RaraNews

प्रकाशित : २०७७/३/३ गते
२०२५ पटक

धनुषा — काखमा ६ महिनाकी छोरी च्यापेर उनी बेलाबेला भक्कानो छाडेर रुन्छिन् । शरीर कमजोर भएर छोरीलाई दूध चुसाउनसमेत सक्दिनन् । घरमा कोही आएको देखे झन् भक्कानिन्छिन् । प्रहरी हिरासतमा श्रीमान् शम्भु सदाको मृत्यु भएपछि धनुषाको सवैला–१२ रघुनाथपुरस्थित मुसहरी टोलकी मनिताको दिन अचेल रोएरै बित्छ । दुब्लो शरीरकी १८ वर्षीया उनी झन् कमजोर भएपछि स्लाइन पानी जोडिएको छ ।

शम्भु सदा

एक वर्षअघि मनिता र शम्भुले भागी बिहे गरेका थिए । पढ्दैदेखिका साथी उनीहरूको बिहे भएको ६ महिनामा छोरी जन्मिएकी थिइन् । बुहारी घरमा मूर्च्छित भइरहँदा शम्भुकी आमा सियालीदेवी जनकपुरमा छोराको न्यायका लागि लडाइँमा छिन् । जनकपुर, पेठियाबजारस्थित मुसहर समुदायको धर्मशालामा भेटिएकी सियालीदेवीले ‘पुलिसले मागेको पैसा दिन नसक्दा’ आफ्नो छोराको हत्या भएको आरोप लगाइन् । ‘हिरासतमा भेट्न जाँदा शम्भुले रुँदै आफूलाई प्रहरीले डराएको, धम्काएको र पैसा मागेको कुरा सुनाएको थियो,’ उनले भनिन्, ‘एक जना प्रहरीले पनि मलाई पैसा तिमीले दिने कि साहूजीले दिने भनेर सोधका थिए ।’ उनी जनकपुरमा अधिकारकर्मी, नेता र प्रहरीकहाँ चहार्दै छिन् । रोजगारीका लागि भारतको मद्रास गएका शम्भुका बुवा श्याम लकडाउनले आउन सकेका छैनन् । छोराको मृत्युको खबरले उनले पनि उता खानपिन छाडेको स्थानीयले बताए ।

जेठ १२ गते साँझ २३ वर्षीय शम्भुले चलाएको ट्रयाक्टरले ठक्कर दिँदा धनुषाधामकी ४२ वर्षीया सुमिन्द्रीदेवी साहको मृत्यु भएको थियो । अर्का एक जना सामान्य घाइते भएका थिए । त्यही घटनामा शम्भु प्रहरी हिरासतमा थिए । जेठ २८ गते उनी हिरासतकै शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । हिरासतमा प्रहरीले यातना दिएर हत्या गरेको परिवारले आरोप लगाएका छन् । प्रहरीले भने हिरासतमै आत्महत्या गरेको दाबी गरेको छ । हिरासतमा बसेको १५औं दिनमा शम्भुले शौचालयमा गएर आत्महत्या गरेको धनुषा प्रहरीका प्रमुख एसपी रमेश बस्नेतले बताए । ‘शौचालयमा गएर उनले गञ्जी र अन्य लुगाको पासो बनाएर झुन्डिएको देखिन्छ,’ उनले भने ।

जेठ २७ मा इप्रका सवैलामा घाइतेलाई उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको थियो । दुई पक्षबीच सहमति भएपछि प्रहरीले माग गरेको अतिरिक्त पैसा नपाउने भएपछि यातना दिँदा मृत्यु भएको शम्भु सदाकी आमा सियालीदेवीको आरोप छ । थुनामा रहेका बेला शम्भुले आफूलाई फोन गरी प्रहरीलाई पैसा दिन भनेको र तर ट्रयाक्टरधनी सञ्जय साहले प्रहरीलाई अतिरिक्त पैसा दिनु पर्दैन भनेको उनले बताइन् ।

हिरासतमा सदाको मृत्युपछि दलित अधिकारकर्मी र स्थानीयले छानबिन माग गर्दै विरोध प्रदर्शन गरेका थिए । दलित अगुवा चन्देश्वर दास घटनाको प्रकृतिअनुसार मृत्यु शंकास्पद रहेको बताउँछन् । घटनाको प्रकृति, मृत्युपछिको मुचुल्का र पोस्टमार्टमसम्म पीडित परिवारसँग प्रहरीले गरेको व्यवहारले घटना रहस्यमय रहेको उनले बताए । दलित अधिकारकर्मी र नागरिक समाजले सदाको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा प्रहरीले सदालाई बारम्बार शारीरिक र मानसिक यातना दिएको उल्लेख छ ।

सदाको मंगलबार पोस्टमार्टम गरिएको छ । पोस्टमार्टममा मुसहर समुदायकै चिकित्सक राख्न स्थानीयले माग गरेपछि प्रादेशिक अस्पतालका चिकित्सकले पोस्टमार्टम गर्न अस्वीकार गरेका थिए । जेठ २९ मा स्थानीय प्रशासनले घटनाको छानबिनका लागि प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो । अधिकारकर्मीको दबाबपछि मंगलबार धनुषा प्रशासनमा बसेको बैठकले छानबिन समितिमा एक जना मानवअधिकारकर्मी र एक कानुन व्यवसायीलाई पनि राख्ने सहमति भएको छ ।

Source – Kantipur Daily/सन्तोष सिंह

प्रतिकृया दिनुहोस्