RaraNews

प्रकाशित : २०७७/३/२ गते
१०१२ पटक

जिल्ला अदालत रूकुम पश्चिमले चौरजहारीमा भएको हत्याकाण्डमा मुछिएका दुई नाबालकलाई बाल सुधार गृहमा पठाउने आदेश गरेको छ।

जेठ १० गते चौरजहारीमा प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मुद्दा दायर भएको थियो।

न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मुछिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश भएको स्रेस्तेदार क्रित बाेहाेराले जानकारी दिए।

दुवैको थुनछेक बयान र बहस आज भएको थियो।

भोलिदेखि अरू अभियुक्तको बयान सुरू हुने जिल्ला अदालतले जनाएको छ। आइतबार नवराजकी प्रेमिकाका बावु, दाजु र वडाअध्यक्षलगाय ४२ जनालाई सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

क्रुरतापूर्वक ६ जनाको हत्या गरेको, १२ जनालाई घाइते बनाएको र जातीय विभेद गरेको आराेप उनीहरुमाथि छ।

नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ।

क्रुरतापूर्वक हत्या गरेकोमा कानुन अनुसार बाँचुन्जेल कैद सजाय माग गरिएको छ। मतियारलाई भने मूल मुद्दामा हुने सजायको आधा सजाय हुन्छ। ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन्।

प्रतिकृया दिनुहोस्