम्म पनि हदैसम्मको षडयन्त्र भइरहेको टोलीका सदस्य नवराज शंकरले बताए। ‘एकातिर आन्दोलन थप सशक्त बनाउने कुरा छँदैछ, तर मुद्दाको प्रक्रियालाई मसिनो गरी ध्यान दिनुपर्ने देखिन्छ,’ उनले भने, ‘दबाब र प्रभावमा परेर पछिल्लो पटक पोस्टमार्टम रिपोर्ट र सरकारी वकिलको भूमिका पीडितको पक्षमा देखिँदैन।’

युवाको लासमाथि भइरहेको षडयन्त्रको राजनीति ६० लाख दलितमाथिको भएको उनले बताए।  छुवाछुतको कलंक उत्पीडित दलित समुदायको मात्रै समस्या नभएको टोलीका अर्का सदस्य हुकुम सिंह नेपालीले बताए। सबै नेपाली एकजुट भएर न्यायको पक्षमा खबरदारी गर्नुपर्ने उनको भनाइ थियो। 

गैरसरकारी संस्था (गैसस) महासंघका केन्द्रीय सचिव समेत रहेका टोलीका सदस्य उमेश विश्वकर्माले रुकुम हत्याकाण्ड विश्वलाई नै चकित बनाउनेगरी नरसंहार भएको बताए।  टोली घटनास्थल पुग्नुका साथै मृतकका परिवार, घाइतेहरू, जनप्रतिनिधि, स्थानीयलगायत सरोकारवालाहरुसँग भेटघाट गरेर कुराकानी गरेको थियो। 

जाजरकोटमा पीडितहरुकाे न्यायको पक्षमा र दोषीहरूलाई हदैसम्मको कारबाहीको लागि गरिएको आन्दोलनमा सहभागिता र ऐक्यबद्धता जनाएको थियो।  आफूहरु गएकै समय संसदीय छानबिन समितिसमेत घटनास्थलमा पुगेकोले संसदीय टोलीसँग समेत सत्यतथ्य छानबिनको लागि टोलीको तर्फबाट भेटघाट र कुराकानी भएको हुकुमसिंह नेपालीले बताए। 

Source – Thahakhabar

प्रतिकृया दिनुहोस्