RaraNews

प्रकाशित : २०७७/३/३ गते
१२१० पटक

प्रहरी हिरासतमा मृत्यु भएका धनुषा सबैलाका शम्भु सदाको परिवारलाई ५ लाख रुपैयाँ दिने प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएपछि प्रहरी हिरासतमा पुगेका सबैलाका शम्भु सदाको १५ दिनपछि हिरासतमै मृत्यु भएको थियो । प्रहरीले उनको मृत्युको कारण आत्महत्या दाबी गरे पनि उनको परिवारले भने हत्या गरिएको आशंका गरेको छ । घटनाको छानबिन गर्न धनुषा प्रशासन तयार भएपछि सदाको बुधबार दाहसंस्कार गरिएको छ ।

यस्तै, भारतको गुजरात राज्यको सुरतबाट फर्किने क्रममा धनुषाको जटही नाकामा मृत्यु भएका गोठकोयलपुरका वीरेन्द्र यादवको परिवारलाई प्रदेश सरकारले राहतबापत ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

लकडाउन भएपछि रोजगारी गुमाएर घर फर्किने क्रममा गोठकोयलपुरका यादवको जटही नाकामा मृत्यु भएको थियो । बिरामी परेका उनलाई उपचारका लागि समयमै अस्पताल पुर्‍याउन नसक्दा नाकामै मृत्यु भएको थियो । विपन्न परिवारका यादवको श्रीमती, काखे १ छोरा र छोरी छन् ।

भारतको सुरतबाट फर्किने क्रममा बाटोमै बिरामी परेको खबर आएपछि ऋण काढेर ३० हजार रुपैयाँसहित उनका काका एम्बुलेन्स खोज्न जनकपुर पुगेका थिए । भारतबाट फर्किएको थाहा पाएपछि कुनै एम्बुलेन्स यादवलाई बोक्न नमानेपछि उनको नाकामा छटपटिएर मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्