RaraNews

प्रकाशित : २०७७/३/५ गते
१२९२ पटक

सुबास दर्नाल,सोलुखुम्बुमा एक दलित बालक कुटपिटका कारण सख्त घाईते भएका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ९ सिसाखोलामा एकजना दलित बालकले ढोका छोएको निुहँमा निर्घात कुटपिट भएपछि उनी सख्त घाईते भएका हुन् । 

जेठ ३१ गते स्थानिय तारा थापमगरको घरमा पुगेका १६ बर्षिय बालक दिपक विश्वकर्माले मगरको घरको ढोका छोएको भन्दै निज तारा थापामगर र २७ बर्षिय श्याम थापामगरले कुटपिट गरेको पिडितको भनाई छ ।

पिडित विश्वकर्माका अनुसार निर्माण हुँदै गरेको तारा थापामगरको घरको ढोकामा बसेकै भरमा मगरद्वयले फलामको हतौडीले ढाड, टाउको लगायतका स्थानमा कुटपिट गरेका हुन् । उनीहरुले “कामी भएर नयाँ घरको ढोका छुन्छस्, अब सबै असुभ हुने भयो । ” भन्दै कुटपिट गरेको पिडित विश्वकर्माको दाबी छ । कुटपिटबाट दिपकको ढाड, टाउको तथा शरिरका विभिन्न भागमा चोट लागेको छ ।

तल्लो जातको मान्छे भएर ढोका छोएको भन्दै जातिय छुवाछुत विरुद्धका अपमानजनक शब्द प्रयोग गर्दै बालकमाथी मुक्का र फलामको रडले प्रहार गरेको प्रत्यक्षदर्शी दिपेन्द्र रानामगरले बताउँनुभयो । कथित तल्लो जात भएकै कारण बालकमाथी निर्घात कुटपिट भएपनि आफुले त्यस्तो नगर्न आग्रह गरेको प्रत्यक्षदर्शी मगरको भनाई छ।

उनको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भईरहेको पिडित बालकका बाबु नीर बहादुर विश्वकर्माले बताउनुभयो । तर घटनालाई लुकाउन पत्ताले प्रहरी चौकी र पिडक पक्षको निरन्तर दबाबमा असार १ गते गाउमै मिलापत्र गराएको पिडित पक्षको दाबी छ ।

आफ्ना नाबालक छोरालाई जातकै आधारमा मरणासन्न हुने गरी कुटपिट गरेपनि आफुले न्याय पाउन नसकेको पिडितको भनाई छ । पिडक मगरले स्थानिय अगुवाहरुको समेत सहयोगमा आफुहरुलाई कानुनले केहि गर्न नसक्ने भन्दै जबरजस्ती मिलापत्र गराएको पिडितका बुवा निरबहादुर विश्वकर्माले गुनासो गर्नुभयो । जिल्ला प्रहरी कार्यालयले समेत जाहेरी लिन ईनकार गरेर वडा कार्यालयमै मिलापत्र गर्न दबाब दिएको पिडितको भनाई छ ।

घाईतलाई अस्पताल लैजाँदाको गाडी भाडा  १० हजार र अस्पतालमा खर्च भएको १० हजार ३ सय गरि २० हजार ३ सय रुपैया खर्च पिडकले उपलब्ध गराएर जबरजस्ती मिलापत्र गराएको श्रोतको दाबी छ । वडा अध्यक्ष काजी शेर्पाले जातिय छुवाछुतका कारण भएको घटनालाई कानुनी उपचार खोज्नुपर्ने सुझाव दिएपनि आफुलाई जानकारी नै नगराई मिलापत्र गराएको बताउनुभयो । 

तर यता पिडक तारा थापामगरले भने आफुले जातिय छुवाछुत नगरेको दाबी गरेका छन् । उनलेआफुले बालकलाई कुटपिट गरेको स्विकार गर्दै जातिय कारण कुटपिट नगरेको दाबि गर्दै आएका छन् । 

गत बैशाख २७ गते बाटो हिड्ने क्रममा सोलुखुम्बु तिङ्लाका मिनबहादुर नेपालीलाई तल्लो जातको मानिस अगाडी हिडेको भन्दै गाली बेइज्जती गरेको कसुरमा प्रहरीले स्थानिय ३१ बर्षिया संगिता राईलाई पक्राउ गरेको थियो । जातीय विभेदअन्तर्गत जिल्ला अदालतमा मुद्दा पनि दायर भयो । तर, केही दिनमै पीडक राईलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई ३ महिना देखि ३ वर्षसम्म कैद वा १ हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने ब्यवस्था छ ।

प्रतिकृया दिनुहोस्