RaraNews

प्रकाशित : २०७७/३/२ गते
१३९५ पटक

दलित समुदायलाई लक्षित गरेर सामाजिक संजाल (फेसबुक) मार्फत अशब्द प्रयोग गर्ने एक जना विरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको छ ।

फेसवुक स्टाटस लेखेर सिंगो दलित समुदायको मानमर्दन हुने गरि अश्लिल शब्द प्रयोग गर्ने बुढीगंगा नगरपालिका-१० भण्डार गाउँ बाह्रवीसका सत्यराज जोशी विरुद्ध मुद्धा दर्ता गरिएको हो ।

बाजुराका दलित अगुवा र दलित समुदायका पत्रकारहरुले जोशी विरुद्ध जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम हदैसम्मको कारवाहीको माग गर्दै मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

सत्यराज जोशी नामको फेसबुक आईडी भएका जोशीले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा रुकुम घटनाले बाहुनलाई हतभन्दा माथि गालीपायो । तर लम्की घटनाले किन दलितलाई गाली हुँदैन् ? त्यो नारा बाजुराका डुमले पनि लगाए कुन दुलामा छौ ? डुम पत्रकार निसाब गर । होईन भने डुमलाई डुम भनिन्छ । दुईमत छैन् । भन्दै लेखेका थिए ।

बाजुराका दलित समुदायका पत्रकारलाई इंगित गरी सिंगो दलित समुदायको सार्वजनिक रुपमा मानमर्दन हुने अभिव्यक्ति दिनु आपत्तीजनक भएकाले राष्ट्रिय दलित पत्रकार संघ बाजुराको अगुवाई र दलित अगुवाहरुको नेतृत्वमा जोशी विरुद्ध मुद्धा दर्ता गरिएको दलित पत्रकार संघ बाजुरा अध्यक्ष मदन विकले बताए ।

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसु गर्ने व्यक्तिलाई ३ महिना देखि ३ वर्षसम्म कैद वा १ हजारदेखि २५ हजार सम्म रुपैयाँ जरिमाना वा दुवै सजाय हुने उल्लेख छ । सो ऐन जारी भएको १० वर्ष पुग्नै लाग्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु सरकारको कमजोरी रहेको दलित अगुवाहरुले बताए । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय विभेद् र छुवाछुत मुक्त देश घोषणा गरिसकेको छ ।

नेपालको संविधान २०७२ ले सवै खालका विभेद्हरुको अन्त्य र सामाजिक न्यायको हक सुनिश्चितता गरेता पनि जातीय विभेद् विरुद्ध खुलेरै कानूनी निकायमा जान नसक्दा ग्रामीण क्षेत्रका दलितहरु विभेदको शिकार हुनु परेको नेपाल पत्रकार महासंघ बाजुरा शाखाका सचिव प्रेम विकले बताए ।

अन्तरजातीय विवाह, घरभाडा,सार्वजनिक स्थलमा प्रवेश,धार्मिक तथा सांस्कृतिक कार्यमा दलितहरुको उपस्थिति अस्वीकार गर्ने विभेदित परम्परा अझैं कायम रहनु लज्जाको बिषय भएको दलित अधिकारकर्मी गोरख सार्कीले बताए ।

प्रचलित नीतिनियम तथा कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएका कारण दलित समुदाय प्रताडित भईरहेको प्रेस संगठन नेपाल बाजुराका संयोजक बसन्त विश्वकर्माले बताए ।

त्यस्तै दलित अगुवा मानबहादुर विकले जिल्लामा दलित माथि हुने सवै प्रकारका जातीय विभेद् तथा छुवाछुतका घटनाका बिरुद्ध सबै दलितहरु एकढिक्का भएर लाग्नु पर्ने बताए । उनले भने यस्ता मुद्धा दलित समुदायका मात्रै हुन भनेर दलितले मात्रै लाग्नु पर्ने केही छैन् सवैको साझा विषय भएकोले राजनीति पुर्वाग्रह नराखि अन्य समुदायले पनि यस्ता घटना घट्न नदिन आवश्यक रहेको छ ।

बाजुरा प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्टराईले जोशीको खोजतलास तथा अनुसन्धान गरी प्रचलित देहाय बमोजिम कानुनी कारवाही गरिने बताए ।

जोशी विरुद्ध मुद्धा दर्ता गर्न राष्ट्रिय दलित पत्रकार संघ बाजुराका अध्यक्ष मदन विक, दलित अधिकारकर्मीहरु गोरख सार्की, मानबहादुर वि.क. प्रेस संगठन नेपाल बाजुरा संयोजक बसन्त विश्वकर्मा,नेपाल पत्रकार महासंघ बाजुरा सचिव प्रेम वि.क. राष्ट्रिय युवा संघ बाजुराका संयोजक सन्तोष विक,सदस्य शंकर चंदारा, अनेरास्ववीयुका राजेश पायल वि.क.,प्रेम नेपाली,रेडियो बाजुराका समाचार प्रमुख रमित विक, रेडियो नेपाल बाजुरा सम्वाददाता राजेन्द्र विक, नजिक न्युजका अनलाईन सम्पादक प्रमित विक, राष्ट्रिय दलित पत्रकार संघ बाजुराका सचिव रामबहादुर विक, कोषाध्यक्ष सरिता नेपाली, सदस्य सोधा नेपाली, कमला विक लगायत गएका थिए ।

Source – katwal.com

प्रतिकृया दिनुहोस्