RaraNews

प्रकाशित : २०७७/३/१ गते
१६९४ पटक

काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ ।

वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरुलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पाइएको छ । घटनाको छानविन गर्न गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकार भनिएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार १० जेठमा नवराज १९ जनाको समूह लिएर युवतीको घर भएको ठाउँ चौरजहारी पुगेका थिए । युवतीका बुबाले यसबारे मल्ललाई भनेपछि अपराधिक कार्यमा संलग्न भएको भेटिएको गृहले बताएको छ ।

उनले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु छिरे भन्दै नियन्त्रणमा लिने योजना बनाएको पाइएको छ । त्यसपछि ९८४८९६९७३३ नम्बरको मोबाइलबाट उनले मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको पाइएको छ ।

उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरे । विवाद हुन लागेको भन्दै सूचना पनि दिए तर, स्थान भने उल्टो बनाइदिए । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘वडाध्यक्षले फोनमा ढुंगेखानीमा घटना भएको भनेर टिपाएका थिए, त्यसैले प्रहरी त्यता गयो । उनले औल जिउलामा युवाहरुलाई छेक्ने योजना बनाएका रहेछन् ।’

वडाध्यक्षले गलत सूचना दिएका कारण प्रहरी समयमा घटनास्थलमा पुग्न नपसेको पाइएको छ ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘गाउँलेलाई भेला गरेर धेरै टाढा पुगिसकेका पीडितलाई पिछा गरेर ढुंगा, मुढा प्रहार गरी नवराज विक, टीकाराम सुनार, गणेश बुढासहित ६ जनालाई हत्या गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ ।’

वडाध्यक्ष मल्लसहित ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत, रुकुममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐन अनुसार कारबाहीका लागि मुद्दा दर्ता भएको छ ।

मल्लको दाबी – मैले कसैलाई कुटेको छैन

हाल प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष मल्लले भने आफूले नै गलत सूचना पाएको प्रहरी समक्ष दाबी गरेका छन् । उनले घटना भएको दिन आफू क्वारेन्टिनको अवलोकनमा रहेको बताउँदै भनेका छन्, ‘नगरपालिकाका स्वंमसेवकहरु पनि क्वारेन्टिन अवलोकन गर्न आएकाले उनीहरुलाई पनि केटाहरु आएको जानकारी गराइ नियन्त्रणमा लिनुपर्छ भनी म गाउँतिर गएको हो ।’

आफू गाउँमा पुग्दा केटाहरुलाई नदेखेको बताएका छन् । तर खोज्दै जाँदा घटनास्थल भएको स्थानमा एक जना कार्की थरका केटालाई प्रेमबहादुर मल्ल र डिल्ली मल्लले नियन्त्रणमा लिएको देखेको बताएका छन् । ‘अन्य प्रतिवादीहरु पछाडिबाट दौडिँदै आउँदै थिए, अन्य केटाहरु म भन्दा अगाडि नदी बगरतिर गइसकेका रहेछन्’, उनको दाबी छ, ‘मैले कसैलाई कुटपिट गरेको होइन ।’

रुकुम घटनाबारे गृह मन्त्रालयले प्रेस विज्ञप्ति

Source – Onlinekhabar

प्रतिकृया दिनुहोस्